सातदोबाटोमाथि फ्रेण्ड्सको सानदार जित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लबले सानदार जित हात पारेको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेण्ड्सले सातदोबाटो युथ क्लबलाई चार-शून्य गोल अन्तरले हराएको हो । फ्रेण्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गर्नुभयो ।

यस्तै, राफिक अमिनु र प्रकाश बुढाथोकीले एक-एक गोल गर्नुभयो । खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई सुरुवाती अग्रता दिलाउनुभयो । खेलको ५५ औँ मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई दुई-शून्यको अग्रता दिलाउनुभयो ।

खेलको ८७ औँ मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेण्ड्सलाई तीन-शून्यको अग्रता दिलाउनुभयो । त्यसपछि खेलको ९०औँ मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्ड्सलाई चार-शून्यको जित दिलाउनुभयो ।

फ्रेण्ड्सको यो छैटौँ जित हो । फ्रेण्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । फ्रेण्ड्स १२औँ स्थानमा रहेको छ । सातदोबाटोले २१ खेलमा २९ अंक जोडेको छ । सातदोबाटो चौथो स्थानमा रहेको छ ।

यस्तै, अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले बराबरी खेल्दै अंक बाँडे । च्यासल मैदानमा बिहीबार भएको खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेलेका हुन् ।

यस बराबरीसँगै चर्च ब्वाइजले २१ खेलमा ३८ अंक जोडेको छ । चर्च ब्वाइज शीर्षस्थानमा यथावत् रहेको छ । मनाङले २१ खेलमा २५ अंक जोडेको छ । मनाङ ११औँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?