नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप प्रमाण जुटाउँदै

थुनछेक सकिन कम्तीमा दुई साता लाग्ने

यज्ञराज पाण्डे
Read Time = 10 mins

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी र राज्यद्रोहको कार्यमा संलग्न रहेकाहरूको बयान र थुनछेकमै कम्तीमा दुई साता लाग्ने भएको छ । चारवटा छुट्टाछुट्टै मुद्दा र ३० जना प्रतिवादी भएका कारण थुनछेक प्रयोजनकै लागि कम्तीमा दुई साता लाग्ने भएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस सकिनै करिब दुई साता लाग्ने बताइएको हो । थुनछेकका क्रममा पाँचदेखि सातजना सरकारी वकिल र प्रतिवादीका तर्फबाट करिब ५० जना अधिवक्ताहरूले बहस गर्ने अनुमान गरिएको छ । यो सबै प्रक्रिया पूरा हुन करिब दुई साता लाग्ने सहन्यायाधिवक्ता न्यौपानेले बताउनुभयो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुखसमेत रहनुभएका सहन्यायाधिवक्ता न्यौपानेका अनुसार शुक्रबार गोला प्रणालीबाट थुनछेक प्रयोजनका लागि पेसी तोकिनेछ । त्यसपछि पेसी तोकिएका न्यायाधीशकै सामुन्ने प्रतिवादीहरूको बयान लिइनेछ । न्यायाधीशका सामुन्ने अदालतका कर्मचारीले बयान लिई उक्त बयानलाई प्रमाणित गर्नुपर्ने र पक्राउ परेका प्रत्येक अभियुक्तको छुट्टाछुट्टै बयान लिइनेछ ।

अदालतले आवश्यक देखेमा एकैपटक दुईजना प्रतिवादीको बयान पनि लिन सक्नेछ । तर, हाइप्रोफाइल व्यक्तिहरूसमेत जोडिएको कारण सम्भवतः एकपटकमा एकजनाको मात्रै बयान लिइनेछ । यसरी हेर्दा शुक्रबार एकजनाको मात्रै बयान लिनसक्ने सम्भावना रहन्छ । शुक्रबार तीन बजेसम्म मात्रै कार्यालय समय रहेको कारण शुक्रबार एकजनाको बयान मात्रै लिन भ्याइने सम्भावना रहन्छ । दुईजना कर्मचारी वा इजलास अधिकृतले बयान लिएमा एकैदिन दुई जनाको बयान लिन सकिनेछ ।

आइतबारबाट खाजा समय अगाडि एकजना र खाजा समय पछाडि एकजना प्रतिवादीको बयान लिन सकियो भने आगामी सातासम्म पक्राउ परेका १६ जना प्रतिवादीको बयान लिन सकिने सम्भावना छ । जेठ १९ गतेसम्म पक्राउ परेका १६ जना प्रतिवादीकै बयान लिन सकियो भने जेठ २१ गतेबाट थुनछेक बहस सुरु हुनेछ ।

थुनछेक बहसमा सरकारी र प्रतिवादीका वकिल आमने सामने
सरकारवादी मुद्दा र चारवटा फरक-फरक कसुर लगाइएको तथा ३० जना प्रतिवादी रहेको कारण यो मुद्दामा सरकारी वकिलको तर्फबाट प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै बहस गर्नेछन् । सरकारी वकिलले बढीमा तीन दिनमा प्रतिवादीहरूलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने आधार र कारण तथा प्रमाणहरू पेस गर्नेछन् ।

सरकारी वकिलले बहस सकेपछि प्रतिवादीका तर्फबाट उपस्थित भएका अधिवक्ताहरूले बहस गर्नेछन् । प्रतिवादीलाई थुनामुक्त गरी साधारण तारेख वा धरौटीमा राखी मुद्दाको पुर्पक्ष गर्न माग राख्दै प्रतिवादीका अधिवक्ताहरूको बहस हुनेछ । प्रतिवादीका अधिवक्ताहरूले गरेको बहसपछि जवाफी बहस गर्न आवश्यक देखिएमा सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ ।

दुवै पक्षको बहस सकिएपछि इजलासले प्रतिवादीका सम्बन्धमा अदालतमा पेस गरिएका प्रमाण, उनीहरूको बयान र तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको अवस्थामा उनीहरूलाई थुनामा पठाउन सक्नेछन् । अपराधको मात्रा कम देखिएको वा तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्ने लागेमा इजलासले केही प्रतिवादीलाई साधारण तारेखमा पनि राख्न सक्नेछ भने भागेर अन्यत्र जान सक्ने कतै सम्भावना नदेखेको अवस्थामा धरौटी लिएर पनि तारेखमा बस्ने आदेश दिन सक्नेछ ।

सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा प्रतिवादीहरूको पासपोर्ट रोक्कासम्मको जिकिर लिएको कारण अदालतले धरौटी वा साधारण तारेखमा छोड्न आदेश दिएमा ती प्रतिवादीको हकमा पासपोर्ट रोक्का पनि राख्ने आदेश दिन सक्नेछ ।

बयानमा पत्रकारलाई प्रवेश निषेध
शुक्रबारबाट सुरु हुने प्रतिवादीहरूको बयानका क्रममा पत्रकार वा अन्य सरोकारवालालाई प्रवेश दिइने छैन । जिल्ला अदालतको इजलास सानो हुने, प्रतिवादीको संख्या धेरै हुने र भिडभाड हुने कारणले बयान सकिएपछि हुने थुनछेक बहसमा पनि पत्रकारलाई प्रवेश रोक्ने सम्भावना रहन्छ । सुरक्षा वा अन्य कारणबाट इजलासले उक्त मुद्दा बन्द इजलासमा गर्न आवश्यक देखेको अवस्थामा पूरै मुद्दालाई बन्द इजलासबाट सुनुवाइ गर्ने आदेशसमेत दिन सक्नेछ । तर, सामान्यतः बलात्कार, महिलाको विषय, पारिवारिक मामिला वा व्यक्तिको गोपनीयता भंग हुने वा गोपनीयतासँग सम्बन्धित विषय, सीमा विवाद लगायतका केही मुद्दाबाहेक यस्ता मुद्दा बन्द इजलासमा सुनुवाइ गर्ने गरिएको छैन । बन्द इजलासमा सुनुवाइ नहुने मुद्दाको हकमा पत्रकार वा सरोकारवालाले इजलासको अनुमतिबाट प्रवेश पाउन सक्नेछन् ।

बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन, प्रहरीले प्रमाण खोज्दै छ : गृहमन्त्री
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका थप व्यक्तिहरूको खोजीमा प्रहरी लागिरहेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभएको छ । उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा बयानका क्रममा नाम आएकाहरूमाथि थप अनुसन्धान भइरहेको बताउनुभएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानविनको माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै गृहमन्त्री श्रेष्ठले उक्त प्रकरणमा संलग्नहरूका विषयमा अनुसन्धान भइरहेको बताउनुभएको हो ।

कोही व्यक्तिले दिएको बयानकै आधारमा कसैलाई पक्राउ गर्न नमिल्ने भन्दै उहाँले थप अनुसन्धान भइरहेको बताउनुभएको हो । ‘हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ । कमिसनले पनि देशलाई जर्जर बनाएको छ । यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन । अहिले हाम्रो मिसन, सुशासन, अर्थात् भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ । तब मात्रै समृद्धि हासिल हुनेछ,’ उहाँले भन्नुभयो, ‘आफ्नै देशको नागरिकलाई अनागरिक बनाई, अर्काको देशको शरणार्थी बनाई विदेश पठाई सम्पत्ति कमाउने काम सह्य हुँदैन । यस्तो प्रकारको काम भयो भन्नेकुरा अनुसन्धानमा देखिएकाले अनुसन्धान प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ । अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ । अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ । मैले नेपाल प्रहरीलाई निष्पक्ष रूपमा काम गर्न भनिसकेको छु । राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रूपमा छानविन गर्न भनेको छु । एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन कि भनेर अरू प्रमाणहरू पनि खोज्ने प्रयासमा प्रहरी छ ।’ एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न नमिल्ने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?