भारतले ‘सिग्नल नदिँदा’ सरेको सर्‍यै प्रधानमन्त्रीको भारत भ्रमण, बजेटलगत्तै जाने तयारी

डिबी शर्मा
डिबी शर्मा
Read Time = 12 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व सम्हालेको पाँच महिना पूरा भएको छ । गत वर्षको पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका उहाँ पाँच महिनासम्म विदेश भ्रमणमा जानुभएको छैन । उहाँ कुनै देशले निम्ता नदिएर विदेश नजानुभएको भने होइन । प्रधानमन्त्री बनेलगत्तै उहाँलाई चीन जाने अवसर थियो । चीनमा भएको ‘बोआओ फोरम फर एसिया’ उहाँ अवसर पाएर पनि जानुभएन । उक्त कार्यक्रम चैत १४ देखि १७ सम्म चीनको हेनान प्रान्तमा भएको थियो । नेपालमा राजनीतिक अस्तव्यस्तता र असहजताका कारण चीनले नै भ्रमणमा नआउन भनेको उहाँको दाबी छ ।

चीन जाने अवसर पाउँदा पनि नजानुभएका उहाँ भारत भ्रमण गर्न भने सुरुवातदेखि नै हतार गरिरहनु भएको छ । प्रधानमन्त्री भएलगत्तै प्रचण्डले पुस १२ मा एक भारतीय टेलिभिजनलाई अन्तर्वार्ता दिँदै आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताउनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले गत पुस अन्तिममा सम्पादकहरूसँगको छलफलमा समेत छिट्टै भारत भ्रमण गर्ने बताउनुभएको थियो । आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताउँदै त्यसको तयारी भइरहेको उहाँको भनाइ थियो । त्यसअघि र पछि पनि उहाँले सार्वजनिक भाषणमा समेत उहाँले पहिलो विदेश भ्रमण भारतबाटै हुने र चाँडै हुने बताउँदै आउनुभएको छ । तर, पाँच महिनासम्म उहाँले भनेको चाँडै भारत जाने समय आएन । जति नै चासो र इच्छा देखाए पनि प्रधानमन्त्री बनेको पाँच महिनासम्म भारत भ्रमण हुन सकेको छैन ।

वैशाखमा भ्रमणको तयारी गरिए पनि अन्तिम समयमा आएर रोकिएको थियो । उसो त वैशाखअघि नै पनि उहाँले भारत भ्रमण गर्ने चर्चा भएको थियो । प्रधानमन्त्री प्रचण्डले निरन्तर ताकेता गरे पनि भारतीय पक्षले ‘ग्रिन सिग्नल नदिँदा’ भ्रमण हुन नसकेको विश्लेषकहरू बताउँछन् । भारतकै अनिच्छाका कारण पाँच महिनासम्म उहाँको भारत भ्रमण सरेको सर्‍यै छ ।

नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने अघोषित परम्परा छ । तर, प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा भने सन् २००८ मा चीन भ्रमण जानुभएको थियो । नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाट सुरु गर्ने अघोषित परम्परालाई तोड्दै उहाँ भारत जानुभएको थियो । तर, चीनबाट फर्किंदा भने औपचारिक विदेश भ्रमण भारतबाटै हुने प्रष्टीकरण दिनुभएको थियो । उहाँ नेतृत्वको सरकार नौ महिनामै ढलेको थियो । प्रचण्डले प्रधानमन्त्रीका रूपमा यसअघि दुईपटक भारत भ्रमण गरिसक्नु भएको छ । उहाँले सन् २०१६ मा दोस्रोपटक प्रधानमन्त्री हुँदा भने आफ्नो औपचारिक विदेश भ्रमण भारतबाटै गर्नुभएको थियो ।

जेठ १७ देखि २० सम्म भ्रमण तयारी
प्रधानमन्त्री प्रचण्ड आगामी आर्थिक वर्षको बजेट घोषणालगत्तै भारत भ्रमण जानुहुने भएको छ । जेठ १५ गते संघीय संसद्मा बजेट वक्तव्य पेस गरेलगत्तै प्रधानमन्त्री प्रचण्ड भारत जानुहुने भएको छ । उहाँ आउँदो जेठ १७ भारत जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने गरी भारतको विदेश मन्त्रालयसँग सहकार्य भइरहेको छ । जसमा दुवै मुलुकले सहमति जनाएका छन् । भ्रमणलाई मध्यनजर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयले आन्तरिक गृहकार्य सुरु गरेका छन् । भ्रमणको औपचारिक कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।

मन्त्रालयले नेपालका तर्फबाट भ्रमणमा उठाउनुपर्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ । दुई मुलुकबीच भ्रमणका दौरान हुनसक्ने साझेदारी र छलफलका विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको छ । दुई मुलुकबीचका सीमा समस्या, सन्धि सम्झौता, द्विपक्षीय व्यापार, आपसी सहयोगलगायत विषयमा छलफल गर्ने तयारी छ । भारत भ्रमण द्विपक्षीय हित प्रवद्र्धन, सम्बन्ध अभिवृद्धिमा मात्रै नभएर सीमा लगायतका समस्या समाधानमा पनि केन्द्रित रहने प्रधानमन्त्री प्रचण्डले बताउँदै आउनुभएको छ ।

भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत शर्माबीच भेटवार्ता
भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकर र भारतका लागि नेपाली राजदूत शंकर शर्माबीच भेटवार्ता भएको छ । विदेशमन्त्री जयशंकरकै कार्यक्षमा उहाँहरूबीच बिहीबार बिहान शिष्टाचार भेट भएको राजदूत शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार भेटमा नेपाल र भारतबीचको गहिरो आपसी सम्बन्धका बारेमा छलफल भएको हो । भेटकै क्रममा आउँदा दिनमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा चर्चा गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको तयारी गरिरहँदा उहाँहरूबीच भेटवार्ता भएको हो ।

कर्णाली वा कोशीमा सम्झौता गर्ने शंका छ : उपाध्याय
नेपाल-भारत प्रबुद्ध समूहका सदस्य सूर्यनाथ उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा कर्णाली वा कोशी नदीमा सम्झौता गर्नसक्ने आशंका व्यक्त गर्नुभएको छ । बिहीबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यायले यस्तो शंका व्यक्त गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीले यो पटकको भारत भ्रमणमा नयाँ सम्झौता हुने बताउँदै आएको भन्दै कोशी र कर्णाली जलाशय आयोजना भारतलाई दिने सम्झौता गर्न सक्नेप्रति चनाखो रहन आग्रह गर्नुभयो । उहाँले नेपाल र भारतको १९५० को सन्धिमा भएको सम्झौताअनुसार भारतले नेपाललाई पानी कहाँ पु¥याउने, कति दिने भन्ने विषयमा स्पष्ट उल्लेख गरेको बताउनुभयो । उहाँले नेपाल-भारतबीचमा भएका सन्धि सम्झौताहरू पालना नभएको बताउनुभयो । उहाँले गण्डकको नहरमा नेपाललाई पानी दिने भनिए पनि नहरमा अहिले पानी नभएको बताउनुभयो । उहाँले सम्झौता उल्लंघन गर्ने भारतसँग जलविद्युत् र पानीका सम्बन्धमा सरकारले नयाँ–नयाँ सम्झौता गर्दै जानु राम्रो नभएको बताउनुभयो । उहाँले आफ्नो स्रोतलाई सरकारले पानी नभएर विद्युत् दिएको भन्दै सबै भारतलाई बुझाइसकिएको बताउनुभयो । उहाँले १५० मेगावाटको कर्णाली आयोजना भारतलाई नदिन बारम्बार प्रधानमन्त्रीलाई भन्दा पनि नमानीकन भारतको जिएसआरलाई दिँदा १० वर्षसम्म पनि बन्न नसकेको बताउनुभयो । उहाँले कर्णाली आयोजना श्रीपेजको हिरा भनेको भए पनि भारतीय कम्पनीले अलपत्र बनाएको बताउनुभयो । उपाध्यायले नेपाल सरकारको अब पानीमा स्पष्ट नीति बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भारतसँग पानीका सम्बन्धमा सम्झौता गर्दा नेपाल चनाखो हुन आवश्यक रहेको धारणा राख्नुभयो ।

उपाध्यायले १९५० को सन्धिमा नेपालको सीमा खुला राख्नुपर्ने व्यवस्था नगरेको खुलासा गर्नुभयो । उहाँले अहिलेसम्म सरकारले नेपालको सीमा खुला राखिरहेको भन्दै किन खुला राखेको भन्ने बुझ्न नसकेको बताउनुभयो । उहाँले नेपालको सिमाना भारतका लागि खुला हुने तर भारतको नेपालीको लागि खुला नहुने अवस्था रहेको बताउनुभयो । उहाँले आर्थिक रूपले सिमाना खुला राख्नुपर्छ भन्ने नभएको भन्दै आर्थिक रूपमा सिमाना खुला राख्दा झनै खतरा रहेको बताउनुभयो ।

उपाध्यायले नेपाल सरकारले भारतबाट नेपाल आउने भारतीय नागरिकको कुनै तथ्यांक नराख्दा देशभित्र आपराधिक क्रियाकलाप बढेको जिकिर गर्नुभयो । उहाँले १९५० को सन्धिको समयानुकूल परिमार्जन गर्न सरकारले बेवास्था गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

भारतसँगको सम्बन्ध नेपालको लागि अवसर हो, समस्या होइन : सांसद राई
नेकपा(एमाले)का सांसद रामचन्द्र राईले छिमेकी मुलुक भारतसँगको नेपालको सम्बन्ध अवसर भएको बताउनुभएको छ । बिहीबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसद राईले नेपालको लागि भारतसँगको सम्बन्ध अवसर भएको बताउनुभएको हो । उहाँले छिमेकी मुलुकसँगको सम्बन्ध हाम्रो लागि समस्या नभएको बताउनुभयो । उहाँले भारतसँगको सम्बन्धलाई अवसरको रूपमा परिणत गर्न नेतृत्वको सुझबुझपूर्ण पहलकदमी हुनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताउनुभयो । सांसद राईले सन् १९५० को भारत-नेपाल शान्ति तथा मैत्री सन्धिको मूल कपी नै नभएको भन्दै बजारमा सुनिएका कुराहरूको आधिकारिताको सम्बन्धमा प्रश्न उठाउनुभयो । उहाँले नेपालमा सन् १९५० को सन्धि खारेज हुनुपर्ने माग बारम्बार उठिरहने भन्दै सो सन्धि खारेज हुनु र नहुनेको कुनै अर्थ नभएको जिकिर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ आज र भोलि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र बनाउन मन्त्री मेहताको जोड भोजपुरमा राति सवारी आवागमन बन्द बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु भीषण वर्षाको जोखिम : राति हेटौंडाबाट काठमाडौं जाने सवारी अस्थायी रूपमा रोकियो गृह मन्त्रालय प्रवेशमा रोकिएपछि निहारिका राजपुत र बिनु यादवको विरोध प्रदर्शन एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल क्यान्सर उपचाररत बाढीपहिरोले देशका छ प्रमुख राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह तीन महिनाभित्र तीन लाख सदस्य बनाउने लक्ष्य, संगठन विस्तारमा जुट्न कुलमान घिसिङको…