हुल्दीवासी कहिलेसम्म असुरक्षित ?

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 10 mins

बागलुङ । जताततै पहिरो । पहिरोका बीच-बीचमा माटो, ढुङ्गा र काठेले बनेका घरहरु । हिउँदमा यि घरहरुमा स्थानीय बसोबास गरे पनि बर्खाको समय रित्तै हुन्छन् । पहिरोले चिराचिरा परेको गाउँमा स्थानीय मुटु बलियो बनाएर बस्दै आएका छन् । निसीखोला गाउँपालिका-१ हुल्दी गाउँमा साना ठूला पहिरो वर्षौँदेखि गइराखेका छन् । कहिले मानवीय क्षति हुँदै आएको छ भने कहिले लाखौँको भौतिक सम्पत्तिको क्षति हुने गरेको छ । स्थानीयलाई हरेक वर्षातको समयमा जनधनको सुरक्षा गर्न निकै चुनौति हुन्छ ।

जब बर्खा लाख्छ, तब गाउँले पोको पन्तुरो बोकेर गाउँमाथिको दह भन्ने जंगलमा भाग्छन् । उनीहरु ज्यान जोगाउनका लागि गाउँमा भएभरको सम्पत्ति छोडेर दह पुग्छन् । विगतमा साँझ सुतेका कयौँ स्थानीय विहान उठ्दा पहिरोमा पुरिएका हुन्थे । त्यही डरले गर्दा हिउँदमा पनि ठूलो पानी पर्दा गाउँले झस्की रहन्छन् । हिउँदको समयमा पहिरो रोकिने हुँदा गाउँमै बसेर खेतीपाती गरि जीविकोपार्जन गर्दै आएका छन् । यस गाउँका साढे एक सय घर परिवार छन् । उनीहरु कसैको पनि घर सुरक्षित छैनन् । भूगर्भविदले गाउँमा बस्न जोखिम भएको बताए पनि स्थानीयको अन्य कुनै ठाउँमा बसाइँसराइ गर्ने थातथलो नहुँदा ज्यान धरापमै राखेर गाउँमै बस्न बाध्य छन् ।

हुल्दी गाउँसँगै निसीखोलाको देविस्थान, खारा बजार, खाडु बजार, धाराखर्क खग्रेनी, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ । पहिरोले घर चिराचिरा परेका छन् । त्यही चिरा परेका घर टालटुल पारेर उनीहरु रात बिताउँदै आएका छन् । निसीखोला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी पहिरो प्रभावित पालिका हो । यस पालिकामा दुई सय ८२ घर परिवार पहिरोले विस्थापित बनेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । ति घरहरु मध्ये दुई सय ६० घर स्थानान्तरण गर्नु पर्ने अवस्थामा रहेको उहाँको भनाइ छ ।

गाउँपालिकाको वडा नम्बर १ को देविस्थान खारा बजारका ४१ घर, हुल्दी गाउँका १०० घर, वडा नम्बर २ खाडुका ११ घर, वडा नम्बर २ कै काँडा, किटेनी र बाहुनगाउँका ६० घर, वडा नम्बर ३ धाराखर्क खग्रेनीका ४८ घर स्थान्तरण गर्नु पर्ने अवस्थामा गाउँपालिकाको तथ्याङ्कमा छ । वडा नम्बर ४ का ३ घर वडा नम्बर ५ का ८ घर, वडा नम्बर ६ का ४ घर र वडा नम्बर ७ मा ७ वटा घर पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाले गौतमले बताउनुभयो ।

सूचना अधिकारी गौतम भन्नुहुन्छ – “यहाँको भूगोल अलिकति कमजोर खालको हुँदा हरेक वर्ष बाढी पहिरोबाट नागरिक प्रभावित बन्नु परेको छ, हुल्दी गाउँको पहिरो दुई÷चार वर्ष अगाडिको होइन, यहाँ पहिरो जन थालेको दशकौँ भएको रहेछ, स्थानीयको सुरक्षाको लागि स्थान्तरण गर्नुको विकल्प छैन, स्थानीय सरकारले सक्दा पनि सक्दैन, केन्द्र र प्रदेश सरकारको ध्यान पुग्नु पर्छ, सिङ्गो गाउँनै पहिरोले चिराचिरा परेको हुँदा बस्न निकै जोखिमपूर्ण छ, स्थानीयलाई सजक हुन जरुरी छ ।”

यस वर्ष पनि बर्खा सुरु हुन थालेको छ । पहिरोबाट जोगिन गाउँपालिकाले आग्रह गरेको छ । पालिकाका विभिन्न स्थानमा पहिरोले भत्किएका ४४ घर बनि सकेको उहाँले जानकारी दिनुभयो । मौसमजन्य विपद अन्तरगत केन्द्र सरकारले दिएको चार लाख रुपैयाँबाट पहिरो पीडितले घर बनाइसकेको गौतमको भनाइ छ ।

निसीखोला गाउँपालिका–१ हुल्दीका लालबहादुर सिंजालीले हुल्दीवासी वर्षौँदेखि पहिरोको डरमा बाँच्नु परेको बताउनुभयो । अब ठूलो पानी प¥यो भने सबै सरसामान बोकेर दह जान बाध्य भएको उहाँको भनाइ छ । दह पुग्न हुल्दी गाउँदेखि एक घण्टा लाग्छ । त्यहाँ आफूहरु पाल टाँगेर बस्ने सिंजालीले सुनाउनुभयो । हुने खानेहरु बसाइँसराइ सरेर तराइ तिर झरेको भन्दै आफूहरुसँग त्यो क्षमता नहुँदा गाउँमै जोखिम मोलेर बस्न बाध्य भएको उहाँले बताउनुभयो ।

सरोकारवाला निकायलाई गाउँको समस्याका बारेमा पटक–पटक सुनाए पनि अहिलेसम्म सुनुवाई नभएको सिंजालीले गुनासो पोख्नु भयो । सरकारले एकीकृत बस्ती निर्माण गरेर आफूहरुलाई राखे ज्यान बचाउन सकिने उहाँको भनाइ छ । बर्खामा बालबालिका र बुढाबुढीलाई अझ बढी समस्या हुने गरेको सिंजाली बताउनुहुन्छ । पानी पर्न साथ उनीहरुलाई दहमै सार्नु पर्ने उहाँले बताउनुभयो ।

“फेरि बर्खा सुरु हुन थाल्यो, यो बर्खामा कसरी ज्यान बचाउने भन्ने चिन्ता लागि रहेको छ, बर्खा किन आउँदो हो भन्ने हुन्छ, बर्खा लाग्यो कि गाउँमा केही न केही घटना हुन्छ, कहिले कसको घर पुरिन्छ, कहिले मान्छेनै पुरिन्छन्, ५÷६ वर्ष अगाडि घरमा सुति राख्नु भएको मेरो आमानै पहिरोले पुरि दियो” सिंचालीले भन्नुभयो – “कुन बेला, कति बेला हामी आफै पुरिन्छ थाहा छैन, हामी गरि खाने गाउँ जोडेर कतै जान सकिएन, जाने ठाउँ पनि छैन, पूँजी छैन, गाउँ नजिकैको सुरक्षित ठाउँमा घर बनाइदिए हिउँदमा खेतीपाती गर्न सकिन्थ्यो, बर्खामा ज्यान बचाइन्थ्यो ।”

स्थानीय हुमकुमारी मल्लले गाउँमा बाहेक अरु ठाउँमा आफ्नो सम्पत्ति नहुँदा बर्खामा पनि गाउँमै जोखिम मोलेर बस्ने गरेको बताउनुभयो । गाउँका कुनै पनि बस्ती सुरक्षित नभएको भन्दै पानी पर्दाको रात जागराम बस्ने मल्लको भनाइ छ । पहिरोले कहिले पशुचौपाय कहिले गोठ पुरि दिने गरेको भन्दै विद्यालय जाने बाटोमा समेत ठूलो पहिरो हुँदा बालबालिका पढ्नबाट वञ्चित भएको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “यो बर्खाका त किन लाग्दो हो ?, हिउँदमा त आफ्नो दुःख गरेर खान्छौँ, बर्खामा न काम गर्न पाइन्छ, जति बेला पनि पहिरो कहाँ कताबाट आउँछ भन्ने डर मात्रै हुन्छ, सबै गाउँमा दहमा जान्छ, दहमा जानलाई त्यहाँ केही सम्पत्ति छैन, सरकारले हाम्रो समस्या देखेन, गाउँपालिकामा धेरै पटक भन्यौ, केन्द्र र प्रदेश सरकारलाई पनि गुहार माग्यौँ तर समस्या जस्ताको त्यस्तै छ, पानी पर्न थाल्यो, अब बर्खा पनि लाग्यो, बर्खाको चार महिना त निकै गाह्रो हुन्छ, ज्यान जोगाउन ।”

निसीखोला गाउँपालिका–१ का अध्यक्ष चन्द्रसिंह रामजालीले हुल्दीको पहिरोले वर्षौँदेखि नागरिकलाई दुःख दिइराखेको बताउनुभयो । गाउँको भौगोलिक अवस्था निकै कमजोर हुँदा बस्तीनै स्थान्तरण गर्नुको विकल्प नभएको अध्यक्ष रामजालीको भनाइ छ । उहाँले बस्ती स्थान्तरणका लागि गाउँपालिकाको बजेटले नभ्याउने भन्दै यसका लागि केन्द्र र प्रदेश सरकारसँग सहयोग मागि रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?