नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउँछः सचिव सुवेदी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित दृष्टिविहीनहरुको लागि व्यवसायिक सीप विकास र प्रवर्द्धन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सिटिभिटीसँग सहकार्य गरी सरकारले नेत्रबिहीनका लागि लचिलो सीप परीक्षण विधि अपनाउनसके नेत्रहीनहरुले पनि सहजै रोजगारी पाउने अवस्था सिर्जना हुनसक्ने बताउनु भयो । उहाँले नेत्रहीनहरुका लागि कस्ता सीप दिने भन्नेबारेमा विस्तृत छलफल गर्न आवश्यक देखिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सिटिभिटीले सीप परीक्षण गर्छ । सीप परीक्षण गर्ने क्रममा उहाँहरुलाई अलि सहजीकरण गर्नुपर्ने हो की ? अलि लचिलो बनाउनुपर्ने हो की ? नीति प्रक्रियामा । सीप परीक्षणमा अरुलाई भन्दा फरक किसिमबाट गर्नुपर्छ । त्यसै अनुसार उहाँहरुले रोजगारीको बजार पाउने व्यवस्था गर्नुपर्छ । लचिलो सीप परीक्षण विधि अपनाउनलाई सिटिभिटीमा हामीले सहकार्य गर्नसक्छौँ । सीपको लागि कस्ता सीपहरु दिनुपर्छ, कस्ता स्किल्स दिनुपर्छ भन्नेमा छलफल हुनुपर्छ ।’

कार्यक्रममा नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बूले व्यवसायिक सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरुमा दृष्टिबिहीनहरुलाई नसमेटिएको बताउनु भयो । उहाँले सीप बिना जीवन चलाउन नसकिने भएकाले नेत्रहीनहरुलाई पनि सरकारले सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरुमा समेट्नैपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले व्यवसायिक सीप विकासको प्रवर्द्धनमा सबै लाग्नुपर्ने बताउनु भयो । दृष्टिबिहीनहरुले गरिरहेका कामहरुको सरकारी निकायबाट प्रमाणित गर्ने काम नभएकोप्रति गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले जुन व्यवसायिक सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरुमा दृष्टिबिहीनहरुको सवालमा त्यति साह्रो समेटिएको पाइएन । तर त्यसमा समेटिनुपर्छ । किनभने सीप बिना जीवन गुजारा हुँदैन । सीप भएपछि धेरै अवसर हुन्छन् भनेर पहल गरेका हौँ, यो पहल गरेको धेरै वर्ष भयो, अहिले शिक्षा मन्त्रालयले उद्योग सीप विकासको रणनीति बनाएको छ, त्यसमा दृष्टिबिहीनहरुलाई समेट्ने काम भएको छ । यो कार्यक्रम शिक्षा मन्त्रालयको र नेत्रहीन संघ लगायतको संयुक्त पहलमा आयोजना गरिएको हो । सीप विकासको पहिचानका लागि कार्यक्रम गरेको हो । हामी सबै मिलेर व्यवसायिक सीप विकासको प्रवद्र्धनमा लाग्नुपर्छ । दृष्टिबिहीनहरुले गरिरहनुभएका कामको सर्टिफाइ गर्ने काम भएको छैन ।’

कार्यक्रममा अन्य वक्ताहरुले सीप विकाससँग सम्बन्धित काममा तीन तहका सरकारबीचको समन्वय, संघीय मन्त्रालय र निकायबीचको समन्वयका साथै सीपविकासको पाठ्यक्रम र सीप परीक्षणलाई कसरी प्रभावकारी बनाउने ? भन्ने विषयमा ध्यान दिन जरुरी रहेको बताए ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?