यस्तो आरोप टाउकोमा बोकेर हिँड्न सकिँदैन, दूधको दूध, पानीको पानी गरियोस् : सुवास नेम्वाङ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्ता पक्षले लगाएको आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्न नदिने बताउनु भएको छ ।

नेम्वाङले जलहारीमा लगाइएको सुन हो कि पित्तल हो सरकारले यसको जवाफ दिनुपर्ने भन्दै आरोप पुष्टि नभएसम्म संसद् बैठक चल्न नदिने बताउनु भयो ।

पशुपतिमा लगाइएको जलहारी सुनको नभइ पित्तलको भएको आरोपसहित त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचार गरेको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बताएका थिए। यही विषयलाई लिएर प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको आरोप पुष्टि नभएसम्म संसद चल्न नदिने अडान नेम्वाङको छ ।

प्रतिनिधिसभामा माओवादी सांसद लेखनाथ दाहालले जलहरीमा ओली सरकारले भ्रष्टाचार गरेको आरोप लगाएपछि नेम्वाङले यस्तो चुनौती दिनुभएको हो ।

एमाले सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठेर वेल घेराउसहित नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको हो।

उहाँले भन्नुभयो, ‘पशुपतिमा लगाएको सुन होइन, पित्तल हो भनियो । यसबारे जनताले बुझ्न पाउनुपर्छ, सरकारले यो विषयमा जवाफ दिनुपर्छ । कुनै पनि भ्रष्टाचारका मुद्दामा कोही पनि उम्किनु हुँदैन । सत्ता पक्षले सुनको जलहरी चढाउने भनेर पित्तलको जलहरी चढाइयो भनेर भ्रष्टाचारको आरोप हामीमाथि लगायो । सत्ता पक्षले भनेपछि यो हो भन्ने हुन्छ, जनतामा त्यही कुरा जान्छ । हामी यस्तो आरोप टाउकोमा बोकेर प्रक्रिया अघि बढाउन सक्दैनौँ । यो आरोप टाउकोमा बोकेर हिँड्न सकिँदैन । दूधको दूध, पानीको पानी गरियोस् । यो सुनको जलहरी होइन भने कारबाही गरियोस् ।’

यसअघि प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षी दलको नेतामाथि सत्तारुढ दलको नेताले लगाएको आरोपबारे प्रष्ट नभएसम्म बैठक चल्न नदिने बताउनु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?