मेरो सिर्जनाको आधार लोकसंगीत हो : नरेश बिबिसी

Read Time = 9 mins

एउटा संगीतकर्मीसँगै स्वास्थ्यकर्मीको पहिचान कायम गर्नुभएका नरेश बिबिसीका चार दर्जनभन्दा बढी गीत श्रोता/दर्शकमाझ आएका छन् । बुबा दिलबहादुर बिसी र आमा गुलु देवीको कोखबाट बझाङको छबिसपाथी भेरा-६ मा जन्मिनुभएका नरेश काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियसन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । गायन, संगीतसँगै साउण्ड इञ्जिनियरका रूपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएका उहाँका ‘मुना तड्पी मदनलाई’, ‘तम्रा पाराले’, ‘राम पियारी’, ‘फोटो सिरानी’, ‘जड्याँ भिनाजु’, ‘सीपालु जमुना’ जस्ता गीतहरू लोकप्रिय रहेका छन् । गीत संगीतसँगसँगै समाज सेवामा पनि सक्रिय उहाँ आफ्नो सिर्जनाको आधार लोकसंगीत रहेको बताउनुहुन्छ । पुराना गीतहरूमा मेलोडी र शब्दलाई बढी महत्व दिइएको बताउनुहुने नरेश अहिले बजारमुखी गीत संगीतको माग बढी रहेको बताउनुहुन्छ । विसं २०६९ सालदेखि यस क्षेत्रमा रहनुभएका नरेशले प्रमोद खरेल, अञ्जु पन्त, मेलिना राई, रचना रिमाल, राजु परियार, रामजी खाँड, एलिना चौहान, चक्र बम, रेखा जोशी, शान्तिश्री परियारलगायत नेपालका थुप्रै गायक, गायिकाका तीन सयभन्दा बढी गीतहरूमा मिक्सिङको काम गर्नुभएको छ । गायन, संगीत, साउण्ड इञ्जिनियरका साथै स्वास्थ्यकर्मीका रूपमा रहनुभएका नरेश बिबिसीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

हालसम्म यहाँका कति जति सिर्जना श्रोता/दर्शकमाझ आएका छन् ?
हालसम्म म आफैंले गाएका र अन्य चर्चित गायक-गायिकाहरूसँगको सहकार्यमा आएका गीतहरू गरी करिब ५० वटाजति गीतहरू श्रोता/दर्शकमाझ आएका छन् ।

केही गीतको नाम लिनुपर्दा ?
तीन वर्षअघि आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको गीत ‘मुना तड्पी मदनलाई’ श्रोता/दर्शकले अत्यधिक रुचाइदिनुभएको छ । त्यसैगरी ‘तम्रा पाराले’, ‘राम पियारी’, ‘फोटो सिरानी’, ‘जड्याँ भिनाजु’, ‘सीपालु जमुना’ जस्ता गीतहरू छन् जसले मलाई गीत संगीत कर्ममा लागिरहन प्रेरणा मिलेको छ ।

यहाँ औपचारिकरूपमा कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
सानो उमेरदेखि नै गीत संगीत भनेपछि एकदमै हुरुक्कै हुने गर्दथेँ । त्यसैकारणले गर्दा पनि विगत एक दशकअघिदेखि पुतलीसडकमा रहेको अनुराग संगीत विद्यालयमा औपचारिकरूपमा संगीत गुरु अर्जुन पोखरेल, राम सिटौला र श्रीसंगीत पाठशालामा गुरु चण्डीप्रसाद काफ्लेबाट शिक्षा लिइरहेको छु ।

यहाँले आफूले आफैंलाई चिनाउनुपर्दा कसरी चिनाउनुहुन्छ ?
म आफैंले आफूलाई चिनाउनुपर्दा एक संघर्षशील गायकका रूपमा चिनाउन चाहन्छु । मैले धेरै गीतहरूमा संगीत भर्ने काम पनि गरेको छु । र, अहिले भन्नुपर्दा ए प्लस रेकर्डिङ स्टुडियोमा मिक्सिङ मास्टरिङको काम गरिरहेको छु ।

आफूलाई चिनाउने गीत कुन हो जस्तो लाग्छ ?
करिब तीन वर्षअघि मेरो आफ्नै च्यानलबाट सार्वजनिक भएको एलिना चौहान र मेरो स्वरमा रहेको ‘मुना तड्पी मदनलाई’ बोल रहेको गीत दर्शकमाझ एकदमै लोकप्रिय भयो र यही गीतले नै मलाई चिनाएको हो । गीत मिक्सिङ मास्टरिङमा ‘आगोबिना बिँडी जल्दैन’, ‘मेसो मिलाएर’, ‘मेरो सास भने नि तिमी’, ‘यस्तै रहेछ जिन्दगी’, ‘फोटो फिरिममा ३’ जस्ता गीतहरू अत्यधिक रुचाइएका छन् ।

जीवन र गीत संगीतलाई कसरी परिभाषित गर्नुहुन्छ  ?
मेरो विचारमा जसरी तरकारी नुनबिना बिलिनो हुन्छ, स्वादिलो हुँदैन त्यसैगरी गीत संगीतबिनाको जीवन पनि खल्लो हुन्छ, स्वाद हुँदैन ।

संगीतमा बेला-बेलामा चोरीको आरोप लाग्ने गर्छ नि ?
मैले पनि कहिलेकाहीँ सुनेको छु । चोरीको आरोप लाग्ने गर्छ तर मैले अहिलेसम्म गरेका सिर्जनाहरूमा त्यस्तो आरोप लागेको छैन ।

नेपाली गीत संगीतको बजार राम्रै छ, आमदर्शकहरूमाझ गीतहरू पुग्छन् तर सर्जकको हकमा चाहिँ सही किसिमको रोयल्टी व्यवस्थापन नभएका कारणले सर्जकलाई मार परेको छ । पुराना गीतहरूमा मेलोडी र शब्दलाई बढी महत्व दिइन्थ्यो भने अहिले बजारमुखी गीत संगीतको माग बढी छ । र, आफ्नो व्यवसाय चलाउन पनि बजारमुखी गीतहरू बनाउनुपर्ने देखिन्छ ।

तपाईंको सिर्जनाको आधार के हो ?
मेरो सिर्जनाको आधार भन्नुपर्दा लोकसंगीत हो । विशेष गरी म पश्चिममा जन्मे हुर्केकाले गर्दा मेरा सिर्जनाहरूमा पश्चिमको कलर अलि बढी झल्किने गर्दछ ।

अहिलेको नेपाली गीत संगीतको अवस्था कस्तो पाउनुहुन्छ ?
बजार ठूलो छ, आमदर्शकहरूमाझ गीतहरू पुग्छन् तर सर्जकको हकमा चाहिँ सही किसिमको रोयल्टी व्यवस्थापन नभएका कारणले सर्जकलाई मार परेको छ ।

हिजो र आजका गीत संगीतमा कत्तिको फरक पाउनुहुन्छ  ?
पुराना गीतहरूमा मेलोडी र शब्दलाई बढी महत्व दिइन्थ्यो भने अहिले बजारमुखी गीत संगीतको माग बढी छ । र, आफ्नो व्यवसाय चलाउन पनि बजारमुखी गीतहरू बनाउनुपर्ने देखिन्छ ।

यहाँको विचारमा संगत के हो ?
मेरो विचारमा संगत ठूलो कुरा हो । राम्रो व्यक्तिको संगतले नकारात्मक विचारलाई पनि सकारात्मकतिर धकेल्न मद्दत गर्दछ । अझै सिर्जना गरिरहने व्यक्तिको हकमा संगतको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।

घरपरिवारबाट तपाईंको कार्यमा कत्तिको सपोर्ट मिलेको छ  ?
घरपरिवारबाट साथ नमिलेको भए अहिलेसम्म निरन्तरता दिन सक्दिन थिएँ होला । विशेष गरेर मेरो दाइभाउजू नै मेरा लागि प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरू नभएको भए मेरो संगीत यात्रा र मेरो जीवन नै अधुरो हुने थियो ।

तपाईं गायक संगीतकारसँगै एउटा कुशल रेकर्डिस्ट (अडियो इञ्जिनियर) हुनुहुन्छ । तपाईंलाई कुन कार्य गर्न बढी सजिलो हुन्छ ?
संसारमा कुनै पनि काम सजिलो भन्ने छैन । तर, अध्ययन, साधना र मिहिनेत गर्‍यो भने कुनै पनि काम असम्भव पनि छैन । त्यसकारण मलाई त झन् सजिलो किन हुन्छ भने गायक र रेकर्डिस्ट एकै सिक्काका दुई पाटा भनेझैँ एकअर्काको परिपूरक जस्तो लाग्छ । दुइटै संगीतको काम हो । त्यसैले दुईवटै काम मलाई बराबर लाग्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?