कृषि उपकरणमा कर छुट माग

Read Time = 4 mins

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भन्सार कर तथा राजस्वबारे अन्तरक्रिया आयोजना गरेको छ । भन्सार प्रशासनलाई चुस्त एवं करको दायरा फराकिलो बनाउनुपर्ने विषयमा चेम्बरले वस्तुगत संघ र आबद्ध व्यवसायीसँग छलफल गरेको हो । चेम्बर भवनमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीले निर्यात सहजीकरण एवं करको दायरा बढाउन माग गरेका छन् ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले राजस्व घटिरहेका सन्दर्भमा कर प्रशासन चुस्त बनाउनुपर्ने, भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्य खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताउनुभयो । विश्व व्यापार संगठनबाट निर्धारित मूल्यांकन पद्धतिमा रहेर भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्य खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने उहाँको भनाइ थियो ।

त्यस्तै, भन्सार नाकामा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टाइन ल्याबको उचित व्यवस्थापन गरेर आयात निर्यातलाई प्रभावकारी बनाउनुपर्ने, भन्सारका कारण हुने ढिलाइमा डेमरेज, डिटेन्सन तिर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने, सीमामा हुने अवैध व्यापार निरुत्साहित गरी कर राजस्वको दायरामा ल्याउनुपर्ने, त्यसका लागि बिल लिने/दिने व्यवस्था अनिवार्यरूपमा कार्यान्वयन गर्नुपर्ने, करको दर नभई दायरा बढाइनुपर्ने र नागरिकता वितरण गरेसँगै पान कार्ड पनि उपलब्ध गराउनुपर्ने मल्लले माग गर्नुभयो ।

कार्यक्रममा सहभागी अधिकांश उद्योगी व्यवसायीले सरकारले दिने निर्यात अनुदान लक्षित वर्गमा पुर्‍याउनुपर्नेमा जोड दिँदै स्थानीय तहले आफूखुसी कर निर्धारण गर्दा पनि उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको बताएका थिए । सीमा नाकामा हुने चोरी निकासीले राजस्व संकलनको लक्ष्यमा गम्भीर असर परेको पनि उनीहरूले बताए ।

कृषिमा आधुनिकीकरण गरी उत्पादन बढाउन कृषि कार्यमा प्रयोग हुने यन्त्र, उपकरण र आधारभूत प्रयोगका वस्तुमा आगामी बजेटमा भन्सार तथा कृषि सुधार शुल्कमा पूर्णतः छुट हुनुपर्ने, भन्सार कार्यालयमा प्रज्ञापनपत्र दर्तादेखि सामान जाँचपास हुने अवस्थासम्म सबै प्रक्रिया कम समयमा छिटो र झन्झटरहित सम्पन्न गर्न एकद्वार प्रणाली लागू गरिनुपर्ने चेम्बरले सुझाव दिएको छ । सो अवसरमा चेम्बरका कर राजस्व तथा भन्सार समितिका सभापति परशुराम दाहालले कर राजस्वमा देखापरेका समस्याबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?