सहकारीले बचत फिर्ताका लागि समय तोक्न पाउने

Read Time = 5 mins

काठमाडौं । समस्यामा परेर बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाले बचत फिर्ताका लागि समय तोक्न पाउने भएका छन् । सहकारी विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दैै समस्यामा परेर बचत फिर्ता गर्न नसकेका सहकारी संस्थालाई समय तोक्न सक्ने व्यवस्थाको घोषणा गरेको हो । विभागका रजिष्ट्रार नमराज घिमिरेले सम्पत्ति भएको तर तरलता समस्याका कारण सदस्यको बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाहरूले यथावत् (श्वेतपत्र) जारी गर्न र बचत फिर्ताको समय तोक्न पाउने गरी व्यवस्था गरिएको बताउनुभयो ।

सदस्य बचतकर्तालाई विश्वास दिलाउन पनि सञ्चालकले संस्थाको वास्तविक हिसाबकिताब श्वेतपत्रमार्फत् सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ थियो । तर, सहकारीले उक्त सुविधा उपयोग गर्न दायित्वको कानुनी ग्रहण पनि अनिवार्यरूपमा गर्नुपर्ने हुन्छ । कानुनीरूपमा दायित्व ग्रहण गरेपछि सञ्चालक भाग्ने सम्भावना नहुने हुँदा सहमतिमा बचत फिर्ताको समय तोक्न सक्ने विभागको भनाइ छ । बचतकर्ता र सञ्चालकको आपसी समझदारीले मात्रै समय पाइने रजिष्ट्रार घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सञ्चालकले बचतकर्ताको बचतको ग्यारेन्टी दिनुपर्छ । अहिले सहकारीबारे आइरहेको विषयवस्तुप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ, यसका लागि कार्यदलसमेत बनिसकेको छ ।’ सहकारी सञ्चालकले घरजग्गालगायत व्यवसायमा लगानी गरेको र घरजग्गामा दबाब आउँदा अहिलेको संकट आएको भन्दै घिमिरेले सञ्चालकले बदनियतले कारोबार गर्दा र आफ्नो वा आफन्तको कम्पनीमा लगानी गर्दा समस्या आएको बताउनुभयो ।

तरलता समस्याका कारण सदस्यको बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाले यथावत् (श्वेतपत्र) जारी गर्न र बचत फिर्ताको समय तोक्न पाउने भएका छन् ।

पछिल्लो समय सहकारी क्षेत्रमा आएको समस्याप्रति सरकार गम्भीर नदेखिएको भन्दै विभिन्न मागसहित राष्ट्रिय सहकारी महासंघ आन्दोलनमा छ । महासंघले ‘हामी आन्दोलनमा छौँ’ भन्ने कालो ब्यानर राख्ने, सबै सहकारी संघसंस्थाका कर्मचारीले कालोपट्टी लगाएर कार्यालयको दैनिक कार्य सञ्चालन गर्ने, तीनै तहका सरकारद्वारा आयोजित अन्तरक्रिया, गोष्ठी, छलफल, तालिमलगायतका कार्यक्रममा सहभागी नभई भद्र अवज्ञा गर्नेलगायतका आन्दोलन कार्यक्रम घोषणा गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण कार्यदल संयोजक ओमदेवीले कोरोना महामारी तथा रुस-युक्रेन युद्ध र राष्ट्रिय/अन्तर्राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दीका कारण मुलुकको अर्थतन्त्र संकुचन हुँदा संविधानले प्रदत्त गरेको समाजवादोन्मुख अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको सहकारी क्षेत्रसमेत प्रभावित भएको बताउनुभएको छ ।

सहकारी मूल्य, मान्यता र सिद्धान्तविपरीत सञ्चालित केही सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकद्वारा बचत रकम अपचलन हुँदा त्यस्ता सहकारीमा संकट सिर्जना भएपछि सहकारी अभियानप्रति नै भ्रम सिर्जना गरी संशय पैदा भएकाले त्यस्ता व्यक्ति र संस्थाको सघन अनुगमन गरी कारबाहीको दायरामा ल्याएर बचतकर्ताको बचत सुरक्षण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने महासंघले माग गरेको छ । कार्यदलले सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुरूप सदस्य नै सहकारीका मालिक भएको भन्दै नियमित संस्थाको कारोबार निगरानी गर्न, गलत भएको खण्डमा सतर्क गराउन, विशेष साधारणसभा आहृवान गर्न तथा कानुनी उपचार खोज्न आमसदस्य तथा बचतकर्तामा अनुरोधसमेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?