मलेसियाली कम्पनीले ओभरटाइम कटौती गर्दा नेपाली कामदार मारमा

हिमालय टाइम्स
Read Time = 7 mins

रमेश भारती/हिटा
काठमाडौं । काभ्रे पाँचखालका दिपु सापकोटा गत फागुनमा रोजगारीका लागि मलेसिया पुग्नुभयो । उहाँ मलेसियाको एग्रो कम्पनीमा तरकारी संकलन केन्द्रमा कार्यरत हुनुहुन्छ । सापकोटाले मासिक १६ सय मलेसियन रिंग्रेटमा तीन महिनादेखि काम गर्न बाध्य भएको बताउनुहुन्छ । नेपालबाट म्यानपावर कम्पनीले १६ सय रिंग्रेट तलबसँगै ओभरटाइम काम पाइन्छ भनेर पठाए पनि मलेसिया आएपछि आठ घण्टाभन्दा बढी काम नपाएको सापकोटाले हिमालय टाइम्सलाई जानकारी दिनुभयो ।

नेपालबाट दन्यु म्यानपावर प्रालिलाई एक लाख ७० हजार रुपैयाँ तिरेर ओभरटाइम काम गर्ने आसमा मलेसिया आएको उहाँले बताउनुभयो । ‘मलेसिया आएको तीन महिनासम्म ओभरटाइम काम पाएको छैन । मासिक ४५ हजार कमाइ हुन्छ । यही पैसामा खानुपर्छ । महिनाको जसोतसो २५ हजार जति पैसा बच्छ ।’ उहाँले भन्नुभयो, ‘नेपालबाट आएको ऋण तिर्नै एक वर्ष लाग्ने भयो । कम्पनीले तलबभन्दा केही सुविधा दिएको छैन । ओभरटाइमका आसमा आएको थिएँ । तर, अहिले कम्पनीले ओभरटाइम काम दिएन ।’

सापकोटाजस्तै, इलाम रोङ गाउँपालिकाका विक्रम लिम्बू पनि ओभरटाइम काम गरी पैसा कमाउने सपना बोकेर गत माघ महिनामा मलेसिया जानुभएको थियो । उहाँ ‘मिट्र इन मोन्ना’ कम्पनीमा कार्यरत हुनुहुन्छ । कम्पनीले ओभरटाइम कटौती गरेका कारण तलबमा मात्र काम गरिरहेको लिम्बू बताउनुहुन्छ ।

नेपालबाट म्यानपावर कम्पनीले दुई लाख रुपैयाँ लागत खर्च लिएर ओभरटाइम काम पाइन्छ भनेर पठाएको उहाँले बताउनुभयो । ‘पछिल्लो समय मलेसियाका अधिकांश रोजगारदाताहरूले आर्थिक मन्दीको कारण देखाउँदै ओभरटाइम काम कटौती गरिरहेका छन् । जसकारण अहिले १२ सय मलेसियन रिंग्रेट (४० हजार) मा काम गर्ने बाध्य छु’ उहाँले भन्नुभयोे ।

नेपालबाट आउँदाको ऋण तिर्न ६ महिनाभन्दा बढी लाग्ने उहाँको भनाइ छ । उहाँ ग्रिड म्यानपावर प्रालिमार्फत मलेसिया जानुभएको थियो । लिम्बू र सापकोटा त मलेसियामा कार्यरत प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । पछिल्लो समय उहाँहरू जस्तै करिब साढे तीन लाख मलेसियामा कार्यरत नेपाली श्रमिकहरू ओभरटाइम कामबाट वञ्चित हुने अवस्थामा पुगेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले मलेसियामा ओभरटाइम रोजगारीको प्रलोभनमा परी यहाँ नआउन नेपाली कामदारलाई आग्रह गरेको छ । लामो समयसम्म सम्भावित ओभरटाइमलाई समावेश गरेर मागपत्र प्रमाणीकरण गर्दै आएको दूतावासले पछिल्लो समय आर्थिक मन्दीका कारण रोजगारदाता कम्पनीले विदेशी कामदारको ओभरटाइम कटौती गरेको जनाएको छ । मलेसियाको अर्थतन्त्र शिथिल भएका कारणले ओभरटाइमको सम्भावना लगभग शून्यको अवस्थामा झरेको दूतावासले साप्ताहिक फेसबुक कार्यक्रममा जनाएको छ । मलेसिया सरकारले स्वदेशी तथा विदेशी कामदारलाई दैनिक आठ घण्टाको दरले मासिक १५ सय रिंग्रेट तलब दिने गरेकोे छ ।

विश्वभर देखिएको आर्थिक मन्दीका कारण मलेसियाका रोजगारदाता कम्पनीले विदेशी कामदारलाई दिँदै आएको ओभरटाइमको सुविधा कटौती गर्न थालेको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले जानकारी दिनुभयो । पछिल्लो समय आर्थिक मन्दीका कारण नेपाली युवाको उच्च माग गर्ने मलेसियाले समेत विदेशी श्रमिकको कोटा कटौती गर्न थालेको र त्यसका असर रोजगारी क्षेत्रमा पर्ने उहाँले बताउनुभयो । मलेसियाका ठुला कम्पनीहरूले पनि विदेशी कामदारलाई दिँदै आएको ओभरटाइमको सुविधा कटौती गर्न थालेको र यो विषयमा सम्बन्धित पक्षलाई जानकारी गराएको उहाँको भनाइ छ । मलेसियामा प्रमुख राजनीतिक शक्तिहरू सत्ताको दाउपेचमा लागेकाले राष्ट्रिय तथा बहुराष्ट्रिय लगानीकर्तामा अन्योल सिर्जना भएको कतिपयको विश्लेषण छ ।

मलेसियामा सेक्युरिटी गार्डको रोजगारीमा जाने कामदारको हकमा ओभरटाइम उल्लेख गर्नु स्वाभाविक मानिए पनि अन्य कामदारहरूले कम्पनीको अवस्था र मलेसियाको श्रम कानुनअनुसार मात्रै ओभरटाइम पाउने विषयमा संघले दूतावासलाई ध्यानाकर्षण गराएको थियो । चालु आर्थिक वर्षको नौ महिनामा ६ लाख नेपालीले श्रम स्वीकृति लिएर विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ । गत साउनयता पाँच लाख ४८ हजार ६६४ पुरुष र ५३ हजार ४८९ महिला गरी कुल ६ लाख दुई हजार १५३ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिनेको संख्या हो ।

यो अवधिमा सबैभन्दा बढी मलेसिया, साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (युएई) का लागि श्रम स्वीकृति जारी भएको छ । नौ महिनामा एक लाख तीन हजार नेपाली रोजगारीका लागि मलेसिया गएको विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?