डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’

गीता अधिकारी
Read Time = 12 mins

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नाम आत्मवृत्तान्त पाठकमाझ आएको छ । लक्ष्मण अधिकारीको सम्पादन, इदा उपाध्याय प्रकाशक र रोहिणीप्रसाद घिमिरेको भाषाशुद्धि रहेको ४५२ पृष्ठको कृति पाठकमाझ आएको हो । लामा क्रियटिम्भको आवरण डिजाइन/लेआउट र मञ्जरी प्रकाशनको बजार व्यवस्थापन रहेको कृतिको मूल्य ६७५ रुपैयाँ रहेको छ । कृतिलाई स्रष्टाले बुबा अम्बिकाप्रसाद उपाध्याय र आमा ज्यानुनानी उपाध्यायमा समर्पण गर्नुभएको छ ।

कृतिमा नेपाल सरकारका पूर्वस्वास्थ्य सचिव रामचन्द्रमान सिंहको ‘अथक यात्रा-एक मुटुरोग विशेषज्ञको’, हृदयरोग निवारण प्रतिष्ठानका सदस्य डा.प्रचण्ड प्रधानको ‘जीवनयात्राका महत्वपूर्ण झलकहरू’, डा.प्रकाशराज रेग्मीको ‘एक नेपाली डाक्टरको जीवनकथा’ जस्ता शीर्षकमा भूमिका प्रस्तुत गरिएको छ भने स्रष्टा उपाध्यायले ‘अनुभव र अनुभूति’ शीर्षकमा आफ्ना भनाइ राख्नुभएको छ । कृतिको अन्त्यतिर ‘अन्तर्मनका कुरा’ शीर्षकमा चिकित्सिक बन्नेहरूलाई चिठी प्रस्तुत गरिएको छ । यस्तै अन्तिममा ‘केही शान्दर्भिक तस्वीरहरू’ शीर्षकमा विभिन्न कालखण्डका स्यामस्वेत र रङ्गीन तस्वीरहरू समावेश गरिएको छ ।

यस कृतिमा नेपालमा मुटुरोग उपचार कसरी सुरु भयो र अहिले कुन अवस्थामा आइपुगेको छ भन्ने विषयलाई गहन रूपमा प्रस्तुत गरिएको छ । रोग, उपचार र औषधि विज्ञानको चर्चासँगै अनेक रमाइला प्रसङ्ग पनि समेटिएको यो कृति रोचक बनेको छ ।

कृतिमा स्रष्टा उपाध्यायले २१ विभिन्न शीर्षक र ११९ अन्य शीर्षकका विषय वस्तु पस्किनुभएको छ । चिकित्सा क्षेत्रसँगै देशका विभिन्न घटनाक्रमको साक्षी बनेको यस कृतिमा डा. उपाध्यायले साधारण भाषामा जटिल विषयवस्तु र प्राविधिक पक्षलाई सरलीकृत रूपमा प्रस्तुत गर्नुभएको छ । एक नेपाली डाक्टरको व्यावसायिक जीवनको आत्मकथा मात्र नभई चार दशकअघि देखिको स्वास्थ्य अवस्थालाईसमेत झल्काउछ यो कृतिले । यस कृतिले नेपालको स्वास्थ्य क्षेत्रको विभिन्न सकारात्मक, नकारात्मक पक्षलाई उजागर गरेको छ । मुटु रोग उपचार क्षेत्रको जीवन्त इतिहासका साथै देशको विभिन्न समयका कालखण्डको वर्णन गरिएको यस कृतिमा चिकित्सा क्षेत्रमा विद्यमान अव्यवस्थालाई पनि स्रष्टा डा.उपाध्यायले उजागर गर्नुभएको छ ।

यस कृतिमा एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायत विषयको रोचक चित्र समेटिएको छ । पुस्तकमा रोचक सन्दर्भ, व्यावसायिक जीवन आरम्भ, सुधार गर्न सकिँदोरहेछ, वीरका चुनौतीपूर्ण ती दिन, फरक अवधारणाको अस्पताल, मुटु जोगाउने अभियान, गौरवपूर्ण गंगालाल हृदय केन्द्र, नाम्सको चपेटामा वीर अस्पताल, भिआइपीको उपचार, स्वास्थ्य र राजनीति शीर्षकमा विषयगत महत्वपूर्ण घटनासम्बन्धी लेख समेटिएको छ ।

यस कृतिमा नेपालमा मुटुरोग उपचार कसरी सुरु भयो र अहिले कुन अवस्थामा आइपुगेको छ भन्ने विषयलाई गहन रूपमा प्रस्तुत गरिएको छ । रोग, उपचार र औषधि विज्ञानको चर्चासँगै अनेक रमाइला प्रसङ्ग पनि समेटिएको यस कृति रोचक बनेको छ । पढ्दै जाँदा पाठकलाई कृतिले आफैँसँग बाँधेर राख्दछ । विभिन्न घटनाक्रमलाई सरल रूपमा पस्किएका विषयवस्तुले कौतुहल्ता उत्पन्न गर्छ ।

कृतिमा नेपालमा आफ्नो बाल्यकाल, घरपरिवार, विद्यालय र विद्रोही कलेज जीवन तथा कडा मिहिनेत र अनुशासनबीच तत्कालीन सोभियत संघको राजधानी मस्कोस्थित प्याट्रिस लुमुम्बा विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्दाको विवरण तथा व्यावसायिक जीवनमा उत्रँदाका अनेक आयम उल्लेख लाई बडो रोचक ढङ्गले डा.उपाध्यायले यसमा प्रस्तुत गर्नुभएको छ ।

तत्कालीन राजा वीरेन्द्रलाई हृदयाघात हुँदा रानी ऐश्वर्य र युवराज दीपेन्द्रले नारायणहिटीमा आफूलाई गरेको केरकार, वीर अस्पतालबाट सरुवा भई सैनिकको गाडीले किचेर बालकको मृत्युपछि भोगेको भिडयुक्त भक्तपुर अस्पताल, जताततै पान थुकिएको फोहर-धुलो-माकुराको जालोयुक्त जनकपुर अस्पताल र त्यहाँको अपरेसन थियटरमै गाई पसेको घटना एवम् त्यहाँ डाकाको सरदार र उनकी आमालाई गरिएको उपचार अनि उनीसँगको मित्रता, सर्पदंशको बिरामी उपचार गर्न लाग्दा गाग्रीमा ल्याइएको गोमनसँगको जम्काभेट, उदयपुर अस्पतालमा चितुवाले आक्रमण गरेकाहरूको आन्द्रासहितको शल्यक्रिया र अस्पतालमा खेती गरेर छोरीको विवाह गर्ने जिल्ला स्वास्थ्य सहायक प्रमुखसँगको सहकार्य, भुटानमा चिकित्सक जागिर छाडेर हिँडेको अवस्थाका अनेक रोचक कथा यस कृतिमा समेटिएको छ ।

कृतिमा नेपालमा आफ्नो बाल्यकाल, घरपरिवार, विद्यालय र विद्रोही कलेज जीवन तथा कडा मिहिनेत र अनुशासनबीच तत्कालीन सोभियत संघमा उच्च शिक्षा अध्ययन गर्दाको विवरण तथा व्यावसायिक जीवनमा उत्रँदाका अनेक आयम उल्लेखलाई बडो रोचक ढङ्गले डा.उपाध्यायले यसमा प्रस्तुत गर्नुभएको छ ।

संस्मरणात्मक शैलीमा लेखिएको यस कृति चिकित्सका क्षेत्रका व्यक्तित्व, स्वास्थ सेवाग्राही र स्वास्थ्य सेवा पुर्‍याउने संघसंस्थाका लागि सङ्ग्रहणीय र पठनीय रहेको छ । कृतिका विषयमा पूर्व स्वास्थ्य सचिव रामचन्द्रमान सिंह भन्नुहुन्छ, ‘सकारात्मक सन्देशहरूले ओतप्रोत यो प्रेरणादायी ओजस्वी पुस्तक प्रकाशन गरेर डा.उपाध्यायले पाठक वर्गलाई ठूलो गुन लगाउनुभएको मैले महसुस गरेकी छु ।’ यस्तै, हृदयरोग निवारण प्रतिष्ठानका सदस्य, डा.प्रचण्ड प्रधान भन्नुहुन्छ, ‘अनुभव एवं रोचक लाग्ने घटनाहरूको वर्णनले यो पुस्तक पढ्न सुरु गरेपछि नसकी छोड्नै मन लाग्दैन । यी घटनाक्रमले कहिले तर्साउँछन्, कहिले हँसाउँछन् र कहिले अनुकरण गरूँ गरूँ लाग्ने बनाउँछन् ।’

त्यस्तै, डा.प्रकाश रेग्मी भन्नुहुन्छ, ‘लेखकको लेखनशैली उत्कृष्ट र चुम्बकीय छ । पुस्तक पढ्न थालेपछि छाड्न मन लाग्दैन । अन्तयन्तै सरल र रोचक भाषामा महत्वपूर्ण कुराहरू लेख्न सक्नु लेखकको विशेषता हो ।’ आफ्नो अनुभव र अनुभूतिमा स्रष्टा डा.उपाध्याय भन्नुहुन्छ, ‘कामको अनुभव भन्नेकुरा विश्वविद्यालयमा पढेर पाइने होइन, त्यसका लागि कार्य गर्नैपर्छ, ठक्कर खानैपर्छ । व्यवहारबाट प्राप्त हुने अनुभव भनेको आगोको भुङ्ग्रोमा पगालेर सुन्दर आकार दिइएको सुनजस्तै हो । यस्तै अनुभवहरूको सङ्गालोबाट अनुभूति एवं ज्ञानको सृजना हुन्छ । जुन जीवनोपयोगी पनि हुन्छ । मेरा यी अनुभव र अनुभूतिले वर्तमान समाज र भावी पुस्ताका लागि केही न केही उपयोगी सन्देश अवश्य नै दिनेछन् भन्ने मेरो विश्वास छ ।’

तत्कालीन सोभियत संघबाट चिकित्सा विज्ञानको मुटुरोग विधामा विशेषज्ञता हासिल गर्नुभएका डा.उपाध्यायले मुलुकको मुटुरोग उपचार सेवामा विशिष्ट योगदान पुर्‍याउनु भएको छ । उहाँले मुलुकको सबैभन्दा ठूलो वीर अस्पतालका अतिरिक्त भक्तपुर, उदयपुर, मेडिकियर, गङ्गालाल, सार्क हार्ट फाउण्डेसनमा संलग्न भई मुटुरोग उपचारमा सेवा पुर्‍याउनु भएको छ ।

भनिन्छ, केवल भन्ने र चियो गर्नेहरू इतिहासमा जहिल्यै हरूवा बनेका छन् भने जीत र विजयका निम्ति अहोरात्र खट्नेहरू, दृढ सङ्कल्प लिएर समयलाई समेत पराजित गर्न सक्ने साहसीहरू इतिहासका अङ्ग बन्ने गर्दछन् । यही कोटिमा आफ्ना सफलताका झाण्डा फहराउँदै समाजमा एक उदाहरणीय व्यक्तित्वका रूपमा आफूलाई स्थापित गर्नुभएका डा.उपाध्यालाई यस विशेष कृतिका लागि हार्दिक बधाई तथा शुभकामना । स्रष्टा डा.उपाध्यायको कलमले अझ नयाँ-नयाँ कृति जन्माओस् त्यसको हामीले रसस्वादन गर्न पाइराखौँ यही गीता कामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?