पुस्तक : नियात्राको अब्बल पुस्तक ‘याकजी’

सुशीला घिमिरे
Read Time = 15 mins

‘याकजी’ युवराज नयाँघरेको नियात्रा कृति हो । नेपाली साहित्यका केही सिमित नियात्रा कृतिहरूको लहरमा यो अग्रपंक्तिमा रहने पुस्तक हो । नेपाली साहित्यमा आधुनिक नियात्रा लेखनमा इलामका डा.तारानाथ शर्माको नाम अग्रपंक्तिमा आउँछ । इलामकै अर्का स्रष्टा युवराज नयाँघरे उहाँको यही मार्गलाई विस्तारित गर्दै अगाडि बढिरहनुभएको छ । नयाँघरेले ‘एकहातको ताली’ मा मदन पुरस्कार पाउनुभएको छ । नेपाली साहित्यका केही स्रष्टाहरू यस्ता पनि पाइएका छन् जो एक पटक राष्ट्रियस्तरको पुरस्कार पाएपछि आफ्नो लेखन यात्रालाई निरन्तरता दिँदैनन् ।

पुरस्कृति उक्त कृतिभन्दा स्तरीय लेख्न नसकिएला र साहित्य जगतमा लज्जित हुनुपर्ला भन्ने मनोवैज्ञानिक भय उहाँहरूमा पैदा भएको हुन सक्छ तर युवराज नयाँघरेले ‘एकहातको ताली’मा मदन पुरस्कार पाएपछि पनि आफ्नो लेखन यात्रालाई निरन्तर दिन डर मान्नु भएन । त्यसको परिणाम उहाँको ‘याकजी’ साहित्यकारहरू माझ आउन सकेको छ । युवराज नयाँघरे निबन्ध र नियात्रामा बढी रमाउँदै आउनुभएको छ । निबन्ध नेपालमा पश्चिमी जगतबाट भित्रिएको विधा हो । विचारलाई राम्ररी बाँध्नु वा थुन्नु निबन्धन गर्नु हो र यसरी बाँधेर वा थुनेर राखिएको विधा निबन्ध हो । निबन्ध भावमूलक विधा हो । यसमा पात्र र कथानकको अनिवार्यता हुँदैन ।

नेपालीमा निबन्धसँग सामन्जस्य राख्ने यसका उपविधा छन् प्रबन्ध, नियात्रा आदि । नियात्रालाई पहिले यात्रा निबन्ध भनिन्थ्यो । भ्रमणको विवरण यात्रा विवरणमात्र बन्छ गैरसाहित्यिक । तर, नियात्रा साहित्यको उम्दा विधा हो जो वर्तमान साहित्यिक जगतमा बेस्सरी फष्टाएको छ । वर्तमान समय यात्राको हो । यात्रा गर्नेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ र अहिले पढेलेखेका मानिसहरूको सङ्ख्या पनि बढेको हुनाले यात्रा गर्नेहरूले आफ्नो यात्रा बारे लेख्ने गरेका छन् । यसर्थ हालका दिनमा नियात्राका पुस्तकहरू धेरै लेखिएका छन् । कतिपयले रहरले लेखेका छन्, लहडमा लेखेका छन् तर लेखनलाई नै आफ्नो मूल धेय बनाएर लेख्नेहरू धेरै कम छन् ।

अरू नियात्राकारहरूले विभिन्न ठाउँको यात्रा गरेपछि ती विविधतालाई समेटेर नियात्राका पुस्तकहरू प्रकाशित गरेको पाइन्छ । नयाँघरे भने कुनै निश्चित ठाउँविशेषलाई मात्र एउटा कृतिमा समेट्नु हुन्छ । यो उहाँको मौलिक विशेषता हो । ‘याकजी’ पनि उहाँको निश्चित ठाउँ डोल्पाको यात्रापछि लेखिएको छ ।

यस्तै कम सङ्ख्याका लेखकहरूमा पर्नु हुन्छ युवराज नयाँघरे । उहाँ लेखनमै समर्पित बन्दै आउनु भएको छ । मूल धर्म, मर्म र कर्म उहाँ लेखनलाई नै बनाउँदै आउनु भएको छ । त्यसै कारण उहाँको ‘एक हातको ताली’ ले नेपालको प्रतिष्ठित मदन पुरस्कार पाउन सक्यो । मदनशमशेर राणाका नाममा उहाँकी धर्मपत्नी जगदम्बाले २०१२ सालमा स्थापना गर्नुभएको मदन पुरस्कार हालसम्म पनि निरन्तर छ । यति लामो समयको निरन्तरता मात्र पनि यसको गौरवको एउटा कारक हो । नयाँघरे यसका लागि पनि योग्य मानिनुभयो । गतिशील लेखक नयाँघरेलाई यसले अझै ऊर्जा थपेको छ र हालै सिर्जना हुन पुगेको छ ‘याकजी’ ।

रत्नपुस्तक भण्डार काठमाडौं यसको प्रकाशक रहेको छ भने पुस्तकको सर्वाधिकार लेखकमै छ । पुस्तकमा सुन्दर बस्नेतको आवरण छ । आवरण आकर्षक छ । पहाड र आकाशसमेत देखिने नीलो रङ्गको पृष्ठभूमि छ । तल बौद्ध परम्परामा ठाउँठाउँमा बनाइने मानेहरू छन् । माथि नीलो अक्षरमा यस पुस्तकका लेखकको नाम छ ‘युवराज नयाँघरे’ र बीचमा ठूला सेता अक्षरमा पुस्तकको शीर्षक
‘याकजी’ भनिएको छ । पुस्तक डिएमआई साइजमा छ । भूमिका खण्डमा आठ र पाठ्य खण्डका ३२० गरी पुस्तकमा ३२८ पृष्ठ छन् ।

पुस्तकको मूल्य ५९५ रुपैयाँ राखिएको छ । पृष्ठआवरणमा लेखक नयाँघरेको ठूलो फोटो र कृतिभित्रबाट उद्धृत गरिएको सानो पाठ्अंश दिइएको छ । तल प्रकाशक संस्था रत्नपुस्तक भण्डारको लोगोसहित नाम दिइएको छ र छेवैमा बारकोडसहित पुस्तकको मूल्य उल्लेख गरिएको छ । पुस्तकको छपाइ स्तरीय छ र अशुद्धिहरू कतै–कतैमात्र भेटिन्छन् । पुस्तकमा पहेंलो तौलरहित कागजको प्रयोग भएको छ । भूमिका खण्डमा प्रकाशक संस्थाको प्रकाशकीयबाहेक अरू कसैको कुनै विचार समावेश छैन । यसपछि नियात्राक्रम वा विषयसूची रहेको छ ।

पुस्तकमा २८ वटा नियात्राहरू समावेश छन् । यी नियात्राहरूको अध्ययनबाट नियात्राकार नयाँघरे नियात्रामा छोटो-छोटा शीर्षक राख्न रुचाउनुहुन्छ भन्ने देखिन्छ । उहाँका २८ वटामध्ये नौवटा नियात्रामा दुई शब्दको शीर्षक राखिएको पाइन्छ भने १४ वटा नियात्रामा तीन शब्दको शीर्षक राखिएको छ । बाँकी पाँचवटा नियात्रामा चार शब्दको शीर्षक राखिएको छ । एक शब्दको शीर्षक निबन्ध जस्तो देखिने भएको हुँदा नराखिएको हुनसक्छ र चार शब्दभन्दा माथिको शीर्षक पनि नियात्राका लागि सुहाउने खालको नहुने भएका कारण उहाँले दुई, तीन र चार शब्दका शीर्षकलाई छनौट गर्नुभएको छ । तर, पुस्तकको शीर्षकमा रहेको ‘याकजी’ पुस्तकभित्र कतै छैन ।

जङ्गबहादुरको बेलायत यात्राबाट सुरु भएको यात्रा विवरण आजका दिनसम्म आइपुग्दा निकै विकसित भइसकेको छ । त्यसबेला यस्ता यात्रा विवरणहरू विवरणात्मक मात्र हुने गर्थे तर पछि यस्तो लेखनलाई यात्रा निबन्ध भन्न थालियो । डा.तारानाथ शर्माका बेलायततिर बरालिँदा र पाताल प्रवासहरू लेखिएयता नियात्राका कृतिहरू नेपाली साहित्यमा सयौैँ लेखिएका छन् । युवराज नयाँघरेको भने आफ्नै प्रकारको मौलिक लेखनशैली छ । उहाँको फरक खालको भाषा, प्रस्तुति र अभिव्यक्ति पाइन्छ । उहाँ पूर्वेली झर्रा र मौलिक शब्दहरू प्रयोग गर्नुहुन्छ ।

अरू नियात्राकारले विभिन्न ठाउँको यात्रा गरेपछि ती विविधतालाई समेटेर नियात्राका पुस्तक प्रकाशित गरेको पाइन्छ । नयाँघरे भने कुनै निश्चित ठाउँविशेषलाई मात्र एउटा कृतिमा समेट्नु हुन्छ । यो उहाँको मौलिक विशेषता हो । ‘याकजी’ पनि उहाँको निश्चिथ ठाउँ डोल्पाको यात्रापछि लेखिएको छ । उहाँले नेपालको पश्चिम पहाडी डोल्पा जिल्लाको एक महिने यात्रा गर्नु भएपछि यो पुस्तकको लेखनकार्य गर्नुभएको हो । यस पुस्तकले सो जिल्लाको त्यसमा पनि अपर डोल्पा वा उपल्लो डोल्पाको चित्र उतारेको छ ।

नेपालका धेरै ठाउँ अत्यन्त विकट छन् र त्यहाँको जनजीवन बडो कठिनताका साथ गुज्रिरहेका छन् । त्यसको एउटा नमुना डोल्पा पनि हो । उहाँले डोल्पा जस्तो देख्नुभएको छ त्यस्तै लेख्नुभएको छ । उपल्लो डोल्पाको धर्म, परम्परा, संस्कृति यस पुस्तकमा उतार्नुभएको छ । त्यहाँ बोन धर्मको प्रभाव छ । बुद्ध धर्मसँग मिल्दोजुल्दो भएर पनि कति कुरा बोनधर्मका आफ्नै खालका छन्, फरक छन् । उपल्लो डोल्पामा बहुपति प्रथा छ । त्यहाँ गुम्बाहरूको संख्या धेरै छन् र ती निकै प्राचीन पनि छन् तर ती संरक्षणको अभावमा त्यसै जीर्ण भइरहेका छन् । सरकारको यसतर्फ ध्यान पुग्न सकेको छैन । तिनको जीर्णोद्धार गर्ने हो भने हाम्रा यस्ता प्राचीन सम्पदाहरूले पर्यटकलाई आकर्षित गर्न सक्ने थिए ।

तर, वास्तवमा यहाँ सरकारको उपस्थिति नै नभएको जस्तो देखिन्छ भन्ने पुस्तकले सूचित गर्न चाहेको छ । अर्को यहाँको यार्सा संस्कार पनि हो यार्सा वा यार्चा सङ्कलनबाट त्यहाँका मानिसहरूले केही आर्जन गरेका छन् । तर यसरी यार्सा सङ्कलन गर्नु निकै जोखिमपूर्ण पनि छ ।

त्यहाँको चरम गरिबी, अस्तव्यस्त गुम्बाहरू जस्ता विषय यस पुस्तकमा चित्रण भएका छन् तर त्यहाँ अभाव, गरिबी र अस्तव्यस्तता मात्र नभएर प्रकृतिको अनुपम छटा, सुन्दर हिमाल र सेफोक्सोण्डो ताल पनि छन् । यस पुस्तकमा हिमाल, वनजङ्गल, तथा सेफेक्सोण्डो तालको सुन्दरताको चित्रण भएको छ ।

यौनबद्र्धक बुटीका रूपमा मानिएको यार्सा सङ्कलन गर्न जाँदै लुटिनु, कुटिनु र ठगिनु परेका धेरै उदाहरण पाइन्छन् । यसको सङ्कलनमा यहाँका मानिसहरू जुटेका हुन्छन् । खेतीपातीतर्फ भन्दा यार्सातर्फ उनीहरू आकर्षित छन्, खेतीपातीबाट भन्दा केही परिमाणमा मात्र सङ्कलन गर्न सकिए मात्र पनि यार्साबाट राम्रो आम्दानी हुनसक्छ । पुस्तकले यसलाई पनि देखाएको छ । यहाँको खुर्सानी, फापर, गहुँ, जौ, उवा र आलु खेतीको चित्रण भएको छ ।

खच्चरलाई भारी बोकाउने र लामो बाटोसम्म यसैलाई ढुवानीको साधन बनाउने, भरियाहरू, गाइड, भान्से, शेर्पाहरूको यिनै खच्चर, स्याहार्दै र पर्यटकहरूको गाइड र सेवक बन्दैमा समय बितिरहेको छ जुन कुराको चित्रण यस पुस्तकमा भएको छ । त्यो एउटा सिंगो ठाउँ र यथार्थतालाई उतारेर छायाङ्कन गरेको चलचित्र जस्तो छ यो पुस्तक । त्यतातिर गाइने दुःख र विरहका गीतहरू पनि उहाँले यहाँ दिनुभएको छ । प्रायः रात पालमा बित्ने भरिया र पर्यटन व्यवसायको सग्लो चित्र छ यस पुस्तकमा । स्थानीय भाषा र शब्द अनि नयाँघरेका आफ्ना मौलिक शब्दको मिश्रण छ पुस्तकमा । कतिपय शब्दहरू नामधातुबाट उहाँ आफैँले निर्माण गर्नुभएको छ जो बोलीचालीका शब्दभन्दा भिन्न छन् । नयाँघरे माथिल्लो डोल्पामा चीनको प्रभाव देख्नुहुन्छ ।

त्यहाँको चरम गरिबी, अस्तवयस्त गुम्बाहरू जस्ता विषय यस पुस्तकमा चित्रण भएका छन् तर त्यहाँ अभाव, गरिबी र अस्तव्यस्तता मात्र नभएर प्रकृतिको अनुपम छटा, सुन्दर हिमाल र सेफोक्सोण्डो ताल पनि छन् । यस पुस्तकमा हिमाल, वनजङ्गल, तथा सेफेक्सोण्डो तालको सुन्दरताको पनि चित्रण भएको छ । उहाँको यस पुस्तकले बडो कठिनताका साथ पर्यटन व्यवसाय सञ्चालन गर्नेहरूको मिहिनेत र परिश्रमलाई देखाउन चाहेको छ ।

यो पुस्तक देश-विदेश सबैतिर पुगेको छ । नेपाली साहित्यको स्तरीय कृतिहरूमध्ये यस पुस्तकले पनि अग्रणी स्थान ओगटेको छ भने नियात्राका कृतिहरूमध्ये त यो कृति निकै अग्रस्थानमा छ । यो पठनीय र सङ्ग्रहणीय पुस्तक हो । यसले अझै सफलता प्राप्त गर्दै जाओस् । पुस्तकको सफलताको कामना तथा कृतिकार युवराज नयाँघरेलाई हार्दिक बधाई । एकजना सफल साहित्यिक सर्जकको सिर्जनाकर्म रोकिने कुराको कल्पना गर्नु अन्यथा हुनजान्छ । त्यसकारणले उहाँबाट यस्ता अनेकौं कृति नेपाली साहित्यले अपेक्षा गर्नु स्वाभाविक हुन्छ । यसका लागि नेपाली साहित्यका अग्रणी लेखक युवराज नयाँघरेलाई अग्रीम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?