भत्किँदै किल्लाहरू कथासङ्ग्रहको लीलाबोधी विश्लेषण-३

गत ६ गतेको अङ्कबाट क्रमशः
एलबमको एउटा चित्र : मिलिन्दा
हजारौं विचारका बत्तीहरू बल्न सक्ने स्वतन्त्रता हुनुपर्छ (पृ. १०७) । सत्य पनि अभिनय सत्य हो रहेछ (पृ. १०८) । म कठपुतली हुँ मेरो चेतनाको (पृ. ११०) । एड्स मान्छेभन्दा ठूलो समस्या होइन (पृ. १११) । आडम्बर बोकेर हिँड्ने गिद्धहरू नै पहिले चिहाउँछन्, श्यालहरूसँग । तिनको निम्ति मिलिन्दा होइन । जबरजस्त प्रतिक्रिया हो । तिनकै गालामा थप्पड दिने एउटा थप्पड हो । मिलिन्दा अझै योगीको भेषमा घिस्रिँदै आउने सडेको, कामपिपासु बेसुल्लो छद्मयुगको अन्तको घोषणा हो (पृ. ११२) । मेरी मिलिन्दासँग मैले काँध जोडेको यो चित्रमात्र मेरो एल्बममा रहने छ । यसको एकप्रति मलाई सिस्नो लगाउने गुरुदेवलाई म पठाउने छु (पृ. ११२) ।

परम्परामा जकडिएर बसेको कुरूप अन्धविश्वास र आडम्बरको संसारकाप्रति कथाकारको विद्रोहको अभिव्यक्ति यो कथामा भएको छ । प्रेममय जीवनमा अपराध, व्यभिचार र छाडापन देख्ने, जीवनका वास्तविकताहरू, अपरिहार्यता र प्रेमिल स्पर्शहरूलाई अपराध ठान्ने घिनलाग्दो अनुशासनका व्याख्याताहरू जो आफू स्वयं आमाको थान्कामा पुगेकी पत्नीसँग निरन्तर यौनकुण्डमा डुबेर आफूलाई अनुशासित, मर्यादित र निष्ठावान् मान्ने तथाकथित गुरुहरूका अविवेकी व्यवहार र दण्ड सजायप्रतिको घोर असहमति यो कथामा प्रकट भएको छ । हावाको, पानीको, उज्यालोको, प्रेमको, जीवनको स्वाभाविक गतिलाई अवरोध गर्ने र रोक्ने कुचेष्टा गर्ने तर आफू घोर आडम्बरको शिकार बनेको समाज, सभ्यता, गुरुकूल र कथित ज्ञानको साँघुरो घेराप्रतिको असन्तुष्टिको विद्रोहमा यो कथा अडेको छ ।

जीवनमा आफ्नो हितको पक्षमा निर्णय गर्ने स्वतन्त्रता सबैका हुन आवश्यक छ । सत्यलाई सत्यको अनुरूप व्याख्या गरेर सत्यमाथि आशङ्का नगर्ने गरी सत्यको उपयोग हुन आवश्यक छ अनि मानिसमा उत्पन्न विचार, दृष्टिकोण र धारणाको समस्या बाहिरबाट आइलाग्ने एड्सजस्ता रोगहरूभन्दा पनि घातक छ ।

हामीले मानेका र उचित ठानेका मानिएका हाम्रा नीति, दर्शन र वेद वाक्यहरू जसको समुचित व्याख्या र प्रयोग भएन । तिनलाई आफ्नो स्वार्थ अनुकूल व्याख्या गरियो, आफ्नै आडम्बरलाई मलजल गर्ने साधनका रूपमा उपयोग गरियो, त्यो परम्पराका सीमाहरू औंल्याइएको यो कथा युग र जीवनलाई नयाँ ढङ्गले बुझ्नु आवश्यक भन्ने सन्देश प्रवाह गर्न लेखिएको छ । जीवनमा आफ्नो हितको पक्षमा निर्णय गर्ने स्वतन्त्रता सबैका हुन आवश्यक छ । सत्यलाई सत्यको अनुरूप व्याख्या गरेर सत्यमाथि आशङ्का नगर्ने गरी सत्यको उपयोग हुन आवश्यक छ अनि मानिसमा उत्पन्न विचार, दृष्टिकोण र धारणाको समस्या बाहिरबाट आइलाग्ने एड्सजस्ता रोगहरूभन्दा पनि घातक छ ।
मानिस विचारले कठपुतली बाँच्नु हुँदैन भन्ने चिन्तनमा यो कथा केन्द्रित रहेको छ । कठपुतलीका मन छ, मनले सोच्न सक्छ तापनि हामी कठपुतली हौं (राई, कठपुतलीको मन) । हामीलाई नचाउने अर्कै छ, हामीले आफूले जानेकोलाई पूर्णजानेको भ्रम पालेका छौँ, त्यसभन्दा पूर्ण अर्को ज्ञान पनि सँगसँगै छ ।

तामा :
तामा खानु एउटा पर्व मनाउनु हो, सभ्यता र संस्कृतिको परिचय दिनु हो । तामा खानु सान, सौकात र खानदानी रवैया प्रस्तुत गर्नु हो भन्ने एकथरी परम्परागत अहं त्यसैको छायाँमा परेर आफू हेपिएको, अपमानित भएको ठान्ने अर्को मानसिक दासत्व र दासबाटको विद्रोहको चेतनाको प्रतीक बनेको छ तामा । मानौं ठूलै उत्सव मनाइएको छ नि भन्ने गरेर पकाइएको तामा खाँदा पिरोले रन्थनिएर खाएको नखाएै बनाउँदा पनि तामा खानुको गौरव बोधले केटाकेटीहरू मख्ख भएको अवस्थाको कलात्मक प्रस्तुति कथामा भएको छ ।

ज्यादै सामान्य कुरा पनि अहंकारको विषय बनेपछिको मनोविज्ञान कथामा भएको छ । बालकहरू परिवारमा प्रतिष्ठाको लडाइँका कारण बन्न पुग्छन् । सामान्य विषय पनि विशिष्ट बन्न जान्छ भन्ने कुरा कथामा जीवन्त भएर आएको छ । सामान्यमा विशिष्टको भ्रम छ । आत्मपरकता छ । नोस्टाल्जिया छ ।

युगको आकार :
हामी पूर्वीय सभ्यता र संस्कृतिलाई मान्नेहरूका आफ्ना मान्यताहरू छन् । हाम्रा मान्यताहरू नै हामीलाई राम्रा हुन् भन्ने लागेको छ । त्यो मात्र होइन हाम्रै मान्यता नै अरुले पनि पालन गरेको भए हामीलाई राम्रो लाग्ने हाम्रो मानसिकता छ । मान्यता आफ्ना साथसाथै लिएर हिँड्ने हामीहरू कहीँ संस्कारले, कहीँ संस्कृतिले, कहीँ राष्ट्रिय परम्परा र परिवेशले बाँधिएका छौँ र आफ्नो लागेका धारणाहरूले बाँचेका छौँ । तर, युगको अनुहार हामीले देखेजस्तो, हामीले मानेजस्तो र हामीले चाहेजस्तो मात्र छैन । युगको आकार ठाउँअनुसार फरक फरक छ । उनीहरूका अनुसार राम्रो छ, हामीलाई हाम्रो राम्रो लागे जस्तै छ । जब भिन्न आकारको युगको दर्शन गर्ने अवसर आइपर्छ त्यो बेला हाम्रा धारणाहरूलाई ठाउँअनुसार परिवर्तन गरेपछि मात्र त्यसलाई स्वीकार गर्न, सहज पार्न र आफ्नो पार्न सकिन्छ ।

यदि आफ्नै दृष्टिकोण अनुसारमात्र हेर्न खोज्यौँ भने त्यहाँबाट देख्नुपर्ने कुरा देख्न सकिँदैन र युग बुझ्न पनि सकिँदैन । त्यसैले युगको भिन्न भिन्न र नयाँ नयाँ आकारमा आफूलाई ढालेर हेर्न, बुझ्न र भोग्न आवश्यक छ । युगको आकारमा आउने मिलिन्दाहरू नै हाम्रो पनि देशका भोलिका अनुहारहरू हुनसक्ने वास्तविकतालाई, परिवर्तनलाई अङ्गीकार गरेर हिँड्नु नै युगको आकार बुझ्नु हो भन्ने कथाको सन्देश रहेको छ । युगका धेरै आकारहरू छन्, हामीले देखेका आकार हाम्रो हेराइको आकार हो, अर्को हेराइबाट अर्कै आकार देखिन्छ । यो रूपहरूकै खेल हो (धरावासी (सम्पा.) २०५९, पृ. ४) ।

कथा सकियो :
जनताको रक्षक भनेकालाई कसैले दुश्मन ठान्नु, दुश्मन ठानेकालाई रक्षक ठान्नु, यो ज्यादै विडम्बनापूर्ण यथार्थलाई उद्घाटन गरिएको कथा हो । जीवन र जगत्सँग जोडिएको ऊ, उसकी स्वास्नी र दुई महिने बालिकाको जीवनको कथाको अन्त्य भएको त्रासदीपूर्ण घटनाको सङ्केत कथामा गरिएको छ । जनताको मुक्तिका निम्ति भनेर थालिएको युद्धको दोहोरो चपेटामा परेका दम्पतीको जीवनको कथा समाप्त भएकाले कथा सकिएको प्रतीकात्मक सङ्केत गरिएको यो कथामा जनताका रक्षक भन्नेहरू र जनताका दुश्मन भनिएकाहरू दुवै पक्षले उनीहरूलाई नै लक्ष्य गरेर दिइएको यातना अत्यन्त कठोर र करुणाजनक छ ।

आतंककारीलाई प्रश्रय दिएको अभियोगमा सरकारी सेनाले अनि सेनाको सुराकी गरेको अभियोगमा जनसेनाले यातना दिएर कथा समाप्त गरिएको दर्दनाक कथा यहाँ चित्रण गरिएको छ । कथाको अन्त्य भएपछि न्याय र अन्यायको पनि कथा अन्त्य हुने विडम्बनापूर्ण यथार्थलाई यो कथाले कटाक्ष गरेको छ ।

जनता जनार्दन :
समकालीन राजनीतिप्रति व्यङ्ग्य गरिएको यो कथामा जनतालाई भाँडो बनाएर जनताका भावना र विश्वाससँग खेलबाड गरिएको अवस्थाको चित्रण गरिएको छ । जनताको नाममा राजनीति गर्ने, जनतालाई आफ्नो स्वार्थ सिद्धिको माध्यम बनाउने, जनताको सोझो र इमान्दार चरित्रको फाइदा उठाएर राजनीतिको नाममा गद्दारी गर्ने मन्त्री र युवा नेताहरूको चरित्रलाई उदाङ्गो पारिएको छ । जनताको जनार्दनपन माथि खेल्ने भ्रष्ट नेताको असली रूपको पर्दाफास गराएर जनताको जनार्दनपनसँग खेलबाड नगर्न नेताहरूलाई खबर्दारी गर्न खोजिएको छ । जे होइन त्यो हो जस्तो देखिएको छ, जे हो त्यो होइन जस्तो देखिएको छ । राजनीतिबाट केही प्राप्त हुन्छ भन्नु भ्रम मात्र हो ।

फूल :
यो प्रतीकात्मक कथा हो । फूल प्राकृतिक वनस्पतीसँग पुष्पा (नारी) छोरीको यौवन दाँजिएको छ । भर्खर कोपिलाबाट एक चरण माथि उठेको र पूर्ण रूप र आकारमा आएर सौन्दर्य र सुगन्ध प्रसारण गर्न केही समय बाँकी छ भन्ने बाबु आमा (माली) को पूmलप्रतिको आफ्नो बुझाइ रहेको छ । उनीहरू आफ्नो बगैंचाको फूलमा अझै आफ्नी छोरीमा पनि त्यही धारणा राख्दैछन् तर फूलले आफ्नो स्वाभाविक धर्म दिइसकेको र देखाइसकेको भन्ने फूल (छोरी) को विचार छ । उनीहरूको यही विचारको दूरीका बीचको बुझाइकै क्रममा छोरीमा परिपूर्णताको सङ्केत प्राप्त हुन्छ ।

छोरीको कोठाबाट नवयुवक पुरुष बाहिरिएपछि फूल पूर्णरूपले फुलिसकेको र आफ्ना मान्यता र धारणाहरूको जालोले देख्न नसकिएको यथार्थको पटाक्षेप भएपछि सबै धारणा र भ्रान्तिहरू भेटिएका छन् । यस कथाले समयको सन्देश र सूचनालाई यथासमयमा बुझ्न आवश्यक छ । हामीले हाम्रा आँखाले हेरेको सत्यमात्र पूर्ण होइन देख्न नसकेको सत्य पो जीवन्त सत्य रहेछ भन्ने सन्देश प्रवाह भएको छ । सत्यहरू बहुल हुन्छन् भन्ने लीला विचार यहाँ प्रकट भएको छ (उप्रेती, २०६८, पृ. १२६) । हाम्रा आँखाले देखेको सत्य, एकाङ्गी छ, सत्य अर्को पनि छ, हामीले हाम्रो तर्फको मात्र बुझाइ बुझ्दछौँ, हामीले नजानेको, थाहा नपाएको हाम्रो ज्ञानले नभेटेको अर्को सत्य छ जुन उत्तिकै बलियो छ ।

प्रजातन्त्र :
प्रजातन्त्रलाई यहाँ व्यङ्ग्यको रूपमा लिइएको छ । परिवर्तनको पक्षधर र पुरानै परम्पराका पक्षपातीका बीचमा द्वन्द्व छ । प्रजातन्त्र घर, गाउँ, टोल र समाज भँडाउने माध्यम बनेको छ भने प्रजातन्त्रलाई जसरी राम्रो निम्ति प्रयोग गर्न सकिन्छ, त्यसरी नै नराम्रोको स्वार्थसिद्धिमा पनि प्रजातन्त्र अचानो बनेको अवस्था छ । वर्षौंदेखि समाजमा जरा गाडेर बसेको कथित शान्तिवादी समाज र त्यसका नाइके भू.पू.मुखिया बाहरूको राजनीतिको जालो शक्तिशाली छ । आफैँले उपयोग गरेको जुनेली सर्किनीको पेट बढेको घटनामा क्रान्तिकारीलाई बात लगाएर, आफ्नो अपराधको भारी क्रान्तिकारीको पिठ्युँमा बोकाइदिन पनि प्रजातन्त्र नै अश्त्र बन्यो ।

जीवन कति धेरै विरोधाभासले चलेको छ । हामीले बुझेको भनेको धारणा बुझेका रहेछौं त ? धारणा भ्रम हो । यथार्थ, अज्ञेय र अठम्याइने हुँदो रहेछ र हामी भ्रम लेख्दा रहेछौँ भन्ने लीलाबोधी चिन्तन यहाँ पनि चरितार्थ भएको छ ।

क्रान्तिकारी पार्टीले सर्किनीको बात खेप्न बाध्य भयो भने शान्तिवादी पार्टीका हातमा पुन सत्ता पुग्यो । यसरी प्रजातन्त्रलाई नै खेलौना बनाएर खेलिने चुनावको खेल ज्यादै प्रत्युत्पादक बनेको अवस्था देखाएर प्रजातन्त्रलाई आफ्नो अनुकूल पार्ने राजनीतिको पुरानै कुटिल चरित्रलाई यहाँ उदाङ्गो पार्ने प्रयत्न भएको छ । आज पनि हाम्रो प्रजातन्त्र बातको अभियोग बेहोर्न र भू.पू.हरूलाई अधिकार सुम्पिने माध्यम बन्ने विडम्बना यथावत् रहेको प्रति कथाकारले व्यङ्ग्य प्रहार गरेका छन् । व्यङ्ग्य छ, हामीले जानेको भनेको हाम्रोतर्पmको बुझाइ हो, राजनीति खेल हो, शान्तिवाद आफैँमा भ्रमको खेती हो । मान्छेको अन्धताशक्ति र अन्धता लीला यहाँ प्रकट भएको छ (लीलासूत्र १६) ।

प्रेमपीडा :
फिलिपिनी संस्कृति र विवाहको परम्परासँग जोडिएको यो कथा जीवनलाई नयाँ आँखाले हेर्नु पर्ने प्रस्तावना हो भन्न सकिन्छ । आ-आफ्नै परम्परा र संस्कृतिलाई आफ्नोपन मान्ने हाम्रो परम्परागत धारणा एकातिर छ भने समयले निम्त्याएका नयाँ सम्भावनासँग काँध मिलाएर हिँड्नुपर्ने अर्को आवश्यकता पनि सँगै छ । विवाहको पार्टीमा भोलि हुने आफ्नै स्वास्नीसँगसँगै नाच्न आग्रह गर्ने परम्परामा हाम्रो विद्यमान चेतनाले के आदेश दिन्छ भन्ने भिन्न संस्कृतिको द्वन्द्व एकातिर छ भने हामीले कति ठूला भ्रान्तिहरूलाई आफ्ना बनाएर राखेका छौँ भन्ने सत्यको बोध अर्कोतिर छ ।

सबैभन्दा आकर्षक, मोहक र प्रिय लागेकी भनिएकी नर्तकी (नायिका) नै हिजडा भएको रहस्योद्घाटनले हामी कति धेरै हिजडा जीवन बाँचिरहेका रहेछौँ । हामी हाम्रो सीमाको ज्ञानले मात्र परिचालित छौँ । हाम्रा ज्ञानहरू यस्तै हिजडा चेतना जस्तै क्षणक्षणमा पुनर्विचार गर्नुपर्ने कति होलान् । हामीले त्यो यथार्थलाई बुझ्न बाँकी छ । हिँड्ने बेलामा मोर्नालिनले नभनिदिएकी भए मिस्टर डिनले स्वीकार गरेकी नर्तकी सधैंको निम्ति कति प्रिय प्रेमिका रहने थिई । हो यही भ्रान्तिलाई हामीले जीवनको सत्य ठानेका छौँ र अन्त्यमा आफ्नो हिजडाबोधको चेतनाले रिँगटा लागेर तर्सिइरहेका छौँ भन्ने उद्घोष यो कथाबाट भएको छ ।

जीवन कति धेरै विरोधाभासले चलेको छ । हामीले बुझेको भनेको धारणा बुझेका रहेछौँ त ? धारणा भ्रम हो । यथार्थ, अज्ञेय र अठम्याइने हुँदो रहेछ र हामी भ्रम लेख्दा रहेछौँ भन्ने लीलाबोधी चिन्तन यहाँ पनि चरितार्थ भएको छ । भ्रान्तिको बोध, असत्यमा सत्यको भ्रम, रूपहरूको खेल, रूपलीला (धरावासी (सम्पा.) २०५९, पृ. ४) यहाँ प्रतिबिम्बित छ । क्रमशः

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?