बाँदरबिरुद्ध धादिङका किसानहरू आन्दोलनमा

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । बाँदरले मकै सखाप पारेपछि धादिङको नीलकण्ठ नगरपालिका-९ मुरलीभञ्ज्याङका किसानहरू बाँदरविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

बाँदरले मकै लगायतका अन्नबाली सखाप पारेपछि क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । बाँदरले नष्ट गरेको मकैको बिरुवाको माला लगाएर किसानहरूले धादिङबेशीमा नारा लगाउँदै सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

पीडित किसानहरुले कृषी मन्त्री राजिनामा दे, अन्नबालीको क्षतिपूर्ति दे, बाँझो बारीको कर तिर्दैनौ, बाँदरले खाएपछी हामी के खाने भन्ने जस्ता नारा लगाएका छन् ।

किसानहरूले बाँदर आतंक नियन्त्रण गर्न कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालयलाई अनुरोधसमेत गरेको छ । बाँदर बस्तीमा प्रवेश गरेर अन्नबालीमा क्षति गरेपछि स्थानीय समस्यामा परेका छन् ।

बाँदरले खेतबारीमा मात्रै नभएर घरमा राखेको अन्नबालीमा समेत क्षति गरेको नीलकण्ठ नगरपालिका- ९ का तिलप्रसाद लम्सालले बताउनुभयो ।

लम्साल भन्नुहुन्छ, खेतबारीमा लगाएको ‘मकैमा चमरा लाग्न सुरु भैसकेको छ । तर, एउटै बोट बाँकी नहुने गरी बाँदरले सखाप पारिदिएको छ । अब के गर्ने माघ फागुन महिना भरीको दुख खेरा गयो । खेतीबाट केही आउला खाउँला, छाक टारौँला भन्ने आशा थियो त्यो आशा आशा मै वित्यो ।

बाँदरबाट आजित किसानले बर्षेनी सरोकारवालालाई जानकारी गराउँदा पनि किसानको माग सुनुवाइ नभएको र समस्या ज्यूँका त्यूँ भएको लम्सालको भनाइ छ । नीलकण्ठ नगरपालिका-९ कै नवराज दुवाडीले बाँदर आतंककै कारण कतिपय ठाँउमा खेतीयोग्य जमिननै बाँझो राख्नु परेको गुनासो गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?