नीति तथा कार्यक्रमलाई आलोचनाको दृष्टिकोणले मात्रै नहेर्न कांग्रेस प्रमुख सचेतकको आग्रह

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई आलोचनाको दृष्टिकोणले मात्रै नहेर्न विपक्ष दलका सांसदहरुलाई आग्रह गर्नु भएको छ ।

शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै उहाँले सरकारमा रहँदा राम्रो देख्ने र नरहँदा देश अन्धकारमय देख्न नहुने पनि पटकपटक दोहो¥याउनु भयो । प्रमुख सचेतक लेखकले सरकारको नीति तथा कार्यक्रम सही विश्लेषणको साथ आएको उल्लेख गर्दै त्यसको कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति कटाक्ष गर्दै पानी जहाज चढने स्वार्गानुभूति गरेको तर त्यो कार्यान्वयन हुन नसकेको स्मरण गराउनु भयो । प्रमुख सचेतक लेखकले सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा आफ्नो पार्टीले मतदान गर्ने जानकारी समेत दिनु भयो ।

उहाँले भन्नु भयो, ‘सरकारको नीति तथा कार्यक्रमले अजको स्थितिलाई विश्लेषण गरेको छ । जानुपर्ने गन्तव्यलाई निर्धारण गरेको छ । र, त्यहाँसम्म पुग्ने साधनको उचित व्यवस्था गरेको हुनाले म आग्रह गर्न चाहन्छु–नेपाली काँग्रेस पार्टी, नेपाली काँग्रेस संसदीय दल यो नीति तथा कार्यक्रमलाई स्विकार गर्दछ । समर्थन गर्दछ । र, आज यसमा हुने मतदानमा नेपाली काँग्रेस संसदीय दल यसको पक्षमा मतदान गर्छ । म यो आग्रह गर्न चाहन्छु । हामीले १५ घण्टा भन्दा बढि छलफल गरेको छौं सम्माननीय सभामुख महोदय । आलोचनाको कोण, समालोचनाको कोणबाट, समर्थनको कोणबाट यसमा धेरै विचारहरुको अभिव्यक्ति भएको छ । म के आग्रह गर्न चाहन्छु भने यो सम्मानित सदनमा बस्दैगर्दा झण्डै मैले पनि डेढ दर्जनजति नीति, कार्यक्रम सुन्ने, पढने मात्रै होइन, भोग्ने अवसर पनि प्राप्त गरेको छु । म के आग्रह गर्न चाहन्छु भने भाषिक रुपमा लेखनमा केही फरकहरु भएपनि आधारभूत रुपमा हाम्रा नीति, कार्यक्रमहरुमा धेरै फरक हुने गरेको छैन । कोभिडका विषयहरु भएका बेला यस्तले महत्व पाउँला । भूकम्प भएका बेला त्यसको विषयले महत्व पाउँला । आर्थिक मन्दी भएको बेला त्यो विषयले महत्व पाउँला । होइन भने आधारभूत रुपले धेरै फरक र परिवर्तनहरु हुँदैन । तथापि यसा आलोचना, प्रत्यालोचना भएका छन । कुन नीति, कार्यक्रम, कुन भाषा, कुन शैली, कुन शब्द र कुन आशय, अर्थमा लेखिएको छ भनेर मात्रै हेर्नु भन्दा पनि हामीले ती नीति, कार्यक्रमहरुलाई लागू गर्नका लागि, कार्यान्वयन गर्नका लागि कति प्रयत्न ग¥यौं ? कति कार्यान्वयन भए ? यसमा जान आवश्यक हुन्छ भन्ने आग्रह गर्न चाहन्छु । सम्माननीय सभामुख महोदय, यो निबन्ध प्रतियोगिता होइन । कुन दस्तावेजमा के लेखिएको छ । कसले कति राम्रो भाषा लेखिएको छ । यो निबन्ध प्रतियोगिता होइन । बरु यथार्थमा यसको कार्यान्वयन महत्वपूर्ण विषय हो । कतिपय नीति, कार्यक्रमहरु पढदा स्वर्गानुभूति हुन्छ । मृत्यु पछिको स्वर्ग होइन सभामुख महोदय । जीवन भित्रकै स्वर्ग । म त महाकाली नदी किनाराको मानिस । एक पटकको नीति, कार्यक्रम पढदा मलाई स्वर्गको अनुभूति भयो । नीति, कार्यक्रम पढदै थिएँ । कञ्चनपुर जिल्लाबाट पानी जहाज चढेर डडेलधुरा हुँदै बैतडीभएर दार्चुला पुग्ने अनुभूति मैले गरेँ । मलाई बडो स्वर्गको अनुभूति जस्तो भयो । पानी जहाज पनि चानचुने होइन । नर्वेजिएन जस्तै होला भन्ने अनुमान गरेँ । यो नीति, कार्यक्रम त्यो दिन म झस्यांग भएर हाम्रो वास्तविकता र यथार्थको धरातलमा झरेँ । जुन दिन त्यो महाकाली नदीमा म जस्ता मानिसहरु पानीजहाज चढेको होइन । जयसिंह धामीृ त्यही महाकाली नदिमा तुईनमा झुण्डिएर मरे । महाकाली नदीमा नर्वेजियन क्रूमा यात्रा र त्यही तुईन चुडिएर मानिस मर्नुका बीचको अन्तर त्यो खाडल हो हाम्रो यथार्थता । हामी बोल्छौं तर त्यो साँच्चीकै कार्यान्वयन कति भएको छ ? सम्माननीय सभामुख महोदय, म बडो आदरपूर्वक भन्न चाहन्छु–२ मिटर दुरीको समस्या छ । सम्माननीय सभामुखज्यूको आसनको दाहिनेतर्फको छेउको कुर्सीमा बस्दा यो देश झिलिमिली देखिन्छ । सबै कुरा राम्रो देखिन्छ । सबै कुरा गज्जव हुन्छ । तर, समय, परिस्थिति, संयोगले त्यो कुर्सी २ मिटर उता गएर अर्को कुर्सीमा बस्नुपर्दा यो देश अन्धकारमय देखिन्छ । यो मानसिकता र मनस्थितिबाट मुक्त यदि हामी हुन सकेनौं भने नीति तथा कार्यक्रमलाई जतिसुकै राम्रो निबन्धमा लेख्न सकेपनि त्यो कार्यान्वयन हुन सक्दैन । नेपाली जनतासँग पुग्न सक्दैन । यो आग्रह गर्न चाहन्छु । हामीले धेरै कुराहरु ग¥यौ । धेरै राम्रा निबन्धहरु नीति, कार्यक्रममा लेख्यौं । हामीले काठमाडौंमा एकैबटम थिचेर ५३ वटा अस्पताल खोल्यौं सभामुख महोदय, नीति, कार्यक्रममा । आज म आग्रह गर्न चाहन्छु–कति नेपाली जनताले त्यो अस्पतालमा उपचार पाईरहेका छन ? कति भवन बनेको छन, कति मानिसहरुले काम गरिरहेका छन ? त्यसकारण नीति, कार्यक्रममा लेख्दा मात्रै सबै कुरा हुँदैन सभामुख महोदय ।’

प्रमुख सचेतक लेखकले आफू सरकारमा रहँदा देश झिलिमिली देख्ने, विपक्षमा रहँदा देश अन्धकारमय देख्ने दृष्टिले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा जान नसक्ने समेत बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?