काठमाडौं । अमेरिकी तीव्रगतिका बलर तथा अनुभवी खेलाडी अली खानले आगामी महिना जिम्बाबेमा हुने विश्वकप छनोटमा नेपालविरुद्ध खेल्न नपाउने हुनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को प्रतिबन्धका कारण उहाँले नेपालविरुद्ध खेल्न नपाउने हुनुभएको हो ।
अघिल्लो महिना नामिबियामा सम्पन्न आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा जर्सीविरुद्ध सात विकेट लिँदै सनसनी मच्चाए पनि खेल भावनाविपरीत कार्य गरेपछि आइसिसीले उहाँलाई दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धका कारण उहाँले नेपालविरुद्ध खेल्न नपाउने भएपछि नेपाललाई केही राहत हुनेछ ।
अमेरिकाले पहिलो खेल १८ जुनमा वेस्टइण्डिजसँग खेल्नेछ । त्यसपछि २० जुनमा नेपालसँग खेल्ने कार्यक्रम छ । यी दुवै खेल अलीले गुमाउनुहुनेछ ।
अली खान अमेरिकाका तीव्रगतिका बलर हुहुन्छ । ३२ वर्षीय उहाँले १२ ओडिआई खेलमा ३० विकेट लिनुभएको छ ।
अमेरिकाले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट खेल्ने १४ सदस्य टोली घोषणा गरिसकेको छ । अमेरिकी टोलीमा मोनांक पटेल (कप्तान तथा विकेटकिपर), आरोन जोन्स (उपकप्तान), शयान जहाँगिर, नोस्थुश केंजिगे, अली खान, सुशान्त मोदानी, साई मुकामल्ला, सौरभ नेत्रवालकर, अभिषेक परादकर, निसर्ग पटेल, कायल फिलिप, उस्मान रफिक, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर हुनुहुन्छ ।
आइसिसी विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा नेपाल, वेस्टइण्डिज, जिम्बाबे, अमेरिका र नेदरल्याण्ड्स छन् । समूह ‘बी’ मा आयरल्याण्ड, श्रीलंका, युएई, स्कटल्याण्ड र ओमान छन् । प्रतियोगिता १८ जुन देखि ९ जुलाईसम्म जिम्बाबेमा हुनेछ ।
सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल जिम्बाबेसँग १८ जुनमा खेल्नेछ । नेपालले दोस्रो खेल २० जुनमा अमेरिकासँग खेल्नेछ । नेपालले वेस्टइण्डिजसँग २२ जुनमा खेल्नेछ । नेपालले २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । यदि समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ ।
सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।
यदि नेपाल सुपर सिक्समा स्थान बनाउन नसके प्लेअफ खेल्नेछ । फाइनल भने जुलाई ९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले सोमबार नै २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ ।
नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनाश बोहोरा रहनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका