आइपिएलको फाइनलमा गुजरात र चेन्नाई भिड्ने

Read Time = 3 mins

दिल्ली । साबिक विजेता गुजरातले टाइटन्स इण्डियन प्रिमियर लिग(आइपिएल) को फाइनलमा स्थान बनाएको छ । गुजरातले दोस्रो क्वालिफायरमा पाँचपटकको च्याम्पियन मुम्बई इण्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नाई सुपर किंग्ससँगको भेट पक्का गरेको हो । चेन्नाई यसअघि नै फाइनलमा पुगिसकेको छ ।

जितका लागि २३४ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बई १८.२ ओभरमा १७१ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३८ बलमा सात चौका र दुई छक्कासहित ६१ रन बनाउनुभयो । त्यस्तै, तिलक बर्मा १४ बलमा पाँच चौका र तीन छक्कासहित ४३ तथा क्यामरन ग्रिन २० बलमा दुई चौका र दुई छक्कासहित ३० रनमा आउट हुनुभयो ।

मुम्बईका ओपनर रोहित शर्मा आठ, नेहाल वढेरा चार, विष्णु विनोद पाँच र टिम डेविड दुई रनमै आउट हुनुभएको थियो । गुजरातका मोहित शर्माले २.२ ओभरमा १० रन खर्चेर पाँच विकेट लिनुभयो । मोहम्मद शामीले तीन ओभरमा ४१ रन खर्चेर दुई विकेट लिनुभयो । यस्तै, राशिद खानले चार ओभरमा ३३ रन खर्चेर दुई विकेट लिनुभयो । जोशुवा लिटिलले एक विकेट लिनुभयो ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २३३ रनको विशाल योगफल तयार गरेको थियो ।

गुजरातका शुभमन गिलले ६० बलमा सात चौका र १० छक्कासहित १२९ रनको सानदार शतकीय इनिङ खेल्नुभयो । यस्तै, साई सुदर्शनले ३१ बलमा पाँच चौका र एक छक्कासहित ४३ रनको पारी खेल्नुभयो । दोस्रो विकेटका लागि उहाँहरूबीच १३८ रनको सानदार शतकीय साझेदारी भएपछि गुजरातले उक्त स्कोर बनाएको हो ।

त्यसबाहेक टोलीका हार्दिक पाण्ड्याले १३ बलमा दुई चौका र दुई छक्कासहित २८, ऋद्धिमान शाहले १६ बलमा तीन चौकासहित १८ रन बनाउनुभयो । मुम्बईका आकाश माधवालले चार ओभरमा ५२ रन खर्चेर एक विकेट लिनुभयो । पियुष चवालाले तीन ओभरमा ४५ रन खर्चेर एक विकेट हात पार्नुभयो । आइपिएलको फाइनल आज राती (आइतबार) अहमदाबादमै हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?