जावलाखेलमाथि एपिएफको जित, त्रिभुवन आर्मी र मच्छिन्द्रबीच एक-एकको बराबरी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा विभागीय टोली एपिएफ क्लबले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेल युथ क्लबलाई दुई-शून्य गोल अन्तरले पराजित गरेको छ । एपिएफको जितमा अर्मान्ड बिडोम र आवास लामिछानेले एक-एक गोल गर्नुभयो । खेलको २३ औँ मिनेटमा बिडोमले गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाउनुभयो । शरनबिक्रम बस्नेतको क्रसमा उहाँले उत्कृष्ट गोल गर्नुभयो ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा आवासले गोल गर्दै एपिएफलाई दुई-शून्यको जित दिलाउनुभयो । खेलको ८६औँ मिनेटमा एपिएफ र जावलाखेल दुवै टोली १० खेलाडीमा समेटिए । मैदानमा झगडा गरेपछि एपिएफका कप्तान नवीन लामा र जावलाखेलका अब्दुलाजिज निशोनवेभलाई रेफ्रीले रातो कार्ड दिँदै मैदानबाहिर पठाउनुभएको थियो ।

एपिएफको यो आठौँ जित हो । एपिएफले २२ खेलमा २९ अंक जोडेको छ । यस हारसँगै जावलाखेलले शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडसँगको अंक दूरी कम गर्ने मौका गुमाएको छ । जावलाखेल २२ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यस्तै, ‘ए’ डिभिजन लिग फुटबलकै अर्को खेलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लबले च्यासल मैदानमा भएको खेलमा एक-एकको बराबरी खेलेका छन् । खेलको १७औँ मिनेटमा दिनेश हेन्जनको गोलबाट आर्मीले अग्रता लिएको थियो । तर, खेलको ६०औँ मिनेटमा आर्मीका युद्ध शाहीले आत्मघाती गोल गरेपछि मच्छिन्द्र हारबाट जोगिएको हो । यस बराबरीसँगै आर्मीले २२ खेलमा ३० अंक जोडेको छ । मच्छिन्द्र २२ खेलमा ३६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?