मौलिक स्वादमा ‘नीरफूल’ : दयाहाङ राई

Read Time = 6 mins

काठमाडौं । यही जेठ २६ जेठगतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले दाबी गर्नुभएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चलचित्र निर्माणको समयको नालीबेली सुनाउनु भयो । ‘यो फिल्म खिच्न गणेश हिमाल मुनिको रुवि भ्यालीमा हामी बहुत मुश्किलले पुगेका थियौं’, उहाँले भन्नुभयो, ‘मिहिनेतले राम्रै काम पनि गरेको छ । मैले अभिनय गरेको राम्रा फिल्ममध्ये यो पनि एक हुनेछ । मौलिक विषयवस्तुलाई मौलिक ढंगले पस्किन खोजिएको छ फिल्म हो यो ।’ यतिबेला उच्च सफलता हाँसिल गरिरहेको चलचित्र ‘जारी’ सांस्कृतिक चलचित्र भएकाले चलेको बताउँदै राईले भन्नुभयो, ‘विषयवस्तु र मौलिकताको हिसाबले मलाई जारी जस्तै अत्यन्त मन परेको अर्को फिल्म नीरफूल हो ।’

अभिनेता राईले सन् १९४८ मा बनेको इटालियन नवयथार्थवादी फिल्म ‘द बाइसाइकल थिफ’ र सत्यजित रेको ‘पाथेर पाञ्चली’ जस्ता सधंै बाँचिरहने चलचित्रमा काम गर्न मन लागेको सुनाउनुभयो । ‘नीरफूलबारे चाहिँ यति भन्छु कि यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ’, उहाँले भन्नुभो, ‘यो चलचित्रमा हामीले भोगेको समयको कथा भेटिनेछ ।’

यो चलचित्रलाई फूलमान वलले निर्देशन गर्नुभएको हो । चलचित्रमार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको निर्देशक वलले दाबीको छ । ‘चलचित्रमा भूकम्प आउँछ, तर यो चलचित्र भूकम्पको कथामाथि होइन’, वलले भन्नुभयो, ‘हाम्रो समाज र जीवनमा आउने भूकम्प, करप्टेड सिस्टमले ल्याउने भूकम्प चाहिँ चलचित्रमा छ ।’

नेपाल म्यान्मार फ्रेण्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यो चलचित्रका अर्का अभिनेता बुद्धि तामाङले ‘नीरफूल’को कथावस्तु र तामाङहरूको मौलिक संस्कृतिमा काम गर्दा निकै आनन्द आएको सुनाउनुभयो । चलचित्र समसामयिक विषयसँगै मौलिक संस्कृतिमा केन्द्रित रहेको उहाँको थियो । आफू यो चलचित्रमा सञ्चारकर्मीको भूमिकामा रहेको उहाँले खुलाउनुभयो ।

अभिनेत्री शान्ति वाइबाले आफू रंगमञ्चबाट आएको बताउँदै रंगमञ्चबाटै स्थापित दयाहाङ राईसँग काम गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो । उहाँले यो चलचित्रमा नायिकाको रूपमा डेब्यु गर्दै हुनुहुन्छ । रंगकर्मी राजन खतिवडाले आफूलाई यो चलचित्रको कथा र विषयवस्तु मन परेको र सोचेको भन्दा राम्रो पारिश्रमिक नीरफूलमा पाएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘निर्देशक फूलमानजीले हरेक साना-साना कुरालाई निकै गहिरो रूपमा प्रस्तुत गर्नुभएको छ । यो चलचित्र नेपाली सिनेमा उद्योगको लागि मानक सिनेमा बन्न सक्छ ।’
गायक र रंगकर्मीको रूपमा परिचय बनाउनुभएका कलाकार मानस राजले आफूलाई गायकको रूपमा चिनेका श्रोता दर्शकले यो चलचित्रमा फरक अवतारमा पाउने बताउनुभयो ।

जिग्मे छ्योकी घिसिङले आफू यसअघि गायिकाको रूपमा परिचित भए पनि नीरफूलले आफूलाई अभिनयमा स्थापित गराउने विश्वास व्यक्त गर्नुभयो । भूकम्पको बेला उपचार गर्ने नाममा हराएको बालिकाको भूमिकामा आफू रहेको उहाँले जानकारी गराउनुभयो ।
भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायत कलाकारको अभिनय छ ।

डोमा सोनाम कार्यकारी निर्माता रहेको चलचित्रलाई दीपक श्रेष्ठ (युके), माया केसी (युएई), इन्द्र तामाङ (अमेरिका) उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया)सँगै नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, विके श्रेष्ठ, तेन्जिन सोनम लामा, गणेश थापा, अशोक थापालगायतले निर्माण गर्नुभएको हो । चलचित्रको पटकथा सचिन घिमिरे र फूलमान बलले लेख्नुभएको हो । जसमा प्रमोद कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ । चलचित्रका गीतमा राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले स्वर दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?