रोजगार मेलामा तीन सयजनाको रोजगार सुुनिश्चित

Read Time = 5 mins

पाल्पा । पाल्पाको तानसेनमा रोजगार मेला सञ्चालन भएको छ । तानसेन नगरपालिका पाल्पाको आयोजना र स्विस सरकार हेल्भेटासको सहयोगमा बेरोजगारीका लागि एकदिने वृत्ति विकास तथा रोजगार मेला भएको हो । मेलामा उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका २८ स्टल रहेका थिए । रोजगारीका लागि तीन सय बेरोजगारले आवेदन दिएको मेलामा झण्डै तीन सय अर्थात् दुई सय ९३ जनाको रोजगार सुुनिश्चित भएको तानसेन नगरपालिकाकी शिक्षा शाखा प्रमुख कपिला न्यौपानेले बताउनुुभयो । उहाँका अनुसार एक सय ४५ जनाले सीप सिक्न आवेदन दिएका छन् ।

भवन तथा बाटो निर्माणकर्मी संघले एक सय दक्ष र एक सय अर्धदक्ष गरी दुई सय कामदार माग गरेकोमा आठजनाले मात्र फारम भरेका छन् भने पाल्पाली ढाका संघलाई ४० जना कामदार चाहिएकोमा पाँचजनाले मात्र आवेदन दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) तानसेनको स्टलमा विभिन्न विद्यालयबाट चारजनाको माग भएकोमा ४५ जनाले आवेदन दिएको प्याब्सन नगर अध्यक्ष गंगाबहादुर खत्रीले जानकारी दिनुभयो । पाल्पा होटल तथा रेष्टुरेष्टका लागि ४० जना दक्ष कामदार चाहिएकोमा १८ जनाले आवेदन दिएका छन् । दुवै पक्षको सहमतिमा १८ जनाले चाहेको समयमा काम पाउने संघले जनाएको छ ।

रोजगारीका लागि तीन सयजनाले आवेदन दिएको मेलामा झण्डै तीन सय अर्थात् दुई सय ९३ जनाको रोजगार सुुनिश्चित भएको तानसेन नगरपालिकाले जनाएको छ ।

पाल्पा व्यापार संघमा रोजगारीका लागि आठजनाले आवेदन दिएका छन् । हाम्रो जब लिंकमा २८ जनाले रोजगारीका लागि र चारजनाले सीप सिक्न आवेदन दिएका छन् । हाम्रो जब लिंकले आवेदन दिएकाहरूको रोजगारी सुनिश्चित गरेको जनाएको छ । नेपाल ब्युटिसियनमा पाँचजनाले सीप सिक्न आवेदन दिएका छन् । त्यस्तै, नाटा पाल्पाले तीनजना, पाल्पा होजियारीले तीनजना, पाल्पा उद्योग वाणिज्य संघले १० जना माग गरेको छ । दुई हजार पाँच सयले अवलोकन गरेको मेलामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीले निर्माण गरेका घर, विद्यालय, डोजरलगायतका सामग्री प्रदर्शन गरिएको थियो ।

मेला उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पूूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्रदेश सांसद वीरबहादुर रानाले नगरपालिकाले तानसेन नगरभित्र रहेका बेरोजगार युवालाई रोजगार मेलाले रोजगारी प्रदान गर्ने तथा आवश्यक सीप तथा प्रविधिमा सहयोग पुग्ने बताउनुुभयो । देशको आर्थिक अवस्था जटिल मोडबाट अघि बढेको परिस्थितिमा नगरपालिकाले बेरोजगार युवा र रोजगारदाताबीच समन्वयको काम गर्न रोजगार मेलाको आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

देशमा लगानीको वातावरण नहुँदासम्म रोजगारी सिर्जना नहुने भन्दै लगानीको वातावरण सिर्जना गर्न, युवा शक्तिलाई स्वदेशमा नै स्वरोजगार बनाउन र मुलुकको समृद्धिका लागि देशमा तीन तहको सरकारले यस्ता मेला समय-समयमा गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले कर्म गर्न खोज्ने युवाशक्तिलाई स्वदेशमै रोजगार तथा स्वरोजगार बनाउन मेलाबाट सहयोग पुग्ने बताउनुुभयो । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले क्षमता र सीप भएर बेरोजगार भएका र सीप क्षमता बढाएर रोजगारी गर्न चाहेका दुवै थरि जनशक्तिका लागि रोजगार मेलाबाट समेटिने बताउनुुभयो । हेल्भेटास इनसियोर लुम्बिनी प्रदेश संयोजक निर्मला मैनालीले हाल ३५ लाख युवाहरू वैदेशिक रोजगारमा रहेको र सन् २०२२ मा विदेशबाट करिब ११ खर्ब रेमिट्यान्स भित्रिएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?