लम्पसार परेर बाँच्नु नेपालीको अपमान : पूर्वराजा शाह

‘व्यवस्थाप्रति वितृष्णा बढ्दै, गणतन्त्र केही समयको बिकाउ मात्रै’

हिमालय टाइम्स
Read Time = 9 mins

सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देश दौडाहलाई केन्द्रित बनाउनुभएको छ । शाहले यतिबेला अभिनन्दन र भेटघाटको कार्यक्रमलाई तीव्रता दिनुभएको हो । केही समयअघि नेपालगञ्जमा नागरिक अभिनन्दन कार्यक्रममा सरिक र गत हप्ता कैलालीको धनगढी पुगेर नागरिक अभिनन्दन लिँदै सम्बोधन गर्नुभएका शाहले शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्बोधन गर्नुभएको छ । वीरेन्द्रनगरमा सम्बोधन गर्ने क्रममा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने बताउनुभयो । वीरेन्द्रनगरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले यस्तो टिप्पणी गर्नुभएको हो ।

‘आफ्नो पहिचान हाम्रो शान हो । आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो,’ पूर्वराजा शाहले भन्नुभयोे, ‘कसैको अगाडि लम्पसार परेर बाँच्नु हाम्रो अपमान हो ।’

पूर्वराजा शाहले सम्बोधन गर्दागर्दै ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै निरन्तर नारा लागेको थियो । समर्थकहरूको उक्त नारापछि पूर्वराजा शाहले आफू जहाँजहाँ पुग्यो त्यहाँ यस्तै नारा लाग्ने गरेको बताउनुभयो । ‘हामी जहाँ जहाँ पुग्छौँ, त्यहाँ त्यहाँ नेपालीहरूको यस्तै–यस्तै आवाज सुन्छु,’ शाहले भन्नुभयो, ‘त्यसैले अब कसरी जाने ?, के कस्तो विधि व्यवस्था अंगाल्ने ? र हाम्रो गौरव गरिमालाई कसरी बचाउने ? अब सोचौँ, के गर्दा देशको राम्रो हुन्छ ? के नगर्दा देशलाई फाइदा हुन्छ, सोचौँ ।’

राष्ट्रवाद फष्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुने उहाँको भनाइ थियो । ‘नेपालको पीर मर्का बुझ्न नेपाली मनले मात्र सक्छ । अब हामी भन्छौँ, मिलौँ । हामी सबै मिलौँ,’ पूर्वराजा शाहको आग्रह थियो, ‘त्यसैले हामी भन्दछौँ, जुटौँ । हामी सबै एक भएर जुटौँ । त्यसैले हामी भन्दछौँ, हामी नफुटौँ । परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौँ । त्यसैले फेरि पनि भन्छौँ, जुटौँ, खटौँ र डटौँ ।’ एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढ्न उहाँको आग्रह थियो ।

सम्बोधनका क्रममा पूर्वराजा शाहले देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको राष्ट्रिय दायित्व भएको बताउनुभयो । यो दायित्वमा निरन्तर संगठित र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धति भएको बताउँदै उहाँले मुलुकको राज्य व्यवस्थालाई जुन शब्दले सम्बोधन गरे पनि देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान गर्नु नै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिक वाद, भौतिकवाद आदि जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो । विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो ।’

पछिल्ला दुई दशकमा अभ्यास हुँदै आएको लोकतान्त्रिक व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै पूर्वराजा शाहले अहिले धेरै कुरा थोरै काम भएको टिप्पणी गर्नुभयो । देश दर्शनका क्रममा जनदृष्टिका आधारमा आफूले यही कुरा बुझेको बताउँदै उहाँले भन्नुभयो, ‘दुई दशक लामो समय हामीले गुमाएर अभ्यास गर्दै आएको विधि व्यवस्था, शासन प्रशासन, के त्यस प्रकारले सही र सार्थक भएको छ र ? हामी जहाँ जहाँ जान्छौँ, जे जे सुन्छौँ र जस्तो जस्तो देख्छौँ, त्यसबाट थाहा पाउँछौँ, आज कुरा धेरै काम थोरै भएको छ । देश दर्शनको क्रममा जनदृष्टिका आधारमा हामीले बुझेको कुरा यही हो ।’

पूर्वराजा शाहले जनताले सोचेको र खोजेको जस्तो नहुँदा त्यस्तो पद्धति केही समयका लागि बिकाउ मात्र हुने टिकाउ नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल र नेपालीको सही हित चाहने हाम्रा मित्रहरूले पनि यस्ता कुरा गहिरिएर सोचिरहेका छन् । जनताले रोजेको, जनताले खोजेको र जनताले सोचेको अनुसार जब हुँदैन, तब त्यस्तो पद्धति केही समयको बिकाउ मात्र हुन्छ, टिकाउको हुँदैन ।’

उहाँले अब कस्तो विधि र व्यवस्था अंगाल्ने भन्ने बेला आएको बताउँदै कसरी देशलाई फाइदा हुन्छ त्यसतर्फ सोच्नुपर्नेमा जोड दिनुभयो । पूर्वराजाले शाहले भन्नुभयो, ‘त्यसैले अब कसरी जाने, के कस्तो विधि व्यवस्था अंगाल्ने र हाम्रो गौरव गरिमालाई पुनः ताजा रूपमा ल्याउने भन्ने कुरामा सोच्नै पर्ने बेला आएको छ । अब सोचौँ के गर्दा देशको राम्रो हुन्छ । अब सोचौँ के नगर्दा देशलाई फाइदा हुन्छ । राष्ट्रवाद फष्टाउनलाई राष्ट्र प्रेमको खाँचो चाहिन्छ । नेपालको पीर मर्का बुझ्न नेपाली मुटुले मात्र सकिन्छ ।’

कार्यक्रममा पूर्वराजा शाहसहित पूर्वमहारानी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह पनि सहभागी हुनुभएको थियो ।

यसअघिका नागरिक अभिनन्दन समारोहलाई पनि सम्बोधन गर्दै शाहले जनताको जीवनस्तर सुधार हुन नसकेको र मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन सबैमा आहृवान गर्दै आउनुभएको छ । लामो अवधिसम्म पनि मुलुकको अवस्था नफेरिएको भन्दै उहाँले दुःख व्यक्त गर्दै आउनुभएको छ ।

पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्नुहोस् : खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले पूर्वराजा शाह देशका विभिन्न स्थानमा अभिनन्दनमा हिँडिरहेको प्रसंग उठाउँदै पूर्वराजाका गतिविधिबाट लोकतन्त्र गुम्ने स्थिति नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दै छन् । अहिले सामान्य जनता हुन् । उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्,’ खनालले भन्नुभयो, ‘अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुहोस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुहोस् । राप्रपाको अध्यक्ष बन्नुहोस्, वा एउटा पार्टी खोल्नुहोस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?