क्षणिक नायकत्वमा नेपाली राजनीतिक नेतृत्व

Read Time = 13 mins

पहिलो र दोस्रो विश्वयुद्धको प्रभाव र परिणाम सारै सुखद् त रहेन तर यी युद्धहरूले मानव समाजलाई मध्ययुगीन समाज वा सभ्यतामा व्याप्त बर्बरता त्याग्ने सोच बनाउन बाध्य बनायो । मध्ययुगीन सामाजिक बनौट, मानव-मानवबीचको भेदभाव, बर्बर युद्धकला आधुनिक युगमा अस्वीकृत भए । हुन त मध्ययुगीन बर्बर व्यवहार वर्तमानमा हुँदै नभएको भने होइन । तर वर्तमानले त्यसलाई मध्ययुगको झैँ महिमामण्डित गर्दैन बरू मानवताविरुद्धको अपराध मान्दछ । त्यसैले कुनै पनि राजनीतिक सामाजिक वा परम्परागत कुरा होस् अथवा व्यवहार त्यसको विवेचन गर्दा पहिलोे विश्वयुद्धभन्दा अघिको एक कालखण्ड । पहिलो र दोस्रो विश्वयुद्धको एक कालखण्ड अनि त्यसपछिको अलग अलग मूल्यांकन गर्दा नै सही नतिजामा पुग्न सकिन्छ ।

हिंस्रक जनावरहरूको वासस्थान भएको बाक्लो जंगलले ढाकेको भूभागको अधिकता भएको युगमा मानव सभ्यताको विकास सहज थिएन । हिंस्रक वन्यजन्तुहरूको आक्रमणबाट मानव सभ्यतालाई जोगाउनु पर्ने आवश्यकता थियो । यसरी मानव सभ्यता विकासलाई बाधा दिँदै गरेको युगमा शिकार खेलिनु, जंगल फाँडेर बस्ती बसाउनु पुरुषार्थ तथा विकास थियो भने वर्तमानमा यो काम अपराध भएको छ । भविष्यमा हिंस्रक जन्तुहरूको प्रकोप बढेर मानवबस्ती सखाप हुन लाग्यो भने फेरि यो सोच बदलिन पनि सक्छ ।

त्यसैले मध्ययुगमा गरेको शिकारलाई वर्तमानको चश्माले हेरेर अपराध भन्दै गर्दा भविष्यमा मानव समाजमा खतरा भयो भने अहिलेको समयलाई त्यो भविष्यले मानवताविरुद्धको काम भन्न सक्छ भन्ने हेक्का राख्नुपर्छ । केही पश्चिमा मुलुकमा पश्चिमा मुलुकमा संख्या तोकेर वार्षिक रूपमा मानवका निमित्त खतरा भएका जन्तुहरूको शिकार खेल्न अनुज्ञापत्र दिइने प्रचलन सुरु भएको सुनिन्छ । इतिहासलाई वर्तमानको मापदण्डले मूल्यांकन गर्ने प्रचलन केही वर्षदेखि आरम्भ भएको छ । कुनै बेलामा भएको कुनै घटना केबल घटनाले मात्र होइन त्यसबेलाको परिस्थिति तथा आवश्यकताको आधारले पनि मूल्यांकन गरिनुपर्दछ ।

कुनै पनि मुलुक निर्माण हुँदाका बखतको इतिहास रक्तरञ्जित नै हुने गर्दछ । मुलुकका सीमा पनि विभिन्न कारणले फैलने तथा खुम्चने गर्दछन् । हरेक मुलुकको मानव सभ्यताले शासकले तथा राजनीतिले आउँदै गरेको युगलाई स्वागत गर्ने गर्दछ ।

राजनीतिका नायक वा खलनायकहरूको विवेचन गर्दा मध्ययुग सामेल गरिनु अनुपयुक्त हुन्छ । यो मान्यता नेपाली राजनीतिका नायक वा खलनायकमा पनि समान रूपले लागू हुन्छ । कुनै पनि मुलुक निर्माण हुँदाका बखतको इतिहास रक्तरञ्जित नै हुने गर्दछ । मुलुकका सीमा पनि विभिन्न कारणले फैलने तथा खुम्चने गर्दछन् । हरेक मुलुकको मानव सभ्यताले शासकले तथा राजनीतिले आउँदै गरेको युगलाई स्वागत गर्ने गर्दछ । यो मध्ययुगको समाप्ति र आधुनिक युगको आगमनको स्वागत नेपालमा जहानियाँ शासन सम्हालेका राणाहरूले पनि गरे । चन्द्रशमशेरले दासप्रथा उन्मुलन गरे, अमलेख भएका अर्थात् दासत्वबाट मुक्त भएका दासहरूलाई समाजमा स्थापना गराउन अमलेखगञ्ज नै बसाए, त्रिचन्द्र कलेज खोले, चन्द्रनहर बनाए, बिजुली निकाले ।

राणा शासनका धेरै आधारभूत मध्ययुगीन मान्यताहरू तोडे । कारण चाहे जे होस् प्रभाव भने नेपालीलाई अलिकति शितलता दिने नै भयो । राणाकालमा सबैभन्दा लामो शासन सम्हालेका चन्द्रशमशेरले अन्य पनि धेरै काम गर्नुपर्ने थियो त भन्न सकिन्छ तर तर्क अर्को पनि हुन सक्छ एउटै पनि सुधारका काम नगरेको भए पनि उनलाई खासै के पो फरक पर्ने थियो र ? बीपीका पिता कृष्णप्रसादलाई देश निकाला गर्नुले उनको कार्यकालमा त केही फरक परेन तर राणाशासनको जग हल्लाउने कारक यही बन्यो । यसरी चन्द्रशमशेरले नायकत्व र खलनायकत्वमा लुकामारी खेल्दै अठ्ठाइस वर्ष जंगबहादुरको पौरख भोग गरे ।

भीमशमशेरले राणाहरूको रोलक्रममा परिवर्तन गरेका थिए । यो परिवर्तन गर्दा अहिले आफूमा अधिकार भएको बेला गरेको काम भोलि आउने अर्कोले पनि परिवर्तन गर्नसक्छ भन्ने कुरा उनले सोच्न सकेनन् । हुन त भीमशमशेरको सोचको यो कमजोरी आजकल सबैमा देखापरेको छ, अहिले जल्दोबल्दो भएको बेला मनमौजी काम गरिहालौँ, त्यो संस्थागत हुन्छ, स्थायी हुन्छ भन्ने । तर, वास्तविकता त्यसको ठीक उल्टो हुने गर्दछ, भोलि आउनेले आजको त्यो चीरस्थायी सम्झेर गरेको काम नै सबैभन्दा पहिले भत्काउँछ । भीमशमशेरको यो काम पनि भत्कनु थियो, भत्कियो तर यो पनि राणा शासनले आफैँले आफैँलाई समाप्त पार्न चालेको कदम जस्तो भयो । भीमशमशेरका नातिहरू र कृष्णप्रसादका छोराहरूले राणा शासनसँग नेपालका राजादेखि रंकसम्ममा भएको असन्तुष्टि संयोजन गरेर त्यसलाई समाप्त पार्न प्रमुख भूमिका खेले ।

राणा शासनकोे समाप्ति गर्ने क्रान्तिको नायकत्त्व कृष्णप्रसादका छोराहरू र भीमशमशेरका नातिहरूको हातमा रहृयो । तर नेपालीलाई प्रदान गरेको यो नायकत्व पनि उनीहरूसँग स्थायी रहन सकेन । यसको कारण जिद्धी, आपसी कलह, क्रान्तिको सफलतापछि जनतासँग टाढिने जस्ता कुराहरू भए । यी कारणसँग असहमति जनाउने जमात त भेटिन्छ तर घटनाक्रम र इतिहासले यही भन्छ । उसैपनि नायकत्व, खलनायकत्व प्रदान गर्ने तथा त्यो निरस्त गर्ने शास्वत अधिकार जनतासँग नै हुन्छ । शासकले प्रदान गरेको राम्रो वा नराम्रो उपाधिको आधिकारिकता जनअनुमोदनमा नै टिकेको हुन्छ । यस्तो अवस्थाका उदाहरणहरू हरेक कालखण्डमा प्रचुर फेला पर्ने गर्दछन् ।

समकालीन समाजका जनताको मनमा रहेको कसैको छवि कुनै पनि शक्तिले हल्लाउन सक्दैन । त्यसैले सनातन मान्यतामा जनतालाई जनार्दन अर्थात् विष्णु भन्ने गरिएको पाइन्छ । जनतामा कुनै प्रकारको असन्तोषको बिउ नभई स्थापितलाई हल्लाउन सक्ने क्षमता कसैमा हुँदैन । महत्वाकांक्षी र आफ्नो लक्षप्रति दृढ भएकाले असन्तोषको लेसमात्र पायो भने पनि त्यसैलाई परिवर्तनको औजार बनाउँछ, यदि असन्तोषको मात्रा धेरै छ भने त आकांक्षीको निमित्त त्यो त द्रुतमार्ग नै हुन्छ । राजा महेन्द्रले सत्रसालमा दुई तिहाइ जस्तो स्थान जितेर बनाएको सरकारलाई केवल सेनाको बलले मात्र अपदस्त गर्न सम्भव थियो भन्ने कुरा कताकता पच्दैन ।

जनतामा कुनै प्रकारको असन्तोषको बिउ नभई स्थापितलाई हल्लाउन सक्ने क्षमता कसैमा पनि हुँदैन । महत्वाकांक्षी र आफ्नो लक्षप्रति दृढ भएकाले असन्तोषको लेसमात्र पायो भने पनि त्यसैलाई परिवर्तनको औजार बनाउँछ, यदि असन्तोषको मात्रा धेरै छ भने त आकांक्षीको निमित्त त्यो त द्रुतमार्ग नै हुन्छ ।

जनता निर्विकार नभएको अवस्थामा कसैलाई अपदस्त गर्न फलामको चिउरा चपाउनु नै हो । जनतासँग टाढिएको अवस्थामा सामुन्नेको जयजयकार नै आफ्नो जनसमर्थन हो भन्ने भ्रम पर्न सक्छ । कांग्रेसले जनता टाढिएको पत्तै पाएन, यस कुराको पुष्टि निमित्त गणेशमानको ‘भेडा’ वाला भनाइ नै काफी छ । जनता रिझउने काममा राजा महेन्द्रले शासनको बागडोर हातमा लिएपछि तुरुन्त लागे । जनजीवनसँग सरोकार राख्ने विभिन्न योजना कार्यान्वयनमा लागे । यी योजनाहरू राजा महेन्द्रका निजी सोचका उपज थिएन ।
विभिन्न समयमा विभिन्न व्यक्तित्वको संगत र उनीहरूसँगको छलफलको उपज थिए । स्वयं बीपीका समेत कतिपय अवधारणा ती योजनामा संलग्न थिए । यो कुरा पुराना कांग्रेसजनहरूबाट सुन्न पाइन्छ कि उनले कुन कुन योजना कांग्रेसको अवधारणबाट लिएका थिए ।

शक्ति हातमा लिएपछि अन्य नायकहरूले जस्तो जनतासँग टाढिएनन् बरू जनतासँगको प्रत्यक्ष सम्पर्कलाई उच्च महत्व दिए । नेपालीले उनी रहुञ्जेल सधैँ योजना पाइराखे । त्यसैमा प्रगति उन्नतिको चाहनामा मेहेनत गर्दैमा जनतालाई अन्य कुरा हेर्ने फुसर्द नै भएन । त्यसैले महेन्द्र क्षणिक नायकमात्र भएनन् । उनको असर मृत्युको आधा शताब्दीसम्म पनि कायम छ, समर्थकहरूभन्दा विरोधीहरूमा ।

राजा महेन्द्रपछिको अवस्थामा जति पनि नायक भएका छन् ती साह्रै क्षणिक भएका छन् । यस कुरामा अन्य राजनीतिक व्यक्तिहरू मात्र होइन उनकै छोराहरूले पनि आफ्नो असर लामो राख्न सकेका छैनन् । सामुन्नेको जयजयकारमा भुल्दा जनसम्पर्क टुट्न जान्छ भन्ने हेक्का राजाहरूलाई मात्र नभएको होइन । विभिन्न समयमा विभिन्न समूहको तारणहारको रूपमा आफूलाई उभ्याएकाले पनि यो कुरा भुलेका छन् । हिजो रविनहुड झैँ काम गरेर सोझा निमुखा जनताको आश जगाउन सफल भएको माओवादीका नेताहरूलाई आज सयौं सुरक्षकर्मीको घेरा नभइनहुने भएको छ, यसमा चिन्ताको कुरा त के छ भने यो देखाउन चाहिएको होइन वास्तवमै आवश्यक परेको छ ।

सुरक्षमा भएको सामान्य चुक पनि प्राणघातक हुनसक्छ भन्ने डर मनमा भएकाले रविनहुड जस्तो स्थायी नायकत्व प्राप्त गर्न सक्ने त कुरै आउँदैन । वर्तमानमा फेरि जनतासम्म पुग्ने अर्को कुनै महत्वाकांक्षी देखिएको छैन, केही समूह देखिएका छन् जसलाई जनताले अहिलेसम्म भरोसा गरिसकेको छैन, अपनत्व महसुस नगरेर तर जनता हमेसा उपेक्षा सहन सक्दैनन् । यो परिस्थिति कायम रहने हो भने ‘नहुनु मामा भन्दा कानो मामा निको’ भनेर सोच्न सक्छ, यसो हुनु नेपालीको अस्तित्वको निमित्त कति हानीकारक हुन्छ, यो सोच्ने कसले ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?