काभा महिला भलिबल : भारतले जित्यो उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एनएससी काभा (सेन्ट्रल एशियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आईतवार सम्पन्न खेलमा भारतले काजकिस्तानमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि उचालेको हो । यससँगै भारतले नेपालमा सम्पन्न दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि उचाल्न सफल भएको छ । यसअघि भारतले नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला भलिबलको उपाधि उचालेको थियो ।

काजकिस्तानमा एकपक्षीय प्रदर्शन गरेको भारतले पहिलो सेटमा २५–१५ को सहज जित निकालेको थियो । पहिलो सेटमा निकालेको जितसँगै उच्च मनोबलका साथ प्रदर्शन गरेको भारतले दोस्रो सेटमा २५–२२ र तेस्रो सेटमा २५–१८ को नजिता निकाल्दै उपाधि उचाल्न सफल भएको हो ।

यसअघि तेस्रो स्थानका लागि भएको खेलमा साविक विजेता नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा हरायो । तेस्रो बन्ने क्रममा नेपालले २०–२५, २५–१६, २५–१५, २५–१३ को जित निकालेको थियो । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ देशका टोलीको सहभागिता रहेको थियो । विजेतालाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राखेप सदस्यसचिव लगायतले पुरस्कार प्रदान गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?