सुदूरपश्चिममा ५ वर्षको अवधिमा २ हजार ७ सय बढीले गरे देहत्याग

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । सुदूरपश्चिममा पछिल्लो पाँच वर्षको अवधिमा २ हजार ७ सय ४७ ले देहत्याग गरेको पाइएको छ । विष खाएर, आगो लगाएर, नदीमा हाम फालेर, करेन्ट लगाएर, औजार तथा हातहतियार प्रयोग गरेर तथा डुबेर गरी प्रदेशभित्र सो संख्यामा देहत्याग गरेको प्रहरीको तथ्यांकले देखाएको छ । यसको मुख्य कारण प्रेममा धोका पाउनु नै बढी रहेको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

धेरै देहत्यागको कारणमध्ये प्रेममा धोका पाएर डिप्रेसनमा जानु प्रमुख कारणको रुपमा समेत देखिएको छ । साथै कडा खालको मानसिक रोगले पनि देहत्याग गर्ने गरेको भेटिएको छ । अत्यधिक रिस आउने र चाँडै आवेगमा आउने व्यक्तिहरूले पनि देहत्यागको बाटो रोज्ने गरेको मनोरोग चिकित्सक बताउँछन् । मानसिक, आर्थिक, सामाजिक लगायत कारण पनि यस्ता घट्ना बढ्दै गएको छ ।

किशोराअवस्था पार गरिसकेपछि करियर बनाउने तरखरमा रहेका, पढाई, प्रेममा असफलता, परीक्षामा अनुत्तिर्ण, लागूपदार्थ तथा मादक पदार्थको सेवन गर्नेहरूले बढीजसो देहत्यागको बाटो रोज्ने गरेको प्रहरी अनुभव छ ।

सामाजिक सञ्जालमा सहज पहुँचका कारणले पनि देहत्यागलाई बढावा दिइरहेको छ । टिकटक, फेसबुकमा देखाइएको सामाग्रीको नक्कल गर्न खोज्दा पनि यस्ता घटना हुने गरेका छन् ।

देहत्याग गर्नुपूर्व निराश हुने, राती निन्द्रा नपर्ने, खाना कम खाने, कम बोल्ने, दिक्क, झर्को मान्ने, मान्छेसँग बोल्न बन्द गर्ने लगायत लक्षण देखिन्छ । कतिपय व्यक्तिहरूले डायरी तथा सुसाइट नोट पनि लेख्ने गरेको पाइएको छ । सुदूरपश्चिम प्रदेशभित्र आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७८÷७९ सम्म मात्र ८ सय ८ जनाले देहत्याग गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अभिलेख छ ।

त्यसभन्दा अघि र चालु आर्थिक वर्षको बैशाख सम्मको पाँच वर्षको अवधिमा कुल देहत्याग गर्नेको संख्या २ हजार ७ सय ४७ देखिएको छ । प्रदेशभित्र आर्थिक वर्ष २०७६/७७ मा विष सेवन गरेर १ सय २४ र झुण्डीएर ४ सय ७ र नदीमा हाम फालेर १३ सहित ५ सय ४७ जनाले आत्महत्या गरेको प्रहरी अभिलेख छ । यो संख्या आर्थिक वर्ष २०७७/७८ मा बढेर ६ सय ८६ पुगेको छ ।

प्रदेशभित्र आत्महत्या गर्ने दर आर्थिक वर्ष २०७८/७९ मा थोरै घटेको पाइएको छ । सो अवधिमा विष सेवनबाट १ सय ३, झुण्डिएर ४ सय ६६, हाम फालेर ३, नदीमा डुबेर २ तथा आगो लगाएर एक गरी ५ सय ७३ जनाले आत्महत्या गरेको देखिएको छ । स–सानो विषयमा पनि आवेगमा आएर यसरी आत्महत्या गर्नेको संख्या हरेक वर्ष बढ्दै गएको प्रहरी तथ्यांकबाट देखिएको हो ।

देहत्याग सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा बढ्दै गएको देखिएको छ । आत्महत्याको केश पछिल्लो समय तराईका जिल्लाभित्र बढ्दै गएको हो । अपरिपक्क उमेर, मायाप्रेममा धोका लगायत कारण यस प्रकारको घट्ना बढ्दै गएको देखिन्छ । यसका लागि अभिभावक आफ्ना छोराछोरीको आनाबानीप्रति बेलैमा सचेत बन्नुपर्ने हुन्छ । कुनै एउटा निकायको एक्लो प्रयासबाट मात्र यस्ता घटनालाई न्यूनिकरण गर्न सहज नहुने प्रहरी बताउँछ ।

निम्न र मध्यम आय भएका परिवारका सदस्यले आत्महत्या गर्नेक्रम बढेको देखिन्छ । यसका साथै मानसिक समस्या, अशिक्षा, बेरोजगारी, प्रेममा धोका लगायत कारण पनि आत्महत्या दर बढ्दो छ । रिस, निराश, डाहा, दुःख, नकारात्मक सोच र पीडाका सुरुवाती चरणलाई व्यवस्थापन गर्न नसक्दा आत्महत्याको सोच आउने गरेको सेती प्रादेशिक अस्पतालकी मनरोग विशेषज्ञ डाक्टर निलम जोशी बताउँनु हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?