गणतन्त्र दिवसमा रेशम चौधरीको कैद माफी

कानुनी राज्यको खिल्ली उडाएको भन्दै एमालेले जनायो आपक्ति

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गर्नुभएको छ ।

सरकारको सिफारिसमा टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आम माफी दिने भएको हो ।

आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी भएको जानकारी दिनुभएको छ ।

यसमा रेशम चौधरीसमेत समावेश छन् । आइतबारमात्रै मन्त्रिरिषदको बैठकले चौधरीको सजाय माफी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।

मन्त्रिपरिषदको सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२को कैद भुक्तान हुन बाँकी सजाय माफी भएको हो ।

यता टीकापुर हत्याकान्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका चौधरीलाई आम माफी दिने निर्णयविरुद्ध मृ‌तककी श्रीमतीले रिट दिनुभएको छ । उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायत रिट लिएर सर्वोच्च पुग्नुभएको हो ।

चौधरीलाई जन्मकैदको सजाय गर्ने जिल्ला र उच्च अदालतको फैसलालाई केही दिनअघि सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।

यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने चौधरीलाई आममाफी दिने सरकारको निर्णयको विरोध गरेको छ । एमालेका सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताउनु भयो ।

बर्तौंलाले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले सो काम गर्न लागेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पीडितलाई थप पीडित बनाउने गरी सरकारले कानुनी राज्यको खिल्ली उडाउँदै चौधरीलाई आममाफी दिने निर्णय लिएको जिकिर गर्नुभयो । सचेतक बर्तौलाले राजनीतिक दाउपेचको आधारमा गरिएको सरकारको सो निर्णय उपयुक्त नभएको उल्लेख गर्दै त्यसमा ख्याल गरेर अघि बढ्न राष्ट्रपति रामचन्द्र पौडेललाई पनि आग्रह गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?