रियल म्याड्रिडको पुनरागमन जित

Read Time = 3 mins

म्याड्रिड । रियल म्याड्रिडले स्पेनिस ला लिगामा सेभियामाथि २-१ को पुनरागमन जित निकालेको हो । म्याड्रिडका रोड्रिगो गोएसले दुवै गोल गर्नुभयो भने सेभियाका राफा मिरले एक गोल फर्काउनुभयो । खेलको तेस्रो मिनेटमा नै राफा मिरले गोल गर्दै सेभियालाई अग्रता दिलाउनुभएको थियो । त्यसपछि रियलले पुनरागमन गर्‍यो । २९औँ मिनेटमा रोड्रिगोको फ्रिकिकमा सिधै गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि ६९औँ मिनेटमा रोड्रिगोले रियलका लागि दोस्रो गोल गर्दै जित दिलाउनुभयो ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको ३७ खेलबाट ७७ अंक पुगेको छ । रियल शीर्षस्थानको बार्सिलोनासँग आठ अंकले पछि तथा तेस्रो स्थानको एट्लेटिको म्याड्रिडभन्दा चार अंकले अघि छ । बार्सिलोना र एट्लेटिकोले एक खेल कम खेलेका छन् । पराजित सेभिया ४९ अंक जोडेर १०औँ स्थानमा छ ।

यस्तै, पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्ट्रासबर्गमा बराबरी खेलेको छ । उक्त बराबरीसँगै पिएसजीले एक खेलअगावै फ्रेन्च लिगको उपाधिमा जित हासिल गरेको हो । पिएसजीले कीर्तिमानी ११औँ पटक फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको हो । च्याम्पियन बनेसँगै पिएसजीले सेन्ट इटिएन र मार्सेले समान १० पटक फ्रेन्च लिग वानको उपाधि जितेको कीर्तिमानलाई उछिनेको छ ।

पिएसजीलाई च्याम्पियन बन्न एक अंकको खाँचो रहँदा एक अंक नै बटुल्न सकेपछि च्याम्पियन बन्न सफल भयो । पिएसजीबाट अंक खोस्न सफल स्टार्सवर्ग पनि रेलिगेसनबाट बचेको छ ।

खेलको ५९औँ मिनेटमा लियोनल मेस्सीले केलियन एम्बाप्पेको पासमा गोल गर्दै पिएसजीलाई १-० को अग्रता दिलाउनुभयो । लिग वानमा मेस्सीको यो ७४ खेलमा ३२औँ गोल हो । योसँगै मेस्सीले युरोपको शीर्ष पाँच लिगमा ४९६ गोल पूरा गर्नुभएको छ । यसअघि यो कीर्तिमान क्रिष्टियानो रोनाल्डोको नाममा ४९५ रहेको थियो ।

यस बराबरीसँगै पिएसजीको ३७ खेलबाट ८५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको लेन्सको ८१ अंक छ । स्टार्सवर्ग ३७ खेलबाट ४० अंक जोडेर १५औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?