गणतन्त्र दिवसको शुभकामना !

हिमालय टाइम्स
Read Time = 8 mins

आज गणतन्त्र दिवस । नेपाल २०६२/०६३ सालको दोस्रो जनआन्दोलनपछि पुनस्र्थापित संसद्बाट गणतन्त्र घोषणा गरी गणतान्त्रिक नेपाल भएको दिन हो जेठ १५ गते । प्राचीन कालमा गोपाल वंशीहरूले नेपालमा राजा भएर शासन गर्न थालेपछि नेपालमा निरन्तर राजत्रन्त्र रहँदै आएको थियो तथापि शासन गर्ने वंशहरू भने फेरिएका थिए । गोपाल वंशपछि महिशपाल वंश, त्यसपछि लिच्छवि वंश र मल्लहरूले शासन गरेका थिए । तिनका राज्यहरू साना-साना थिए अर्थात् ती साना–साना राज्यका राजा थिए । पृथ्वीनारायाण शाहले नेपालको एकीरण गरेपछि बृहत् नेपाल स्थापना भयो । पृथ्वीनारायणपछि उनका कान्छा छोरा बहादुर शाह र जेठी बुहारी राजेन्द्रलक्ष्मीले नेपालको सिमाना अझै विस्तार गरेका थिए ।

त्यो बृहत् नेपाल अंग्रेजहरूसँगको युद्धपछि भएको सुगौली सन्धिबाट पुनः खुम्चिन पुग्यो । विशाल नेपालको एक तिहाइ भू-भाग सुगौली सन्धिबाट गुमेको थियो भन्ने इतिहासकारहरूको भनाइ छ । भारतमा अंग्रेजहरूविरुद्ध सिपाही विद्रोह भएका बेला त्यस विद्रोहलाई दबाउन अंग्रेजहरूले नेपालसँग सैनिक सहयोग माग गरेका थिए । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले उनीहरूलाई सैनिक सहयोग गरे र उनीहरूले सुगौली सन्धि हुँदा भारततिर परेका हाम्रा हालका चार जिल्ला फिर्ता गरे । बाँके, बर्दिया, कैलाली र कञ्चनपुर यी चार जिल्लाहरूलाई अंग्रेजबाट पछि फिर्ता भएका कारण नयाँ मुलुक भनियो । यसरी सीमा हेरफेर भयो बेला-बेलामा नेपाल यसको स्थापनादेखि नै निरन्तर राजाबाट शासित हुँदै आएको थियो ।

राजालाई नेपालमा राजनीतिक राजामात्र नमानी धार्मिक सांस्कृतिक राजासमेत मान्दै आएका कारण नेपालमा गणतन्त्र आउँछ भन्ने कुरामा धेरैको पत्यार थिएन । तर माओवादीको विद्रोहका बेलादेखिकै एजेण्डा थियो यो र पछि अरू पार्टीलाई पनि राजदरबार हत्याकाण्डपछि बनेका राजा ज्ञानेन्द्रको शैलीका कारण माओवादीकै एजेण्डाका समर्थक बन्न पुगे । नेपाली कांग्रेस प्रजातन्त्रपछि प्रायः सत्तामै थियो ।

नेपाली कांग्रेसको स्थापना कालदेखि नै आफ्नो नीति र सिद्धान्तमा संवैधानिक राजतन्त्र भन्ने थियो । २०५८ सालपछि नयाँ राजाको पार्टीहरूप्रतिको व्यवहार र माओवादीको चरम हिंसात्मक कार्यलाई जसरी भए पनि अवतरण गराउनुपर्ने आवश्यकताले पार्टीले आफ्नो नीति परिवर्तन गरी गणतन्त्रको पक्षमा गयो । यसपछि भने सदनबाट एक मतले गणतन्त्रको घोषणा भएको थियो ।

यसले गर्दा नेपाली जनतामा एक प्रकारको उत्साह भरिएको थियो । दरबार हत्य काण्डपछि राजा ज्ञानेन्द्रलाई जनताले पनि रुचाइरहेका थिएनन् । उक्त हत्याकाण्डमा ज्ञानेन्द्रकै हात छ भन्ने खालका आशंका र अड्कलबाजी भइरहेका कारण जनप्रीय राजा र राजपरिवारको हत्याको शंका गरिएका राजा ज्ञानेन्द्र जनता र पार्टीहरूबाट समेत एक्लिँदै गए । त्यसकारण राजालाई हटाएर गणतन्त्रको घोषणा हुँदासमेत जनता, पार्टी, प्रहरी, सेना कतैबाट पनि त्यसको विरोध भएन । अहिले देशमा गणतन्त्र आएको डेढ दशक बितिसकेको छ । गण्तन्त्र घोषणा भएपछि संविधानसभाको चुनाव भएर नयाँ संविधान बनेको छ । यो लागू भएको पनि आठ वर्ष भएको छ र यस संविधानले गरेको व्यवस्थानुसार दुई पटक संघीय संसद्, प्रदेशसभा र स्थानीय तहको निर्वाचन भइसकेको छ ।

यो संविधान गणतन्त्रात्मक शासकीय स्वरूप कायम गरी गणतन्त्रात्मक शासन प्रणाली अंगीकार गरेर अगाडि बढिरहेको छ तर हिजो राजतन्त्र छँदा र हालका दिनहरूका नेपाली जनताको हैसियतमा के कस्तो परिवर्तन भएको छ त ? भन्ने प्रश्न उठ्न थालेको छ । विभिन्न क्षेत्रबाट यस्ता प्रश्न उठाउने गरिएका छन् । पूर्वराजाले विभिन्न धार्मिक सांस्कृतिक कार्यक्रमका आफ्नो संलग्नता जनाए पनि राजनीतिक भाषणबाजी गर्नुभएको थिएन । वर्तमान केही महिनादेखि उहाँ खुलेरै राजनीतिक पार्टीहरूको विरोधमा उत्रिनु भएको छ र ठाउँ–ठाउँमा राजनीतिक मञ्चहरूबाटै वर्तमान दिनहरूमा उहाँबाट विरोध भइरहेको पाइन्छ ।

मूल रूपमा आजको प्रश्न हो गणतन्त्र व्यानरमा मात्र आएको हो कि यसले जनतामा सुशासन दिन सक्यो कि सकेन ? सुशासन दिनसक्ने शासक यसले पायो कि पाएन ? कानुनको शासन, स्वतन्त्र न्यायपालिकालाई विश्वसनीय ढंगले स्थापना गर्न सक्यो ? अहिले राज्यमा भ्रष्टाचार व्याप्त छ । यसको कारण गणतन्त्र नै हो कि अरू नै कारणले यस्तो भएको हो ? राज्य अभयवहरूले जनतालाई सहज ढंगले सेवा दिन सकेका छन् कि छैनन् ? कर्मचारीतन्त्र स्वच्छ बन्न सकेको छ ? गणतन्त्रप्रति जनताको सम्मान कायम हुनसकेको छ ? भनेजस्ता तमाम प्रश्न जसरी सिर्जना भइरहेका छन् तिनको उचित जवाफ सत्तामा बस्नेहरूले दिन सक्नुपर्छ ।

आन्तरिक रूपमा जे जस्तो स्थिति थियो हाल बाहृय रूपमा समेत राष्ट्रकै बेइज्जती हुनेगरी भुटानी शरणार्थी प्रकरण सतहमा आएको छ । यसको दोष पनि गणतन्त्रका शासकहरूलाई नै लाग्ने गरी उजागर भएका कारण गणतन्त्रको मुहारमा धब्बा लाग्नाले यसप्रतिको सम्मान खस्किन गएको हो कि ? यी तमाम प्रश्नका जवाफको अपेक्षा नेपाली जनताले गरेका छन् । गणतन्त्रको संरक्षण र संवद्र्धन हाम्रो दायित्व हो र सत्तासीन तथा जनतामा पनि यस्तो भावना हुनुपर्छ । सबैमा गणतन्त्र दिवसको शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?