‘कैद मिनाहा : असफल भए अपराध र सफल भए क्रान्ति’

Read Time = 9 mins

- जयप्रकाश गुप्ता

कैद मिनाहा र आम माफी बक्सिनु र दिईनुको हाम्रो लामो इतिहास छ। अपराध र क्रान्तिको परिणामलाई कसरी निरूपण गर्ने ? यही द्विविधासंगै हिडेको छ यो इतिहास । संसारलाई परिवर्तन गर्ने हरेक आन्दोलनका सफल अगुवाहरू क्रान्तिकारी कहलिएका छन् । जो असफल भए ति अपराधी भए । ‘तिनलाई उन्मुत्ति दिईनु हुन्न’ भनिन्छ । एमालेका रत्न वान्तवा पंचायत कालमा अपराधी सरह मारिए । उनीसंगै लागेकाहरू पछि माफी पाए अहिले राज्य भएका छन् । गिरिजा प्रसाद कोईराला, सुशील कोईराला उपर राज्य बिरूद्धको अपराध, बिमान अपहरणको मुद्दा थियो । बिमान अपहरणको मुद्दा चक्र बास्तोला समेतका उपर भारतमा पनि थियो । चक्र बास्तोलालाई ०४८ तिर भारतका लागि राजदूतमा नियुक्त गरिएपछि सोही मुद्दाका कारण भारत सरकारले एग्रीमो पठाएन। गणेशमान् सिंहलाई भारतका राष्ट्रपतिले नेपालका दक्षिण एशियाका गांधी भनेका थिए । काँग्रेस कै चक्र बास्तोला त्यतिन्जेल फौजदारी अपराधका अभियुक्त थिए भारतमा ।

राजा वीरेन्द्रबाट नेकाका संस्थापक नेता सुवर्ण शम्सेर जबरालगायत सयौंलाई आम माफी दिईएको थियो । सुवर्णजीले नेपाली काँग्रेसको नेतृत्व गर्दै वि.स. ०१८ सालमा राजाका बिरूद्ध शसस्त्र बिद्रोह चलाएका थिए । कयौं सेना पुलिसको हत्या भयो । चितवनमा सेनाले पनि दर्जनौं काँग्रेसीलाई जिउँदै पुरेर मारेका थिए । ती अदना मानिसहरू थिएनन् । बखान सिंह गुरूगका छोराहरू मारिए, पुरिए । जगतजंग प्रकाश कुनै बेनामी मानिस थिएनन् । महान व्यक्तित्व बालकृष्णन समका ज्वाई, छोरी रश्मीका पति थिए । सेनाले यिनलाई हत्या गरेर खाल्डो खनी पुरेका थिए ।

रामराजा प्रसाद सिंहलाई मुलुकको सर्वोच्च नागरिक पदक दिईयो । पदकको नाम मलाई याद भएन । कुनै समय, पंचायतको शासनमा, ०४२ तिर राष्ट्रिय पंचायतको भवनमा, राज परिवार संलग्न रहेको होटेल अन्नपुर्णमा कयौं बम बिष्फोट गराएका थिए । कयौं मानिसको ज्यान गयो । त्यस बिषयमा मेरा समकक्षी साथीहरू साकेतचन्द्र मिस्र, हरि भुजेल झोलहरू आज पर्यन्त बेपत्ता छन् । डा. लक्ष्मी नारायण झालाई थुनामा नै मारियो, संगै यातना भोगेका जनकपुरका युगलकिशोर कर्ण आज पनि कहाली लाग्दो संस्मरण सुनाउन छन् । गणेश साहजी अहिले माओवादी पार्टीका एक बौद्धिक नेताको रूपमा त्यस घटनालाई याद गर्दा हुन् । यस बम काण्डका कारण रामराजा प्रसाद सिंहलाई मृत्यूदण्ड सुनाईयो । सर्वोच्च अदालतले सदर गर्यो । रामराजा प्र. सिंह, उनका भाइ लक्षमण प्र. सिंहलाई मृत्यदण्डका साथ सर्वस्व हरण गरियो । करौडौं करोडको सप्तरी र सिरहाका जग्गाहरू सरकारले कब्जा गर्यो । मुलुकमा संसदीय प्रजातन्त्र आयो, कृष्ण प्र. भट्टराई प्रधानमन्त्री भएपछि पनि आममाफी दिईएन । बरू नेपाल मै जेल बस्छु तर मुलुक फर्कन्छु भनी अड्डी लिदा पनि भारतका तत्कालिन प्रम चन्द्रशेखरले फर्कन प्रतिबन्ध लगाए।

फलतः मुलुकमा बहुदल पुनर्स्थापित भएपनि रामराजा प्रसाद सिंह पहिलो आम निर्वाचनमा सहभागी हुन पाएनन् । त्यस निर्वाचनमा रामराजा सिंहको पार्टीले भाग लिएको भए मधेस क्षेत्रमा नेपाली काँग्रेसलाई नोक्सान पुग्ने थियो-गुह्य जानकारी राख्नेहरू यसैलाई कारण बताउँछन् ।

सिके प्रसाई नेपाली काँग्रेसका अद्वितीय प्रकारका नेता थिए, भूबिक्रम नेम्बाङका झैं । अनेकन फौजदारी अभियोगका कारण भारतमा निर्वासित थिए । राजाबाट आममाफी पाएर मात्र नेपाल फर्किन पाएँ । सोचौं, यदि सिके प्रसाई, रामबाबु प्रसाई, भूबिक्रम नेम्बाङ, मच्छेन्द्र केरूङ, गोपाल राई, तुर्सा हेमरम जस्ता ठूला नेताहरू जो कुनै समय बिभिन्न फौजदारी अभियोगमा आरोपित रहेर भारतमा निर्वासित रहनु परेको थियो । यदि आममाफी न दिईएको भए के हुन्थ्यो ? अहिले चरण प्रसाईजी याद गर्दैनन् । तर, नेकाँका ठूला नेता रामबाबु प्रसाई उपर त गौहत्या कै मुद्दा चलाईएको थियो । रामबाबुले अदालत मै मुद्दा कबुलेका थिए । अदालतले त सजायँ नै तोकेको थियो । यदि राजनीतिमा माफी मिनाहाको कुरा नहुने भए यतिंजेलसम्म मुलुकका प्रजातान्त्रिक र कम्युनिष्ट आन्दोलनका सयौं रामबाबु प्रसाई तथा मोहनचन्द्र अधिकारीहरूको राजनीतिको उहिल्यै भ्रुण हत्या भैसकेको हुन्थ्यो।

जन्म कैदको सजायमा जेल रहेका बालकृष्ण ढुंगेल यस अघि कैद मिनाहामा रिहा भए । एमालेले यसलाई मन पराएन, लगतै उनी एमालेमा प्रवेश गरे त्यहाँका नेता भए । फेरि एमालेले कहिले पनि कैद मिनाहाको आलोचना गरेन । राजाको शासनमा दरवारका खिचलोका कारण कयौंका उपर गंभीर फौजदारी अभियोगमा मुद्दा चलाईयो । थुनियो, जेल परे, अदालतले, सैनिक अदालतले सजायलाई अनुमोदन गर्यो । यसै मध्येका पूर्व प्रहरी आईजिपी डिबी लामा बहुदल आएपछि माफी पाएँ । अरूहरूले पनि माफी पाएँ । डिबी लामा त सांसद पनि भए । कति लामो कथा कथु हजुरहरू ?

रेशम चौधरी संलग्न रहेको भनिएको टिकापुर बारदातका बारेमा सत्य तथ्य आउनै बाँकी छ, आउँला । मैले जाने बुझेसम्म त्यस घटना पछि “स्ट्रीट ट्रायल” को आधारमा प्रहरीले अनुसन्धान गर्यो । प्रहरी स्वयं त्यस बारदातको एक पक्ष हो । प्रतिशोधी पक्ष मुद्दा दायर भयो, सर्वोच्च अदालत तकले रेशमलाई दोषी करार गर्यो । अहिले सरकारले कैद मिनाहाका साथ माफी दियो । समाज तरंगित भएको छ ।

भारतका पूर्व प्रम राजीव गांधीको हत्या भयो । यो सामयिक संसार कै ठूलो र जघन्य आतंकवादी घटना थियो । कयौंका उपर अपराध साबित भयो । मृत्यूदण्ड तकको सजाय दिईयो । सोनिया गांधीले मृत्यूदण्ड न दिनोस् भनेर आग्रह गरिन्। हालै जेलमा गएर पिताका हत्याराहरूलाई छोरी प्रियंका गांधीले भेंट गरिन र रिहा गरि दिनोस् भनी । समाजमा, मानिसहरूमा दण्ड भावनाको प्रचुरता भएर मात्र हुन्न् करूणाले पनि स्थान पाउनु पर्दछ।

रेशम रिहा भए वा अन्यथा केही भएन भने रिहा हुनेछन् । अब प्रतिशोधलाई सबैले बिर्सनुस् र रेशमले जिम्मेदारीका साथ मुलुकका लागि, आफ्नो पिछडिएको समाजका लागि राजनीति गरून् । यसको लागि मुलुकले पनि उनलाई मौका दिनु पर्दछ। मुलुकका सामु अरू धेरै कुराहरू न्याय तथा निसाफका लागि पर्खि बसेको छ। अब सक्नु हुन्छ भने त्यता तिर लाग्नुस् हजूर ।

फेसबुकबाट साभार ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?