मलेसियासँग नेपाल पराजित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । मलेसियामा सुरु भएको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भएको हो । योसँगै पाँच खेलको सिरिजमा एक-शून्यको अग्रता लिएको छ ।

नेपालले खराब ब्याटिङ गरेपछि जितका लागि ५१ रनको सामान्य विजयी लक्ष्य पाएको मलेसियाले १३.२ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । मलेसियाको जितमा ओपनर वान जुलिया वान मोहम्मद रोस्दीले २२ बलमा दुई चौकासहित १३ रनको योगदान दिनुभयो । आइना हामिजाह हशिम १५ बलमा दुई चौकासहित १२ रनमा नटआउट रहनुभयो ।

नेपालकी सीता राना मगरले चार ओभरमा एक मेडनसहित १३ रन खर्चेर दुई विकेट लिनुभयो । यस्तै, कप्तान रुविना क्षेत्री बेलवासेले चार ओभरमा सात रन खर्चेर दुई तथा कविता कुँवरले दुई ओभरमा चार रन खर्चेर एक विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिला ब्याटङको निम्तो पाएको नेपाल १६.५ ओभरमा ५० रनमा अलआउट भएको थियो । नेपालका नौ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका तर्फबाट सम्झना खड्काले सर्वाधिक १३ रन बनाउनुभयो । नेपालले अन्तिममा नौ रन बनाउँदा सात विकेट गुमाएपछि ५० रनमै अलआउट भएको हो । नेपाल एक समय ४१-३ को अवस्थाबाट ५० रनमा सबै विकेट गुमाएको थियो ।

नेपालले दोस्रो ओभरमै ओपनर सीता रानामगरलाई शून्य रनमा गुमाएको थियो । अर्को ओभरमा काजोल श्रेष्ठ ६ रनमा आउट हुनुभयो ।
यस्तै, इन्दु बर्मा तीन, ज्योति पाण्डे ११, रुविना क्षेत्री दुई, अश्मिना कर्माचार्य तीन, कविता जोशी एक, कविता कुँवर र अप्सरी बेगम डक आउट हुनुभयो । मलेसियाकी निक नुर डिनले चार ओभरमा एक मेडनसहित नौ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । ऐश्या एलिसाले दुई ओभरमा नौ रन खर्चेर दुई विकेट लिनुभयो ।

नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि जेठ १८ मा तेस्रो, जेठ २० मा चौथो तथा जेठ २१ मा पाँचौँ खेल हुनेछ ।
यसै खेलमार्फत् युवा ब्याटर सम्झना खड्का र स्पिनर कृतिका मरासिनीले टी-२० अन्तर्राष्ट्रियमा नेपाली टोलीमा डेब्यु गर्नुभएको छ । सुदूरपश्चिमकी सम्झनाले गत वर्ष पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच खेलमा १३५ रन प्रहार गर्नुभएको थियो ।

उहाँ प्रतियोगिताको सर्वाधिक रन स्कोर गर्ने सूचीको शीर्षस्थानमा हुनुहुन्थ्यो । यस्तै, उहाँले सुदूरपश्चिमलाई ललितपुर मेयर्स कपको फाइनलमा पुर्‍याउनमहत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

यस्तै, यू–१९ राष्ट्रिय क्रिकेट टोलीकी कप्तान कृतिकाले लुम्बिनीबाट घरेलु क्रिकेट खेल्दै आउनुभएको थियो । नेपालको सुरुवाती ११ टोलीमा अप्सरी बेगम, अश्मिना कर्माचार्य, इन्दु बर्मा, ज्योति पाण्डे, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, कृतिका मरासिनी, रुविना क्षेत्री, सम्झना खड्का र सीता रानामगर हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?