प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत, टोलीमा पाँच मन्त्री रहने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण र भ्रमण दलमा रहने अधिकारीहरूको नाम पनि टुंगो लगाएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री दाहालको जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणको टोली निर्माण गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित पाँचजना मन्त्री रहने उहाँले जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यस्तै, प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ गते हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुनेछ । वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री दाहाल र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको समेत आयोजना गर्नुहुनेछ । प्रधानमन्त्री दाहाल नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने नेपालको परराष्ट्र र भारतको विदेश मन्त्रालय दुवैले जनाएका छन् । यस भ्रमणले भारतको ‘छिमेकी पहिलो’ नीतिलाई अझ सुदृढ गर्दै नेपाल र भारतबीच सम्बन्ध अझ मजबुत बनाउने भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणका क्रममा केही नयाँ चिज नेपाललाई प्राप्त हुने र नेपाल-भारत सम्बन्धको आयाम पनि नयाँ ठाउँमा पुग्छ भन्ने विश्वास गरेको बताउँदै आउनुभएको छ ।

केही दिनअघि प्रधानमन्त्री दाहालले भन्नुभएको थियो, ‘सायद यो (भ्रमण) राम्रो अवसर हो, नेपालका लागि पनि र भारतका लागि पनि । हामीले दुईपक्षीय सम्बन्धलाई बलियो पार्ने, दुईपक्षीय सहयोगका क्षेत्रहरूलाई नयाँ बनाउने । अहिले मैले धेरै भन्न उचित हुँदैन तर एउटा नयाँ इतिहास योपटक रचिन्छ होला भन्ने विश्वासका साथ म भारत जाँदै छु ।’ प्रधानमन्त्री दाहाल जेठ २० मा काठमाडौं फर्किनुहुने छ ।
यसैबीच, प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतेदेखि हुने आफ्नो भारत भ्रमणबारे सदनमा जानकारी गराउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे जानकारी गराउनुभएको हो । उहाँले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?