ठेकेदारको लापरवाही: पाँच पटक म्याद थप्दा पनि भएन लोकमार्ग कालोपत्रे

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । साढे दुई दशक अगाडि ट्रयाक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको अक्षते-घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । निर्माण कम्पनीको लापरवाहीले कालोपत्रे नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । यस खण्डमा पर्ने २५ किलोमिटर सडक मध्य हालसम्म १४ किलोमिटर मात्रै कालोपत्रे भएको छ । जिल्लाको सबैभन्दा दुर्गम मानिने निसीखोलामा दुई वर्ष अगाडिनै कालोपत्रे भए पनि सुगम मानिने यस खण्डमा भने ढिलासुस्ती भइराखेको छ । वर्षौदेखि सडक कालोपत्रे नहुँदा सडक वरपरका स्थानीय र यात्रु हिउँदमा धुलो र बर्खामा हिलोका कारण आजित बनेका छन् ।

सडकको काठेखोला गाउँपालिका-५ र ६ का दर्जनौँ स्थानीय विस्थापितसमेत भएका छन् । लोकमार्ग कार्यालयले यस खण्डको कालोपत्रेका लागि दुई निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । वि.सं. २०७३ मा सम्झौता गरेर कालोपत्रेको काम सुरु गरे पनि साँघुरो र अप्ठ्यारा सडकको अवस्था उस्तै छ । माथिल्लो बिहुँ खण्डमा कालोपत्रे गर्न एपी एस सिएफ इसिसी जेवी र तल्लो खण्डको भरत सिद्धिशाही जेवीले जिम्मा लिएको थियो । माथिल्लो खण्डमा काम गर्ने म्याद असार ५ गते र तल्लो अक्षते खण्डको असार २० गतेसम्म छ । बिहुँ खण्डमा निर्माण कम्पनी बेला-बेला सम्पर्कविहीन हुँदा काम हुन सकेको छैन । सडकमा काम गर्ने मजदुर र उपकरणहरु निकै न्यून हुँदा असार अन्तिमसम्म कुनै पनि हालतमा काम सकिने संभावना देखिदैन ।

तल्लो खण्ड अन्तर्गतको बागलुङ बजारदेखि अक्षतेसम्म कालोपत्रे र सडक सराकिलो बनाउने, नाली निर्माण गर्ने काम भएको छ । घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक भने एक दशक पहिलेनै कालोपत्रे भएको थियो । बाढी पहिरोका कारण उक्त खण्डमा अहिले मर्मत सम्भार हुँदैछ । मर्मत सम्मभारको काम पनि तीव्र रुपमा भइरहेको छ । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका इन्जिनियर पवन सुवेदीले काम गर्नका लागि निर्माण व्यवसायीलाई ताकेदा गरे पनि अटेरी गरि रहेको बताउनुभयो । निर्माण व्यवसायीले काम नगर्दा यात्रुले दुःख पाउनुका साथै आफूहरुलाई पनि समय-समयमा दबाव आइराख्ने उहाँको भनाई छ ।

हालसम्म निर्माण कम्पनीले पाँच पटक म्याद थपेको इन्जिनियर सुवेदीले बताउनुभयो । गत पौष महिनामा निर्माण कम्पनी सम्पर्कविहीन भएको र कार्यालयले ठेक्का किन नठोड्ने भनि सूचना प्रकाशन गरेपछि सम्पर्कमा आएर काम गर्ने प्रतिबद्धता जनाएको उहाँ बताउनुहुन्छ । त्यस बेला काम सुरु गर्ने भने पनि अहिलेसम्म तीव्र रुपमा काम नगरेको सुवेदीले बताउनुभयो । असार २० गतेसम्म पर्खने र त्यसपछि ठेक्का टोड्नेको विकल्प नभएको उहाँको भनाइ छ ।

“निर्माण कम्पनीका कारण सबैलाई समस्या भएको छ, यतिका समय भयो ठेक्का सम्झौता भएको, तर काम हुँदैन, कार्यालयबाट हुने जति सबै सहयोग गरेका छौँ, काम गरे जतिको भुक्तानी पनि भएको छ, तर काम हुँदैन,” इन्जिनियर सुवेदीले भन्नुभयो - “अहिलेसम्म ७० प्रतिशत काम भएको छ, तल्लो खण्ड आठ किलोमिटर र माथिल्लो छ किलोमिटर सडकमा काम भएको छ, म्याद हुँदा हुँदै ठेक्का ताेड्न लागियो भने उसले अदातलमा मुद्धा हाल्यो भने झन् लफडा हुन्छ, म्याद सकियो भने ताेडेर नयाँ प्रक्रिया अगाडि बढ्छ, असारको २० गतेसम्म काम सक्ने संभावना कम छ ।”

स्थानीय कृष्णप्रसाद कँडेलले सम्बन्धित निकायले चासो नदिँदा ठेकेदार कम्पनीले काम गर्न आलटाल गरि रहेको बताउनुभयो । २५ औँ वर्षदेखि सडक छेउमा घर भएका नागरिकले सडकको हिलो र धुलो पन्छ्याएर दिन बिताउने गरेको गुनासो पोख्नु भयो । जब बर्खा लाग्छ, तब मेसिन लिएर काम गरे जस्तो गर्ने र १० दिनपछि कामदार र ठेकेदारनै हराउने उहाँको भनाई छ ।

“सुरुमा सडक आउँदा निकै खुसी लागेको थियो, सडकले सुविधा दिलाउला, गाउँलेको जनजीवनमा परिवर्तन ल्याउला भन्ने लागेको थियो, तर हामीले सोचे जस्तो भएन, अहिले हिलो धुलोले पुरिएर बस्नु परेको छ, सडक आएपछि व्यापार व्यवसाय गर्न धेरैले सडक छेउछाउमा घर पनि बनाए तर वर्षौँसम्म सडक कालोपत्रे हुन नसक्दा विस्थापित हुन बाध्य भए” कँडेलले भन्नुभयो, “कतिपय ठाउँमा सडक कालोपत्रे भएर भत्किएयो, फेरि कालोपत्रे गर्ने बेला हुन लाग्यो यहाँको अवस्था यस्तो बिजोग छ ।”

लोकमार्गको कुल एक हजार ७७६ किलोमिटर मध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । हालसम्म एक सय ३१ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । सडकको दुरावस्था हुँदा दुर्घटनाको जोखिम बढेको चालक रेमबहादुर विकले बताउनुभयो । ठाउँठाउँमा ठूलाठूला खाल्डाखुल्डी हुँदा गाडी बिग्री रहने र यात्रा गर्नै कठिन हुने उहाँले गुनासो पोख्नुभयो ।

विकले भन्नुभयो - “यो बाटोमा गाडी चलाउन थालेको १०/१२ वर्ष भइसक्यो, यो अवधीमा सयौँ पटक सडकका कारण गाडी बिग्रियो, गाडी बिग्रिदा लाखौँ रुपैयाँ खर्च भयो, धेरै पटक दुर्घटनाबाट बचियो, हरेक वर्ष बाटो राम्रो बनाउला जस्तो गर्छ, तर अलिअलि काम गरेर छोड्छ, हामी त हैरान भइसक्यो, के गर्ने जसरी पनि गाडी चलाउनै पर्‍यो ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?