बिएमसिए बास्केटबलमा ५३ टिम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बुढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बिएमसिए) को आयोजनामा प्रथम बिएमसिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ५३ टिमको सहभागिता रहने एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १० टिम सहभागी हुनेछन् । सिनियर ब्वाइजलाई आठ समूह, सिनियर गल्र्सलाई चार समूह र जुनियर ब्वाइजलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।

तीनै विधाका विजेताले १५ हजार तथा उपविजेताले १० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ ‘मोस्ट भेलुएबल प्लेयर’, उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र सर्वाधिक स्कोरकर्तालाई पुरस्कार प्रदान गरिनेछ ।

पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मीदेवी तामाङले खेलकुदमा पहिलो प्रयासस्वरूप विद्यालयले बास्केटबल प्रतियोगिता आयोजना गरेको बताउँदै आगामी दिनमा पनि प्रतियोगिताले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।

बुढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर एवं एकेडेमीका गुठियार उद्धवप्रसाद खरेलले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न स्थानीय सरकारको पनि सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताका खेलहरू बुढानीलकण्ठ नगरपालिका-२, रुद्रेश्वर हाइटस्थित आयोजकको कोर्टमा खेलाइनेछ । एघारदिने प्रतियोगितामा जम्मा ११० खेल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?