प्रा. दाहालको ११औँ कृति ‘कालपात्र’ उपन्यासको विमोचन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार प्रा. पुरुषोत्तम दाहालको ११औँ कृति ‘कालपात्र’ उपन्यासको विमोचन गरिएको छ ।

हिमालय टाइम्सका प्रधान सम्पादक समेत रहनुभएको दाहालको उक्त कृति मंगलबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक कार्यक्रमका बिच विमोचन गर्नुएको हो ।

उपन्यासको कथावस्तु मसानघाटबाट सुरू भएर मसानघाटमै अन्य भएको लेखक दाहाल बताउनु हुन्छ । देशको विकृति राजनीतिले ‘कालपात्र’ जन्माएको बताउँदै उहाँले यो उपन्यास गत वर्ष अमेरिका बसाइका क्रममा तयार पारेको जानकारी दिनु भयो ।

राजनीतिशास्त्रका प्राध्यापक दाहालले यसअघि मेरो पत्रकारिता, शान्ता उपन्यास, प्रक्षेपण, शीखरवृत्त, अन्धकारको यात्रीलगायत १० वटा कृति लेखिसक्नुभएको छ । लेखक दाहालका यसअघि शान्ता उपन्यासको नेपाली र अङ्ग्रेजी संस्करण प्रकाशन भइसकेको छ। लेखकको यो दोस्रो उपन्यास हो।

कृतिमाथि टिप्पणी गर्दै पूर्वसांसद शोभाकर पराजुलीले 'कालपात्र' उपन्यास मानवतावादको उत्कृष्ट उदाहरण भएको बताउनु भयो । राजनीतिमा विद्यमान यौनको प्रभावलाई लेखकले कलात्मक ढंगले प्रयोग गरेको उहाँको भनाइ छ ।

प्रा.डा. ज्ञानु अधिकारीले वर्तमान राजनीति, पत्रकारिता र पूर्वीय दर्शनको त्रिकोणात्मक सम्बन्धले उपन्यास उत्कृष्ट बनेको बताउनु भयो। उपन्यासमा समीक्षात्मक टिप्पणी गर्दै उहाँले उपन्यासका पात्रका नाम मौलिक रहेको र आरम्भ र अन्त्यमा दार्शनिक चिन्तन मिश्रित भएको बताउनु भयो ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालाले उपन्यासमा आजको नेपालको यथार्थ चित्र भेट्न सकिने बताउँदै ‘कालपात्र’ पौरस्त्य दर्शनमा आधारित उपन्यास रहेको बताउनु भयो ।

समसायिक नेपाली राजनीतिको विकृत पक्ष र नेपाली पत्रकारितामा देखापर्दै गएको चरम विसंगतिलाई लेखकले कलात्मक रुपमा प्रस्तुत गरेको यस उपन्यासको मूल्य ५२५ रुपैयाँ रहेको छ । दुई सय पृष्ठको ‘कालपात्र’ इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रालिले प्रकाशन गरेको हाे ।   एलाइन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रालिको मुद्रणमा प्रकाशित याे उपन्यास आजैबाट बजारमा उपलब्ध छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?