निशा लेभल टु प्रशिक्षक

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ओलम्पियन निशा रावलले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गर्नुभएको छ । राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएकी निशाले वल्र्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गर्नुभएको हो । उहाँले यसअघि गत फेब्रुअरी ६ मा ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गर्नुभएको हो ।

तेक्वान्दोकी चौथो डान निशाले राष्ट्रिय टोलीसँगै विभिन्न विद्यालयमा पनि प्रशिक्षण गराउँदै आउनुभएको छ । निशा यही जेठ १५ देखि २१ गतेसम्म अजरबैजानको वाकुमा हुने तेक्वान्दोको वल्र्ड च्याम्पियनसिपमा पनि नेपाली टोलीको प्रशिक्षकका रूपमा सहभागी हुनुहुनेछ । वल्र्ड च्याम्पियनसिपमा नेपालका चार महिला र चार पुरुषले प्रतिस्पर्धा गर्नेछन् । महिला टोलीको प्रशिक्षकको जिम्मेवारी निशाले सम्हाल्दै आउनुहुनेछ ।

पुरुषको ६८ केजी तौल समूहमा वीर महरा, ८७ केजीमा निरज देवा, ६३ केजीमा गोविन्दबहादुर आले र सुमित विष्टले ५४ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । यस्तै, महिलातर्फ ४६ केजी तौल समूहमा युनिशा राई, ४९ केजीमा काजल श्रेष्ठ र ६७ केजी तौल समूहमा इन्दिरा बस्नेतले प्रतिस्पर्धा गर्नुहुनेछ ।

निशाले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा नेपालको चुनौती प्रस्तुत गर्नुभएको थियो । ३१ औँ ग्रीष्मकालीन ओलम्पिकमा वाइल्ड कार्डमार्फत् छनोट हुनुभएकी उहाँले महिला ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो । ललितपुरको इमाडोलकी निशाले यसअघि सन् २०१४ को इन्चोन एसियाडमा प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले हङकङ एसियन सिटी गेम्स र काठमाडौंमै भएको माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण पदक जित्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?