हेम्जाकोट हाम्रै वरिपरीकै कथा हो : सरोज पौडेल

Read Time = 9 mins

यही २६, जेठदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा आउँदै छ । यतिबेला चलचित्रको प्रमोशनको काम भइरहेको छ । यो चलचित्रको केही दिनअघि सार्वजनिक ट्रेलरले दर्शकको राम्रो साथ पाइरहेको छ । यसका गीत, पोष्टरबाट पनि दर्शकमा एक किसिमको उत्सुकता देखिन्छ । चलचित्रका निर्देशक सरोज पौडेल यसै चलचित्रबाट नेपाली फिल्म उद्योगमा डेब्यु गर्दैहुनुहुन्छ । ‘वेलकम टु हेम्जाकोट’ हाम्रो वरिपरीकै कथा हो भन्नुहुने निर्देशक सरोज पौडेलसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त कुराकानीको संक्षिप्त अशंः-

यो चलचित्रबाट डेब्यु गर्दै हुनुहुन्छ, कस्तो लाग्दैछ ?
म त के भन्छु भने, डेब्यु भए पनि दर्शकले यो चलचित्रबाट असाध्यै रमाइलो मान्नुहुनेछ । हुन त मानवीय स्वभाव पनि होला, अलिकति नर्भस, केही आशा र अपेक्षाको भुमरीमा छु । तर, बढी आशावादी छु । यो चलचित्र निर्माण गर्नुअघि असाध्यै सानो टिम बनाएको थिएँ । तर, पछि टिम सदस्य बढ्न पुग्यो । स्वभाविकै रहेछ, चलचित्र निर्माण गर्दा ठ्याक्कै सोचेको नहुनेरहेछ । यो चलचित्रको काम सुरु गर्दैगर्दा चलचित्र बनाउन कति कठिन छ भन्ने बुझ्न पाएको थिएन । सुन्नु र बुझ्नु फरक कुरा हो, मैले सुनेको थिए, बुझेको त थिएन । तर, आफैं अनुभव यतिबेला मात्रै गर्दै थिए । जिन्दगी सिकाइ हो भन्छन् नि, म निर्देशन यात्रा थाल्दै, सिक्दै, बुझ्दै र नयाँ अनुभव संगाल्दै अघि बढेको छु । विभिन्न कठिन परिस्थितिका बाबजुद चलचित्र प्रदर्शनको संघारमा छ । आशा गर्छु, दर्शकले यसलाई असाध्यै रमाइलो मान्नुहुनेछ ।

कस्तो बनेको छ चलचित्र ?
म सुरुमै भन्छु, यो चलचित्र अहिलेसम्मकै उत्कृष्ट चलचित्र बनेर अनावश्यक गफ चुट्दिन । तर, दर्शकले चलचित्र हेर्दासम्म रमाइलो मान्नुहुनेछ ।

निर्देशनमा कसरी आउनुभयो ?
चलचित्र उद्योगमा प्रवेश गर्ने रहर त थियो । तर, अन्योलमा थिए । कसरी प्रवेश गर्दा ठीक होला भन्ने उत्कसुकतासँगै भारतीय शहरमा छिरेँ । त्यसैक्रममा बैंग्लोरमा रहेको बैंग्लोर फिल्म एकेडेमी (बिएफए)बाट तीन वर्षे निर्देशन कोर्ष पढेर नेपाली चलचित्र उद्योगमा आएको हुँ । म निर्देशनसँगै सानैबाट कथा लेखनमा रुचि राख्थेँ । निर्देशनमात्रै होइन, म आफैंले ‘वेलकम टु हेम्जाकोट’को स्क्रिप्ट पनि लेखेको हुँ । सानैबाट फिल्म उद्योगमा आउने रुचि थियो, जब निर्देशन विधा पढ्न बैग्लोर पुगेँ, त्यसपछि चलचित्र उद्योगमा करिअर बनाउनुपर्छ भनेर होमिए ।

केही समय अघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा ‘वेलकम टु हेम्जाकोट’ले उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो । त्यहाँ उपस्थित अतिथिले उत्कृष्ट प्रतिक्रिया पनि दिनुभयो । यसले मलाई झन् चुनौती थपेको महसुस गरेको छु । यहाँ गर्न धेरै बाँकी छ, पहिलो चलचित्रलाई अवार्ड दिइयो । खुशी त निकै भए, खुशीसँगै झन् ठूलो चुनौती थपिएको भान भएको छ ।

नेपाली फिल्म उद्योगमा देखेको तपाईंको सपना कस्तो खालको हो ?
नेपाली फिल्म इण्डस्टिजका लागि केही राम्रो गर्न मन छ । त्यसो गर्न सकेँ भने म आफैंका लागि पनि राम्रो हुँदै जानेछ । हुनसक्छ पहिलो चलचित्रमा कतिपय कमजोरी देखिएलान्, कतिपय छोपिएलान् । तथापि, म आफैंले पनि त कतिपय कुरा, कतिपय गल्ती महसुस गरेको छु । अघि पनि भनेँ, सिकाइ अनन्तकालसम्म भइराख्ने कुरा हो । यो चलचित्र निर्माण भइसकेपछि अहिले धेरै कुराको सिकाइ प्राप्त भएको छ । पक्कै पनि भविष्यमा म केही न केही राम्रा काम दर्शकलाई पक्कै दिनेछु ।

नेपाली चलचित्र उद्योग खासै व्यावसायिक बन्न सकेको छैन, कतिपयले त यहाँ करिअर बनाउन गाह्रो छ पनि भन्छन्, तपाईंको बुझाइ के कस्तो छ ?
यो कुरा थाहा पाएरै आएको निर्देशक हुँ । सुरुवातमा गाह्रो त भएको छ, तर यो बुझेको गाह्रो विषय हो । स्ट्रगलबिना त के हुन्छ र ? अझ चलचित्र लाइन भनेकै स्ट्रगल हो । एकपटक स्ट्रगल गरेर केही हुन्न, हरेक काममा उत्तिकै स्ट्रगल गर्नुपर्छ । अनिमात्रै सफल भइने उद्योग हो । मैले त त्यस्तो निराश र यात्राविहीन देख्दिनँ यो उद्योग । हामी सबै मिलेर उद्योगलाई व्यावसायिक बनाउन लाग्यौं भने सबैका लागि राम्रो हुनेछ ।

पहिलो डेब्यु चलचित्र प्रदर्शन नहुँदै काठमाडौंमा सम्पन्न एक फेस्टिबलमा अवार्ड पनि थाप्नुभयो, पहिलो चलचित्रबाट प्रदर्शन नहुँदै पाएको यो सफलतालाई कसरी लिनुहुन्छ ?
हाम्रो चलचित्रले केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा उत्कृष्ट नेपाली चलचित्रको अवार्ड जितेको थियो । त्यहाँ उपस्थित अतिथिले उत्कृष्ट प्रतिक्रिया पनि दिनुभयो । यसले मलाई झन् चुनौती थपेको महसुस गरेको छु । यहाँ गर्न धेरै बाँकी छ, पहिलो चलचित्रलाई अवार्ड दिइयो । खुशी त निकै भए, खुशीसँगै झन् ठूलो चुनौती थपिएको भान् भएको छ ।

यो चलचित्र प्रदर्शनपछिका तपाईंका योजना के कस्ता छन् ?
सम्भवतः यो चलचित्र प्रदर्शन नहुँदै अथवा प्रदर्शन भएको केही दिनमै नयाँ चलचित्र घोषणा गर्ने तयारीमा छौं । हामीले नयाँ चलचित्रको कथा लेखनको काम सकाइसकेका छौं । यति कुरामा विश्वस्त पार्न चाहन्छु, त्यो चलचित्र विग बजेटको त होइन । तर, सानो खर्चमा उत्कृष्ट सिनेमा निर्माण हुनेछ । मलाई के लाग्छ भने, ठूलो बजेटमा होइन सानो बजेटमा जोखिम मोल्नुपर्छ । किनभने, संसारभरकै चलचित्र उद्योगमा सम्भावना त हुन्छ, तर केही हदसम्म जोखिम पनिसँगै आएको हुन्छ । जोखिम र भवितव्य स्थिति हेरेरमात्रै काम गर्न सकियो भने त्यसले पार्ने असर अथवा फाइदा पनि त्यसैनुसारको हुन्छ ।

अन्त्यमा, चलचित्र भनेको के हो ?
सोझो भाषामा भन्दा चलचित्र भनेको भिडियोमार्फत बोलिने कथा हो । हामीले कथा बोल्दा विभिन्न शैली अपनाउछौं, जुन शैलीनै दर्शकका लागि चाखलाग्दो प्रस्तुतीकरण हो । कथा सबैको राम्रो हुन्छ, प्रस्तुतीकरण कस्तो छ भन्ने कुरा मुख्य विषय हो । जब कुनै पनि मेकर्सले प्रस्तुतीकरणलाई ध्यानमा दिएर काम गर्छ, नयाँ शैली अपनाउँछ भने दर्शक त्यसमा इञ्जोएर गर्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?