चारदिने भ्रमणका लागि प्रधानमन्त्री आज भारत जाँदै

‘अखण्ड भारत’ नक्सा विवादले पार्न सक्छ छायामा

अनिल क्षेत्री
Read Time = 17 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि आज (बुधबार) नयाँदिल्ली जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गर्ने तालिका तय भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भ्रमणमा जान लाग्नुभएको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमणमा टोलीको टुंगो लगाएको छ । प्रधानमन्त्री प्रचण्डसँग भ्रमणमा नेपाल सरकारका पाँचजना मन्त्री, सचिव र वरिष्ठ अधिकारीसहित झण्डै ६० जनाभन्दा रहने बताइएको छ ।

शनिबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको थियो । भारत भ्रमणको तालिकाअनुसार प्रधानमन्त्री प्रचण्डको भ्रमण चार दिन (जेठ १७ देखि २० गतेसम्म) हुनेछ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधि मण्डलसँग हैदरावाद हाउसमा भेटवार्ता गर्नुहुने छ । वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र उहाँको प्रतिनिधि मण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जनदीप धनखरसँग पनि भेटवार्ता गर्नुहुने छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघ (फएनसिसिआई) र भारतीय उद्योग परिसंघ (सिआइआई) ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने छ । यसैगरी, प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले आयोजना गरेको स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नुहुने छ । प्रधानमन्त्री प्रचण्ड जेठ २० गते काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोसरोवरको पनि भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका रूपमा प्रचण्डको यो चौथो भारत भ्रमण हो ।

हवाई रुट, विद्युत् व्यापार र सीमा समस्या मुख्य एजेण्डा
आजदेखि सुरु हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा हवाई रुट अनुमति, विद्युत् व्यापार र सीमा समस्या समाधान लगायतका दर्जन बढी एजेण्डामा छलफल हुने बताइएको छ । भ्रमणको तयारीबारे सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यापारदेखि महाकाली सन्धिको डिपिआर निर्माणसम्मका विषयहरूमा छलफल हुने जानकारी दिँदै भन्नुभयो, ‘व्यापार, पारवहन, लगानी प्रवद्र्धन, ऊर्जा क्षेत्रमा व्यापार तथा अन्तरदेशीय विद्युत् प्रसारण लाइन, सिँचाइ बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल निर्माण, पक्की पुल निर्माण तथा एकीकृत जाँचचौकी, आन्तरिक कन्टेनर डिपो पूर्वाधार निर्माण लगायतको विषयमा छलफल हुनेछ । हवाईमार्गको सहजता र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूलाई भारतसँग जोड्ने मोटरेबल पुल र झोलुंगे पुलका निर्माणको सन्दर्भमा समेत यो भ्रमणमा छलफल हुनेछ ।’

‘लङटर्म पावर डिल’को प्रयास हुन्छ : परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी साउद)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा दीर्घकालीन ऊर्जा सम्झौताको प्रयास हुने बताउनुभएको छ । प्रधानमन्त्री दाहालको चारदिने औपचारिक भारत भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री साउदले भन्नुभयो, ‘विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने, ट्रान्समिसन लाइन विस्तार गरेर विद्युत् व्यापार बढाउने भारतसँग विद्युत् व्यापारसँगै बंगलादेशसँग पनि विद्युत् व्यापार गर्ने आधार बनाउने हामीले यस भ्रमणमा तयार गर्नेछौँ । नेपालमा विद्युत् क्षेत्रमा लगानी अभिवृद्धि गर्नका लागि, बिजुली बिक्री हुने बजारको सुनिश्चितता गर्नका लागि भारतसँग लङटर्म पावर डिल गर्ने प्रयास हुनेछ ।’ उहाँले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा कार्यान्वयन हुने सम्झौता मात्र गरिने दाबीसमेत गर्नुभयो । भ्रमणको क्रममा चीनसँग हुने व्यापारका लागि हिन्द प्रशान्त महासागरमार्फत हुने सन्धि सम्झौता पनि गरिने तयारी रहेको मन्त्री साउदले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण अगाडि ‘अखण्ड भारत’ नक्सा विवाद
भारतको नवनिर्मित संसद् भवनमा नेपाली भू–भागसमेत समेटर ‘अखण्ड भारत’को नक्सा अंकित गरिएपछि नेपालमा त्यसको चर्को विरोध सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उद्घाटन गरेको संसद् भवनको भित्तामा ‘अखण्ड भारत’ जनाउने मुरल (भित्ते चित्र) नक्सा राखिएको छ । जहाँ नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशीलासम्मको क्षेत्रलाई समेत समेटिएको छ । भारतको सत्तारूढ दल भाजपाका नेताहरूले उक्त मुरल नक्साका तस्बिरहरू सामाजिक सञ्जालबाट साझा गर्दै ‘अखण्ड भारत’ भन्दै लेखेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा सार्वजनिक भएको यो विषयले नेपालमा भने विरोध सुरु भएको छ ।

सरकारी अधिकारीहरूका अनुसार प्रधानमन्त्री प्रचण्डको आजदेखि सुरु हुने नयाँदिल्ली भ्रमणको मुखमा आएको यस्तो खबरले यात्रा नै खल्लो बनाउन सक्छ । भ्रमणमा ठूला नीतिगत छलफलहरूमै सरकारी पक्ष बढ्ता केन्द्रित हुने भए पनि दुईदेशीय सम्बन्धतामा तीक्तता ल्याउने सबैखाले गतिविधि परराष्ट्र मामिलाका जानकारहरूको मत छ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले यो घटनाका कारण भारतका निकटतम् छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिलेदेखि नै बिगार्दै आएको विश्वासको कमीलाई अझ बढाउने सम्भावना रहेको टिप्पणी गर्नुभएको छ । भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा अखण्ड भारतको विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ । यसले भारतका निकटतम् छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिलेदेखि नै बिगार्दै आएको विश्वासको कमीलाई अझ बढाउने सम्भावना छ । भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावबारे समयमै सार्वजनिक गरी सञ्चार गर्नु बुद्धिमानी हुनेछ ।’

एमाले अध्यक्ष ओलीको प्रश्न ‘प्रधानमन्त्री किन भारत जाने ?’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै भारतले आफ्नो नयाँ संसद् भवनमा राखेको नक्सामा नेपाली भूमि राखेकोबारे भारतसँग कुरा गरेर हटाउन लगाउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले त्यति काम गर्न नसके भारत भ्रमणमा किन जाने ? भन्ने प्रश्न गर्दै भन्नुभयो, ‘नेपालको भूमि अहिले आइरहेको छ नि ∕ लुम्बिनी कपिलवस्तु भारतको नक्सामा पारेर संसद् भवनमा काठमा कुदेर संसद्मा राख्यो भनेर । मैले सुनेको छु, हो होइन, अब हटायो भने, गल्ती महसुस ग¥यो भने त्यो आफ्नो ठाउँमा छ । तर, नेपाली भूमि अतिक्रमण गरेर, नेपालको भूमि संसद्भित्र हालेर भारतजस्तो पुरानो र नमुना लोकतन्त्र भएको भनिएको देशले यो व्यवहार गर्छ भने त्यसलाई उचित भन्न सकिँदैन । प्रधानमन्त्रीजी भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो गल्ती सच्याउनुस्, नक्सा हटाउनुस् भनेर कुरा गर्नुपर्छ । त्यति गर्न सक्नुहुन्न भने भारत भ्रमणमा किन जाने ?’

भारतीय संसद् भवनको नक्सा सरकारको नोटिसमा छ : ऊर्जामन्त्री बस्नेत
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद् भवनको नक्सा नेपाल सरकारको नोटिसमा रहेको बताउनुभएको छ । संसद्को पूर्वाधार समितिको बैठकमा समिति सदस्यहरूको जिज्ञासामा मन्त्री बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी पनि राखिएको विषयमा जानकार भएको बताउँदै भन्नुभयो, ‘यो विषय सरकारको नोटिसमा छ । कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’ परराष्ट्रमन्त्री एनपी साउदले पनि अखण्ड भारत नक्साबारे बुझ्न बाँकी रहेको प्रतिक्रिया दिनुभयो ।

विवादित नक्साबारे कुरा राख्न सुझाव
सत्तारूढ दल नेकपा माओवादी केन्द्रकै नेताहरूले पनि पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको क्रममा अखण्ड भारतको नक्सामा नेपाली भूमि समावेश भएको विषयलाई गम्भीर रूपमा उठाउन आग्रह गरेका छन् । पार्टीको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकमा नेताहरूले सीमाको विषयमा कुरा राख्न सुझाव दिएका हुन् । बैठकमा नेता शिवहरि खनालले प्रचण्डलाई सुझाव दिँदै भन्नुभयो, ‘अखण्ड भारतको नक्सामा नेपालका भूमि लुम्बिनी र कपिलवस्तुलाई समेटेको विषय बाहिर आएका छन् । प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा राख्नुस् ।’

नेपालको हितविपरीत कुनै सम्झौता नगर्न आग्रह
नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको आज (बुधबार)बाट हुने भारत भ्रमणका क्रममा नेपाल राष्ट्र तथा नेपाली जनताका हितविपरीत कुनै पनि सहमति वा सम्झौता नगर्न ध्यानाकर्षण गराएको छ । पार्टीको स्थायी कमिटी बैठकपछि जारी विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डको औपचारिक भारत–भ्रमण देशको स्वतन्त्रता, साम्प्रभूता एवम् भूअखण्डता र राष्ट्रिय हितमा थप आँच नआउने गरी सम्पन्न भएको खण्डमा त्यो अहिलेको निम्ति उपलब्धि हुने ठहरसमेत गरेको छ ।

भ्रमणको क्रममा कुनै अनुचित सम्झौता हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा कुनै अनुचित सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ । भारत भ्रमणको पूर्वसन्ध्यामा पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले देश र जनतालाई फाइदा हुने सम्झौता गरिने बताउनुभएको हो । भारत भ्रमणका क्रममा सकेसम्म राम्रो गर्न कोसिस गर्ने तर नराम्रो चाहिँ नगर्ने दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘राम्रो गर्न बल गर्ने, सकिएन भने नराम्रो चाहिँ नगर्ने आफ्नो नीति छ । मैले लिएको संकल्प यत्ति हो भोलि राम्रो गर्न सकिए ठिक छ, सकिएन भने नराम्रो गरेर चाहिँ नआउने ।’

भारतबाट तीनवटा परियोजना शिलान्यास हुने
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा तीनवटा परियोजनाको शिलान्यास हुने भएको छ । त्यस्तै, एउटा परियोजनाको उद्घाटनसमेत हुने बताइएको छ । भारतको सिलिगुडीदेखि झापासम्मको पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको शिलान्यास भारतबाटै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने परियोजनाको समेत शिलान्यास गर्ने तयारी रहेको छ । त्यसैगरी, झापा बोर्डरमा एकीकृत जाँच चौकीको पनि शिलान्यास गरिने तयारी भइरहेको छ । नेपालगञ्जमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)को उद्घाटन पनि त्यहीँबाट संयुक्त रूपमा गर्ने तयारी भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?