कालो मोसो पोतिएको चेहरालाई वरासन

Read Time = 15 mins

साधारण मान्छेका घरमा जसरी घर चलाउने मूल मान्छे लोभी, अल्छे र विचार तथा उत्साहविहीन हुन्छ अनि अनेकौं प्रकारका समस्याले त्यो घरलाई घेर्छन् । एक प्रकारले हेर्दा विश्वलाई नै पनि घरको स्वरूप र अवस्थाबाट अध्ययन गर्न सकिँदोरहेछ । तर पनि यो त्यति सुहाउँदिलो भने मानिँदैन । किनभने विश्वसमाजका तुलनामा घर धेरै सानो एकाइ भएको हुनाले । सानो एकाइ घर तथा त्यस्ता करोडौं घरको समूह रहेको राष्ट्र चाहिँ एउटा तुलनाको एकाइ हुनसक्छ । आज मलाई वर्तमान सरकारका क्रियाकलाप छोराको बिहा गर्न बुहारी खोज्न हिँडेका बाबुआमा हुनेवाला सम्धीसँग सम्धिनीले र हुनेवाली बुहारीलाई बाबुले नै बिहा गरेर फर्केको घटनासँग तुलना गर्न मन लागेको छ ।

अदालत केका लागि ? जब अदालतमाथि राजनीति या मन्त्रिपरिषद् र राष्ट्रपति घोडा चढ्छन्, साराका सारा विधिविधान र विवेक तथा बुद्धिको घाँटी निचोरिन्छ अनि राष्ट्र या राज्य कतै रहन्छ ? विधिव्याख्याता (वकिल) र विधिचिन्तक राजनीतिशास्त्रका प्राध्यापकले भन्नुप¥यो राज्य र त्यसको मर्यादा त्यसमा प्रतिबिम्बित हुने अभिभावकीय छवि कहाँनेर रहन्छ ? त्यसबाट नागरिकले निष्पक्षता र सर्वसमानताको अपेक्षा गर्न सक्लान् ? रेशम चौधरी ज्यानमारा नै हुन् भनेर सर्वोच्चले पनि प्रमाणित गरेका कुरालाई बेवास्ता गरेर सत्ता टिकाउनका निमित्त अहिलेको सरकारले यो विवेक र पद्धतिविहीन काम गरेरै देखायो । यस अर्थमा के यस सरकारलाई कानुन, विधि, मर्यादा र विवेक विचारको आवश्यक्ता नै छैन ?

अबका दिनमा यो सरकारका क्रियाकलाप यस्तै अनुपम, अवैध र स्वार्थपरक लेनदेनमा आधारित पनि हुँदैजाने छैनन् भन्ने जनताले कसरी मान्ने ? आज एकजना अपराधीलाई उन्मुक्ति दिइयो सत्ताका लागि भने भोलि पनि त यसै प्रकारका अन्यान्य क्रियाकलाप नदोहोरिने कुनै लक्ष्मणरेखा हुन्छ र ? देशमा हिंसा आतंक मच्चाइएका बेला दुवैतिरबाट भएका न्याय अन्यायको निरूपण हुन सकेको छैन भने अरू पनि न्यायिक संस्थाले अपराधी करार गरेका कुरालाई आममाफी दिनुभनेको कुकुरको गहुँत छर्केर चोख्याएको भनेर मान्न जनताले किन हिच्किचाउने ? यसै गरी चोख्याउँदै जाने हो भने यो दानवीय क्रियाकलापलाई पनि लाज लाग्ने खालको सरकारको आचरण भनेर विश्वविरादरीले भन्यो भने ?

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलका चेहरामा जीवनभरि नलागेको कालो दाग शेरबहादुर र प्रचण्डले यस पटकलाई दिए भन्ने बोध सम्माननीय राष्ट्रपतिलाई हेक्का छ कि छैन होला । कि सत्ताका महमा डुबुल्कीमात्रै मारेर बस्नुभएको छ ?

स्वार्थले देशमा अनेकौं प्रकारका समस्या र सञ्जालको आविष्कार गरेको देखिन्छ । विवेकविनाका मान्छेका हातमा सत्ताको वाग्डोर गएपछि हुने विवेक र विधिविहीनताको नग्नचित्र आज देखापरेको छ । प्रजातन्त्रमा सत्तामा गएका दलको आचरण चिन्तन र दर्शनका साथै उसका शासन प्रणालीमा समेत नागरिकको स्वतन्त्रता र देश विकासका कार्यक्रम तथा विधिको सर्वोच्चता जनताले स्वीकार गरेका हुन्छन् भन्ने शास्त्रीय मान्यता रहेको हुन्छ । सत्तामा पाँच हजार जनता मारेको जिम्मा लिने बहादुर तथा प्रजातन्त्रका निमित्त ठूलो संघर्ष गरेको दल तर त्यसको नेतृत्व पंक्ति भने स्वार्थमा चुर्लुम्मा डुबेको रहेका बेला प्रजातन्त्रले लाज मान्नै पर्ने खालको काम भयो ।

वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलका चेहरामा जीवनभरि नलागेको कालो दाग शेरबहादुर र प्रचण्डले यस पटकलाई दिए भन्ने बोध सम्माननीय राष्ट्रपतिलाई हेक्का छ कि छैन होला । कि सत्ताका महमा डुबुल्कीमात्रै मारेर बस्नुभएको छ ? हो, हिजो एउटा सम्माननीयले जनतालाई दुःख दिएका कुरालाई वर्तमान राष्ट्रपतिले संशोधन गर्नुभएको सबैले देखे, बुझे यसका निमित्त उहाँलाई धन्यवाद आमजनताले दिएका छन् । तर, रेशम चौधरी काण्डले भने वर्तमान राष्ट्रपतिको चिन्तन क्षमतामा ह«ास आएको स्पष्ट देखियो । मधुलिप्त शानशौकतले विवेक धमिलिएछ । संवैधानिक असजिलो होला उहाँलाई तर जनताका अगाडि अपिल गर्न सक्नुपर्दथ्यो उहाँले । संविधानभन्दा जनता र विवेक नै ठूलो हो ।

देश र जनताको पनि विवेक रक्षका निमित्त संविधान प्रयोग गरिनुपर्छ । संविधान विवेक र पद्धतिविहीन हुँदैन । प्रचण्ड र शेरबहादुरको विवेकहीनताका खाल्डामा पर्नुभयो वर्तमान राष्ट्रपति यो सबैभन्दा ठूलो क्षति हो प्रजातान्त्रिक आचरण तथा विधिपालनाका क्षेत्रको । अलिकति पनि विवेक भएका मान्छेले यो स्वीकार्न सक्दैन । पशुपतिको जलहरी काण्ड अर्कातिर शेरबहादुर तथा प्रचण्डका स्वार्थका घेरामा परेको त स्पष्टै भएको छ । संसद्मा सांसदले नै बोल्न तर्क गर्न नपाउनु अर्को ठूलो विवेकहीन र नग्नलज्जा लुकाउने प्रयत्नका रूपमा लिएका छन् बौद्धिक समुदायले । संसदीय रेकर्डबाट त त्यो कालो कर्तुत भ्रष्टाचारीले हटाए तर जनता र आस्थामा खोपिएका ती भ्रष्टाक्षर हट्लान् र ?
अर्का बहादुर भ्रष्टाचारी हुन् केपी ओली । यस विषयको संसदमा उठान भएपछि उनका अरिंगाल संसद्मा जसरी उफ्रे त्यो उफ्रेको दृश्यले नै ओलीको भ्रष्टाचार प्रेमलाई देखाइरहेको थियो । प्रचण्ड र शेरबहादुरभन्दा पनि जब्बर स्वेच्छाचारी भ्रष्टाचारप्रेमी मूर्तिका रूपमा यस काण्डले ओलीलाई विश्वविख्यात बनाएको छ । देश चलाउने जिम्मा यस प्रकारका भ्रष्टलाई लाएर जनताले देश र आफ्नो कल्याण खोज्नु भनेको गोरु ब्यायो भनेर बिगौती खान बस्नु होइन भनेर कसैले भन्न सक्ला र ? नेपालका मतदाता पनि कम दोषी छैनन् । मतदातालाई प्रशिक्षण भएन आदि अनेकौं कुरा गरिएला तर आगाले पोल्छ भन्ने बालकबाहेक सबैलाई थाह हुन्छ ।

लोभीलाई भान्से बनाएपछि भान्सामा गड्बडी हुन्छ भन्ने लाटाले पनि बुझेको विषय हो । तत्कालीन स्वार्थमा यिनै भ्रष्टले दिएका नगदनारायण, मासुका चोक्टा अनि अलिकति रुद्ररस पान गरेर नै ओली तथा शेरबहादुर जस्ताको विजय भएको सबैले देखेका छन् । आगामी दिनमा पनि यिनै र यस्तै घटना भोलि पनि दोहोरिएर यिनै भ्रष्ट या नयाँ भ्रष्ट नआउलान् भन्न सकिँदैन । अतः कुनैदल या पार्टीमा लागेका तल्लो तहदेखि माथिल्लो तहसम्मकै सबै चतुर, वाचाल र निर्भीक बनेर आआफ्ना दललाई परिष्कार नगर्ने हो, बाघ र ब्वाँसालाई जनताका अगाडि ननङ्ग्याउने हो भने नेपालमा यस प्रकारका घटना दैनिकी नबन्लान् भनेर कसरी विश्वास गर्ने ?

देशका कर्मचारी हात चाट्ने कुरामा लोभिने, प्राध्यापक, वकिल, कलाकार आदि सबै यिनै भ्रष्टका नजिकमा पुगेर अवसर हत्याउन व्यग्र देखिनु यो देशकै दुर्भाग्य हो । मलाई कतिपय साथीहरू भन्छन् पार्टी सभापति शेरबहादुरकाप्रति यति धेरै कठोर किन बनेको त भन्छन् ? यो देशको भविष्य नै अन्धकार बनाउने काममा म लागेँ भने पनि मैले कठोर बन्नुपर्छ भन्ने ख्याल नागरिकलाई हुनैपर्छ भन्छु तर बुझ्ने र सुन्ने कसले ? सबैलाई एक छाक या उनान्सयको रिंगटा लागेको छ । त्यो छाक र उनान्सयलाई सयमा परिणत तिनै भ्रष्टले गराउन सक्छन् । जसले पनि लैनो गाईलाई न कुँडो दिन्छन् । थारालाई कल्ले दिने ? थारो गाई जंगलमा लखेटिँदो रहेछ । बाघले खाओस् या लडेर मरोस् कसैले मत्लव राख्दा रहेनछन् ।

गठबन्धनका विरुद्ध दह्रो गरी उभिन सकेका भए आज नेपाली कांग्रेसको एकमना सरकार बन्न पनि सक्थ्यो । शेरबहादुरका बोलीमा लोली मिलाउँदा देशलाई, जनतालाई, प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य पद्धतिलाई अपूरणीय क्षति भएको छ । अब डा.शेखरलगायत युवापुस्ताको ध्यान जानु आवश्यक छ ।

भर्खरै म कमलाखुँज र मध्यपहाडी भेगका केही जिल्लाको भ्रमण गरेर आएको हुँ । मध्यपहाडमा खर्क भन्ने लेकका नागीमा लगेर छाड्दा रहेछन् । भित्रीमधेसमा चाहिँ वनतिर लखेट्दा रहेछन् । यदि बाँचेर ब्यायो भने घरमा ल्याएर घाँस कुँडो दिएर दुध रैंटने बाच्छाबाच्छीलाई दूध खानै नदिएर मार्ने । यो अपराध हरेक गाई पालुवाले गरेको देखेँ मैले । प्रजातन्त्रका राज्य सञ्चालक पनि यस्तै मनोवृत्तिका गाईधनी हुन् भन्ने अठोटमा म पुगेको छु । एकथरी गाई पालकले बाच्छाबाच्छीलाई दुई या तीन दिनसम्म दुध खान नदिएर भोकै राख्ने अनि चौथो या तेस्रा दिनमा पेटभरि दूध खान दिएपछि ठहरै भएर बाच्छाबाच्छी मर्दारहेछन् । यसैको अर्को विधि हो प्रचण्ड, ओली र शेरबहादुर जस्ताले जनता मार्ने र देश लुट्ने पनि यस्तै एउटा प्रक्रिया हो ।

यी सबै कुराको ओखती भनेको दल त्याग होइन, दलमा नै बसेर सक्रियतापूर्वक गलतको विरोध र जनता जगाउने काम गर्नुपर्दछ । अहिले सबैभन्दा बढी दिमागमा, उत्साह र विचारको सक्रियतामा खिया लागेका कार्यकर्ता नेपाली कांग्रेसमा र नेकपा एमालेमा रहेका देखिन्छन् । नेपाली कांग्रेसमा डा.शेखर कोइराला, महामन्त्रीद्वय, धनराज गुरुङ, प्रदीप पौडेल र बद्री पाण्डे यदाकदा बोलेको देखिन्छ तर मसिनो स्वरमा । गठबन्धनका विरुद्ध दह्रो गरी उभिन सकेका भए आज नेपाली कांग्रेसको एकमना सरकार बन्न पनि सक्थ्यो । शेरबहादुरका बोलीमा लोली मिलाउँदा देशलाई, जनतालाई, प्रजातन्त्र र प्रजातान्त्रिक मूल्य पद्धतिलाई अपूरणीय क्षति भएको छ । यतातिर अब डा.शेखरलगायत युवा पुस्ताको ध्यान गम्भीर किसिमले जानु आवश्यक छ । ओलीका अगाडि त पात पनि हल्लेको देखिँदैन । चुँसम्म गर्न सक्ने दुई खुट्टे जीवले त्यहाँ जन्म लिएकै देखिँदैन । माओवादीका सम्बन्धमा हलेदो भनेर चिनेपछि किन कोट्याउँ ? यस आधारमा हेर्दा र रेशम चौधरीको उन्मोचन प्रसंगको पनि मूल्यांकन गर्ने हो भने सरकारले गरेको यो काम रावण र कंसले या त दादा इदिअमीन र एर्सादले गरेका जघन्य कृत्यसँग तुलना गर्न सकिन्छ ।

बहुदलीय प्रजातान्त्रिक पद्धतिको यसभन्दा ठूलो मखोल उडाउने कामको उचाइलाई आगामी हजार वर्षमा पनि मानव सभ्यताले यसलाई उछिन्न सक्नेछैन । यस प्रकारका कृत्यले सभ्यता र इतिहास लज्जित मात्रै होइन मूच्र्छित भएका छन् । यस्तो राम्रो काम गर्ने महापुरुष शेरबहादुर देउवा, पुष्पकमल दाहाल र केपी शर्मा ओलीलाई सहस्रशः धन्यवाद विवेकहीन हत्यारा राज्य, लुटेरा शासन, ज्यानमारा सम्मानको परम्परा बसाउने प्रक्रियाको शुभारम्भ गरेकामा ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
श्याम खनाल
श्याम खनाल
2023-05-31 11:41 am

चेतनामूलक लेखका लागि हार्दिक धन्यवाद गुरु । न्यायालय त सर्वोच्च हो । तर त्यहाँ सबै राजनीतिकर्मीहरू मात्र नियुक्त हुन थाले ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?