सरकार सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनताको पक्षमा दृढ छः गृहमन्त्री
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताउनुभएको छ ।
बुधवार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरुमा सरकारको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले राष्ट्रिय हीत विपरितका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कुटनीतिक माध्यमबाट छलफल गरिरहेको पनि बताउनु भयो ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन भारतमा गत आईतवार उद्घाटन भएको नयाँ संसद भवनमा अखण्ड भारतको नक्शामा नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताबिरुद्ध नेपालको भूभाग समेटेकोप्रति ध्यानाकर्षण गराएको छ । उनीहरुले भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा अपराधिक क्रियाकलाप गरेको भएपनि सरकारले कुनै चासो नदिएको भन्दै सरकारकाले ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री दाहाल भारत प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गर्नुभएको छ ।
बुधवार दिउँसो १ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधि मण्डल भारत प्रस्थान गरेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा उहाँ भारत जानुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीहरूले बिदाई गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्नुहुनेछ ।
मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल हुनुहुन्छ । प्रधानमन्त्री दाहाल नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
भारत भ्रमणका क्रममा विद्युत बिस्तार, विद्युतमा भारतीय लगानी प्रवद्र्धन, भारतसँग भएका सम्झौताहरुको कार्यान्वयन, सीमा विवाद, नाकाहरु सञ्चलन लगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री दाहाल नयाँ दिल्लीमा, भारतीय विदेश राज्यमन्त्रीद्वारा स्वागत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको नयाँ दिल्ली पुग्नुभएको छ ।
बुधवार अपरान्ह उहाँ नयाँ दिल्ली पुग्नुभएको हो । उहाँलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभयो । प्रधानमन्त्री दाहालको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
उहाँसँगै भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल हुनुहुन्छ । भारत भ्रमणका क्रममा विद्युत बिस्तार, विद्युतमा भारतीय लगानी प्रवद्र्धन, भारतसँग भएका सम्झौताहरुको कार्यान्वयन, सीमा विवाद, नाकाहरु सञ्चलन लगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल जेठ २० गते स्वदेश फर्किनुहुनेछ ।
नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच शिष्टाचार भेट
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ ।
बुधवार बिहान पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधि मण्डलले नेकपा (माओवादी केन्द्र) नेताहरुसँग भेट गरेको हो । भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध बिस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताउनु भयो । उहाँले छलफलमा दुई सरकारबीचमा सम्बन्ध बिस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्नेकुरामा छलफल भएको बताउनु भयो ।
भेटमा नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ लगायतका पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट तीन दिने भारत भ्रमण हुनुभन्दा पहिला चिनियाँ कम्युनिष्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्वपूर्ण रुपमा लिइएको छ । साथै चिनियाँ कम्युनिष्ट पार्टीको टोली आज बिहान नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेको थियो ।
चलचित्र अन्तिम संस्कारको ट्रेलर सार्वजनिक
नेपाली चलचित्र अन्तिम संस्कारको ट्रेलर सार्वजनिक भएको छ ।
बुधवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा आधारित छ । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विजय लामाले चलचित्र सुटिङ गर्दा धेरै दुःख गरेको र ट्रेलर हेरेपछि धेरै आनन्द मिलेको बताउनु भयो । उहाँले चलचित्र एउटा समाजको अन्तिम संस्कारको बारेमा बोलेको कथावस्तुमा आधारित रहेको बताउनु भयो । ‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको छ । त्यस्तै अभिनेत्री दिया पुनले यस चलचित्रमा आफूलाई फरक भुमिका र अभिनयमा पाउने बताउनु भयो ।
चलचित्रमा विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, धर्मानन्द आचार्य,सुरज खालिङ,विकास अधिकारी लगायतको अभिनय छ । बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको समपदन रहेको चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् । चलचित्र असार ८ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।
अस्पतालहरुमा बेड उपलब्धताको स्थिति वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरुमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिनुभएको छ ।
बुधवार काठमाडौं महानगरपालिकाले विश्व धुम्रपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भुमिका विषयक कार्यक्रमा बोल्दै मन्त्री बस्नेतले यसबारे जानकारी दिनुभएको हो । उहाँले अस्पतालहरुमा आइसियु, इमर्जेन्सी वा सिसियु बेडहरु के–कति छन् र कति खालि छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गर्नुभयो । उहाँले सो काम शुरु भइसहेको भन्दै अब त्यसप्रकारको समस्या नहुने बताउनु भयो । त्यस्तै ओपिडि टिकट अनलाइनमार्फत पनि लिन सकिने उहाँले बताउनु भयो । उहाँले वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराउनु भयो ।
उहाँले संसारभरमा सुर्तिजन्य पदार्थमा सबभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने बताउनु भयो । उहाँले सुर्तिजन्य पदार्थमा कम्तिमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजश्व गरिव बिरामीहरुको उपचारमा प्रयोग गर्नुपर्ने बताउनु भयो ।
उहाँले गुलियो पेय पदार्थ र जंक फुडबाट पनि नागरिकलाई टाढा राख्नुपर्ने बताउनु भयो ।
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठक
संसदीय समितिले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निस्कर्ष निकालेको छ ।
राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधवार राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्यतथ्य पहिचानका लागि पहल गर्नुपर्ने निस्कर्ष निकालेको हो ।
समितिले महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनमा जलहरी बनाएर बाँकी रहेको सुनको १० किलो ९७६ ग्रामको रिङ बनाइ जलहरीमा लगाएको उल्लेख गरिएपनि बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने काममा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको भन्दै यस सम्बन्धमा महालेखा परीक्षकका पदाधिकारी र सरकारसँग छलफल गरि सत्यतथ्य पहिचानको लागि पहल गर्नुपर्ने बताएको छ । त्यस्तै २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त मन्दिर प्राङ्गणका विभिन्न संरचनाहरुको पुनःनिर्माणको कामलाई तिब्रता दिनुपर्ने जनाएको छ । त्यसैगरी पशुपति क्षेत्र विकास कोषसँग भाडा सम्झौता गरी मारवाडी सेवा समितिले चलाइरहेको सटरहरुको नयाँ भाडादर कायम गर्नुपर्ने देखिएको भन्दै त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरी निस्कर्ष निकाल्नुपर्ने पनि समितिको सुझाव छ ।
समितिले २०७९ चैत्र २६ गते पशुपति क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । सो अनुगमनको क्रममा देखिएका समस्याहरुको समाधान गर्न समितिले विभिन्न सुझावहरु दिएको हो । समितिले श्लेषमान्तक वनमा मृत शरीर गाड्ने अवाञ्छित गतिविधि भइरहेको भन्दै उच्च शतर्कता सहितको सुरक्षा तथा निगरानी प्रणाली अवलम्वन गर्नुपर्ने उल्लेख गरेको छ । पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सन्तोषजनक नदेखिएकाले यसतर्फ पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको उपसचिव सरिता राना मगरले बताउनु भयो । पशुपतिनाथ मन्दिर परिसरभित्रका अन्य मन्दिरहरुको सुरक्षाका लागि व्यवस्थित सुरक्षा प्रणाली अपनाउनुपर्ने पनि उहाँले बताउनु भयो ।
केपी शर्मा ओली, पार्टी प्रवेश कार्यक्रममा
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गर्नुभएको छ ।
औंठी लगाउने रुचि समेत नभएको मान्छेलाई जिउभरी सुनैसुनले डाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो । बुधवार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टी प्रवेश गरेका कलाकारहरुलाई स्वागत गर्दै अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औंठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औंठी नलगाएको पनि पटकपटक बताउनु भयो । उहाँले त्यो सत्यलाई बग्यांएर आफ्नो सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताउनु भयो । आफूसँग भएको ज्ञान, कला र क्षमताको दूरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु मुलुकका लागि दुःखको कुरा भएको पनि अध्यक्ष ओलीले बताउनु भयो ।
इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गर्दै उहाँले त्यसबाट जोगाउनका लागि चेतनाको विगुल फुक्न पनि कलाकारहरुलाई आह्वान गर्नुभयो । उहाँले पार्टीमा प्रवेश गरेका कलाकारहरुलाई राष्ट्र निर्माणको अभियानमा क्रियाशील गराउने पनि बताउनु भयो । एमालेले मुलुकको समृद्धिको अभियान संचालन गरेको र त्यसमा सबैलाई सहभागी गराएर लैजाने उहाँको भनाई थियो ।
पुँजीबजारका स्वार्थ समूहबाट जोखिम बढ्योः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले पुँजीबजारलाई तल,माथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताउनुभएको छ ।
बुधवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले पुँजीबजारमा ठूलो लगानी गरेर आम्दानीको स्रोत बनाउनेहरुलाई इमान्दार भएर करको दायरामा ल्याउन खोज्दा आफूलाई नै जोखिम महशुस गरेको बताउनु भयो । उहाँले पुँजी बजारमा ठूलो लगानीकर्ताहरुको समूहले बजारलाई तल झारेर तुरुन्तै शेयर किनेर बजार माथि लैजाने गरेको दाबी गर्नुभयो। अर्थमन्त्री महतले सरकारले यस्तो प्रणालीको अन्त्य गर्न खोजेको बताउनु भयो।
उहाँले सरकारले बजेटमार्फत शेयर बजारमा बढी आय गर्नेहरुलाई करको दायरामा ल्याउँदा स्वार्थ समूहहरुले अर्थमन्त्रीले शेयर बजारलाई समाप्त पार्न खोज्यो, ६० लाख लगानीकर्ता समाप्त हुने भए भन्ने जस्ता दुष्प्रचार गरिरहेको बताउनु भयो । उहाँले शेयर बजारमा बढी कमाउनेहरुले कर नतिर्ने चलखेल गरेको बताउनु भयो । उहाँले शेयर बजारलाई नै पेशा बनाएर नाफा कमाएपछि कर तिर्नुपर्ने दाबी गर्नुभयो। उहाँले सरकारले पुँजी बजारमा कुनै स्वार्थ नराखेको भन्दै बजारलाई व्यवसाय बनाएकाले कर तिर्नुपर्छ भन्ने प्रणालीको विकास गर्न खोजिएको बताउनु भयो। उहाँले पुँजीबजारका विषयमा अनावश्यक हल्ला फैलाउन उचित नभएको बताउनु भयो। उहाँले बजेटले साना लगानीकर्तालाई संरक्षण गरेको भन्दै साना लगानीकर्ताहरुले नबुझ्दा बजारमा चलखेल गर्नेले अन्योल सृजना गरेको दाबी गर्नुभयो। उहाँले अहिले पुँजीबजारमा सानो लगानी गरेर ५ देखि ६ लाख कमाउनेहरुले राज्यलाई कर तिरेको तर धेरै आम्दानी गर्नेहरुले करको दायरामा नआएको बताउनु भयो । अर्थमन्त्री महतले राजनीतिक पँहुच भएकाहरुको सधैँ राज्यले कुरा सुनिदिनुपर्ने तर सामान्य जनताको कुरा सरकारले नसुन्नुपर्ने हो ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले सरकारले नेपाली पुँजीबजारमा नियमित कारोबार गर्ने डाटा संकलन गर्न लागेको बताउनु भयो । उहाँले सरकारले बजेटमार्फत गरेको पुँजी लगानीकर्ताको लागि लगाएको करको दायरा पुँजीबजारमा लगानी गरेर केही फाइदा होला भनेर लगानी गर्नेहरुको लागि लागू नहुने स्पष्ट पार्नुभयो। उहाँले शेयरमा लगानी गर्ने सबैलाई आयकरको दायरामा आउने भनेर बजेटले नभनेको बताउनु भयो । उहाँले ९९.५ अर्थात ९९.९ प्रतिशत शेयरमा लगानी गर्नेहरु सरकारले गरेको व्यवस्थामा नपर्ने बताउनु भयो। उहाँले सम्पूर्ण पुँजीबजारमा लगानी गर्ने आयकरको विषयमा आत्तिनुपर्ने कुनै कारण नभएको बताउनु भयो।
अर्थमन्त्री महतले मिडियाले बजेटका राम्रा कार्यक्रम ढाकेर सांसद विकास कोषको प्रचार गरेको गुनासो गर्नुभयो । उहाँले सरकारले अर्थतन्त्र सुधार गर्न ल्याएका अन्य धेरै व्यवस्थालाई आझेलमा पर्ने गरी सांसद विकास कोषलाई हाइलाइट गरिएको बताउनु भयो । उहाँले आर्थिक वर्ष २०८०/८१ को बजेटले आमुल परिवर्तन गर्न नसके पनि आर्थिक अवस्था सुधार गर्ने बताउनु भयो। उहाँले बजेटले संकटपूर्ण आर्थिक अवस्था सुधारमा ठूलो काम गर्ने बताउनु भयो। उहाँले सांसद विकास कोषको बजेट सांसदले सिधै खर्च गर्न नसक्ने भन्दै यसमा सांसदको भुमिका सिफारिस गर्ने मात्र हुने बताउनु भयो । उहाँले सांसद विकास कोषको विषयमा चाहिने भन्दा बढी प्रचार गरिएको बताउनु भयो ।
अर्थमन्त्री महतले सरकारले १६५ निर्वाचन क्षेत्रमा दिने ५ करोड रुपैया पनि पुँजीगत खर्च नै भएको बताउनु भयो। उहाँले सांसद विकास कोषको रकम सांसदहरुले आफूखुशी बाँड्ने स्कोप नभएको बताउनु भयो । उहाँले सांसदहरुमार्फत खर्च हुँदा पनि रकम दुरुपयोग हुन्छ भन्ने कुरामा आफू सहमत नभएको बताउनु भयो ।
लेखा समितिको बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति गठन
प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति बनाएको छ ।
बुधवार सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले नेपाली काँग्रेसका सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाएको हो । समिति बैठकपछि समिति सचिव एकराम गिरीले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा बनाउन सांसद राजन केसीको संयोजकत्वमा सांसदहरु ऋषीकेश पोखरेल, अमरेशकुमार सिंह, हरि ढकाल र रामकृष्ण यादव सदस्यगरी पाँच जनाको उप–समिति बनाएको बताउनु भयो ।
उहाँले उप–समितिलाई समितिको आगामी बैठकमा समितिको आन्तरिक कार्यविधि तयार गरी पेस गर्ने कार्यदेश समितिले दिएको बताउनु भयो ।
बैठकमा बोल्दै नेकपा एमालेका सचिव तथा सांसद योगेशकुमार भट्टराईले सार्वजनिक लेखा समितिले सरकारले गर्ने आर्थिक क्रियाकलापलाई नजिकबाट हेर्ने भएकाले समितिप्रति जनताको भरोसा रहेको बताउनु भयो । उहाँले अहिले मुलुकमा अख्तियारजन्य र भ्रष्टाचारका प्रश्नहरु उठिरहेको भन्दै लेखा समिति सक्रिय हुनुपर्ने बताउनु भयो । उहाँले सार्वजनिक लेखा समिति मन्त्री र सांसदलाई आतंकित गर्ने थलो नभई सहजीकरण गर्ने थलो रहेको बताउनु भयो । उहाँले समितिले कसैलाई आतंकित पार्नु नहुने भन्दै ठीक बेठीक हेरेर तथ्यका आधारमा निस्कर्ष निकाल्नु पर्ने बताउनु भयो। उहाँले समितिले सत्तापक्ष, को प्रतिपक्ष सबैलाई एकरुपमा हेर्नुपर्ने बताउनु भयो।
त्यस्तै समिति बैठककमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले सबै सरकारी निकायहरुप्रति जनताको विश्वास गुमेको अवस्था रहेको बताउनु भयो । उहाँले लेखा समितिले जनतामा गुम्न लागेको विश्वास दिलाउने काम गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले समितिले सबैले थाहा पाउने गरी बेरुजु लगायतका विषयमा कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय सिञ्चारमाध्यममा धेरै झुटो समाचार आउने गरेको भन्दै कुन समाचार सत्य र कुन असत्य हो भन्ने छुट्याउन समस्या रहेको बताउनु भयो। उहाँले समितिमा पर्ने उजुरीहरु पनि कुन सत्य हो कुन असत्य हो छुट्याउन नसकिने बताउनु भयो। उहाँले फेक न्युजले आतंक मच्चाए जस्तै बेरुजुले पनि आतंक मच्चाएको उल्लेख गर्नुभयो।
त्यस्तै अर्को सांसद गोकुलप्रसाद बाँस्कोटाले समितिको बैठक कुनैपनि विषय वस्तु बिना बस्नु ठिक नभएको बताउनु भयो । उहाँले समितिमा हुने छलफलका विषयमा सांसदहरुलाई अगाडि नै जानकारी दिएर मात्रै बैठक बस्नुपर्ने बताउनु भयो। उहाँले संसद नभएको समयमा सांसदहरु निर्वाचन क्षेत्र तथा पार्टीको काममा उपत्यका भन्दा बाहिर जानसक्ने विषयमा पनि ख्याल गर्न आवश्यक रहेको बताउनु भयो ।
सांसद सापकोटाले समिति बैठकमा पार्टीको हुइप भन्दा पनि सत्यतथ्य कुरा निर्धक्क भएर राख्न सक्नुपर्ने बताउनु भयो ।
सरकारको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैनः पूर्वअर्थमन्त्री खतिवडा
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन नसक्ने बताउनुभएको छ ।
बुधवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले बजेटमा सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य आन्तरिक स्रोतको कारण पुग्न नसक्ने बताउनुभएको हो । उहाँले सरकारको आन्तरिक स्रोत नै कमजोर रहेको बताउनु भयो । उहाँले १५ औं योजनाको अन्तिम भएकाले सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य वैदेशिक लगानीमा सरकार लामो बोलेको अनुसार लगानी आए पुग्ने सम्भावना रहेको पनि बताउनु भयो। उहाँले बैंकिङ क्षेत्रको निक्षेप र सरकारको वचतले समेत नपुग्ने भएकोले ६ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने बताउनु भयो। उहाँले नेपालको जिडिपीको ६ प्रतिशत मात्रै वचत रहेको भन्दै नेपालमा वचत प्रणाली कमजोर रहेको बताउनु भयो । उहाँले सरकारले साधरण खर्च कटौतिको शुरुवात गर्नु राम्रो भएको बताउनु भयो । उहाँले अर्थमन्त्रीले खर्च कटौति तलबाट नभएर राष्ट्रपति कार्यालयबाट शुरुवात गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले सामान्य मन्त्रालयहरुको ओभर टाइम, प्रोत्साहन भत्ता कटौतिमा १० अर्बको फरक परेपनि समग्र अर्थतन्त्रमा प्रभाव नपर्ने बताउनु भयो। उहाँले सरकारले सुरक्षा रक्षासँग सम्बन्धित एउटै मन्त्रालयमा १० अर्बको बजेट बढाएपछि त्यसको असर विकास पुँजीगत खर्चमा भेट्न नसकिने बताउनु भयो। उहाँले अब साउन १५ पछि खोलि दिनुप¥यो भनेर हस्ताक्षर गर्ने फाइल मात्रै मन्त्रालयमा आउने बताउनु भयो । उहाँले विगत लामो समयदेखिको अर्थमन्त्रीहरु संसदीय प्रणलीमा अर्थतन्त्रका पोलीसी ट्रयापमा पर्ने गरेको बताउनु भयो ।
उहाँले पुँजीगतभन्दा ऋणको सावाँ ब्याज भुक्तानीका लागि धेरै बजेट विनियोजन गर्नुपर्ने, राजस्वभन्दा चालु खर्चको आकार धेरै बनाउनु पर्ने भएकाले ट्रयापमा पर्ने समस्या रहेको बताउनु भयो। उहाँले आगामी वर्षको बजेट बनाउँदा अर्थमन्त्रीलाई चालु आर्थिक वर्षको बजेट अस्वाभाविक र अवास्तविक समग्र हिसावले भन्दा बजेट भन्न लायक नभएको बजेट अझ बढी ट्रयापमा पारेको बताउनु भयो। उहाँले चालु आर्थिक वर्षको बजेटको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउँदा फाउण्डेशन नै गलत भएपछि अर्थमन्त्रीले जति कोशिस गर्दा राम्रो हुन नसकेको बताउनु भयो । उहाँले सरकारको बजेटमा नचाहिने किसिमले इस्पान्सनरि किसिमको पोलिसीमा जान खोज्दा पोलीसी ट्रयापमा परिने बताउनु भयो।
पूर्व अर्थमन्त्री डा. खतिवडाले करका दरलाई लिएर पदको बाजी नराख्न अर्थमन्त्री डा. प्रकाशरण महतलाई सुझाव दिनुभयो । उहाँले अर्थमन्त्री आफूले गरेको कामको पूर्णजिम्मेवारी हुने हो पदबाट भाग्न नहुने बताउनु भयो ।
उहाँले मन्त्रीले गरेको काममा छानबिन भए छानबिन गर्न तयार हुनु पर्ने बताउनु भयो। उहाँले अर्थमन्त्रीले आफूले गरेको निर्णयमा जीवनप्रायः मन्त्री जिम्मेवार हुनुपर्ने भन्दै पद गएपछि उम्कन नपाउने बताउनु भयो। उहाँले करका दर हरेक आर्थिक अध्यादेशमा हेरफेर हुँदा सँधै शंका पैदा हुने हो भने आर्थिक ऐन नल्याए पनि हुने बताउनु भयो। उहाँले प्रणालीकै आवश्यकका आधारमा करका दर फेरिएको हुनसक्ने भन्दै आफू त्यसमा विश्वस्त रहेको बताउनु भयो।
उहाँले अर्थमन्त्री मात्र इमान्दार भएर नहुने भन्दै कर्मचारीतन्त्र पनि इमान्दार हुन आवश्यक रहेको बताउनु भयो।
सार्वजनिक लेखा समितिमा १२१ वटा उजुरी
सार्वजनिक लेखा समितिमा अहिलेसम्म १२१ वटा उजुरी परेका छन् । बुधवार दिउँसो सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुलाई जानकारी दिँदै समितिका ज्येष्ठ सदस्य सभापति अर्जुननरसिंह केसीले समितिमा १२१ वटा उजुरी परेको बताउनुभएको हो । उहाँले समितिले जुनसुकै विचाराधीन पुराना फाइल खोलेर त्यसमाथि अनुसन्धान अघि बढाउन सक्ने बताउनु भयो । उहाँले समितिमा हालसम्म परेका नयाँ र पुराना उजुरीमाथि समितिका सांसदहरुले अध्ययन गर्नसक्ने बताउनु भयो ।
उहाँले समितिले जुनसुकै समयमा उजुरी दिने र पर्ने दुवैलाई राखेर छलफल गर्नुपर्ने आवश्यक्ता भए छलफल हुनुपर्ने बताउनु भयो । उहाँले समितिले पक्ष वा विपक्ष कसैलाई पनि आग्रह वा पूर्वाग्रह राखेर हेर्न नहुने बताउनु भयो।
संकटा र थ्री स्टारबीच बराबरी
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बुधवार संकटा क्लव र थ्री स्टार क्लवले बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा ओलावाले अफिजको ह्याट्रिकको सहयोगमा मच्छिन्द्र फुटबल क्लवले सातदोबाटो युथ क्लवमाथि ३–१ को सहज जित निकालेको छ ।
ललितपुरस्थित च्यासल मैदानमा बुधबार भएको खेलमा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । शुरुवातबाट नै प्रतिष्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका लागि सुन्दर मौका बनाएपनि सदुपयोग गर्न असफल रहेका थिए ।
पहिलो हाफ अन्त्यतिर थ्री स्टारका दीपेश गुरुङले पाएको अवसरलाई खेर फाल्दा अग्रता मौका गुमेको थियो । पहिलो हाफको इन्जुरी समयमा संकटाले दुई अवसरलाई सदुपयोग गर्न गर्न सकेन । सोही क्रममा काउन्टर गरेको थ्री स्टारका आदित्य शाक्यले गरेको शक्तिशाली प्रहार संकटाका गोलकिपर टिकेन्द्रसिंह थापाले बचाउँदै विफल बनाएका थिए । अर्को मिनेटमा अनमार्क रहेका दीपेश सहज अवसरलाई गोलमा परिणत गर्न सकेनन् । खेलको इन्जुरी समयमा थ्री स्टारका मार्टिन्स अजाइको क्रसलाई सिफामन्डला माथेनवाले हेडमार्फत जाली चुमाएको भएपनि अफसाइड रहँदा त्यसले मान्यता पाएन । यस बराबरीसँगै थ्री स्टार र संकटाले समान २३ खेलबाट समान २७ अंक बनाएका छन् । थ्री स्टार ११ औं स्थानमा रहेको छ भने संकटा गोलअन्तरका आधारमा १२ औं स्थानमा छ ।
लिग अन्तर्गत बुधवार नै भएको अर्को खेलमा अफिजको ह्याट्रिकमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लवले सातदोबाटो युथ क्लवमाथि ३–१ को सहज जित निकालेको हो । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलको १६ औं मिनेटमा अफिजको गोलमार्फत मच्छिन्द्रले अग्रता लिएको थियो । अफिजले दिवाकर चौधरीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् । पहिलो हाफको इन्जुरी समयमा अफिजले नै टोलीको अग्रता दोब्बर बनाउँदा ५६औं मिनेटमा आफिजले ह्याट्रिक पूरा गरेका थिए । जारी लिगमा अफिजको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले खुमलटारबिरुद्धको खेलमा ह्याट्रिक गरेका थिए । तीन गोलले पछि परेको भएपनि सम्हालिने प्रयास गरेको सातादोबाटोका लागि ८४औं मिनेटमा जोर्डन पुन मगरले गोल गर्दै अग्रता छोट्याउन सफल भए । बाँकी समयमा थप गोल हुन सकेन र मच्छिन्द्रले स्पष्ट अंक जोड्न सफल भयो । यससँगै मच्छिन्द्र लिगमा अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो ।
जितसँगै २३ खेलमा १० जित, नौ बराबरी र चार हारको नतिजासहित ३९ अंक जोडेर मच्छिन्द्र दोस्रो स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको सातदोबाटो समान खेलमा आठ जित, पाँच बराबरी र १० हारको नतिजासहित २९ अंकका साथ सातौं स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच