शहीद स्मारक ‘ए’ डिभिजन लिग : मच्छिन्द्रको जितमा ओलावालेको हृयाट्रिक, थ्रीस्टार र संकटाको बराबरी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो आफिजको हृयाट्रिक मद्दतमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबमाथि तीन-एकको सहज जित हात पारेको छ । जितसँगै मच्छिन्द्रले उपाधि जित्ने सम्भावनालाई कायमै राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मच्छिन्द्रका लागि ओलावालेले हृयाट्रिक गर्दा सातदोबाटोका जोर्डन पुन मगरले एक गोल फर्काउनुभएको थियो । खेलको १७औँ मिनेटमा आफिजले गोल गर्दै मच्छिन्द्रलाई एक-शून्यको अग्रता दिलाउनुभयो । दिवाकर चौधरीको पासमा उहाँले गोल गर्नुभएको थियो ।

यस्तै, पहिलो हाफको इन्जुरी समयमा उहाँले दोस्रो गोल गर्नुभयो । गोलरक्षक अभिषेक बराल झुक्किन पुग्दा आफिजको ६ यार्ड बक्सभित्रबाट गरेको प्रहारले जाली चुमेको थियो । ५६औँ मिनेटमा आफिजले गोल गर्दै हृयाट्रिक पूरा गर्नुभयो । यसपल्ट उहाँले वान भर्सेस वानको अवस्थामा गोल गर्नुभएको थियो ।

८४औँ मिनेटमा जोर्डन पुन मगरले गोल गर्दै खेललाई तीन-एकको स्थितिमा ल्याउनुभयो । मिडफिल्डबाट सुशील लामाले दिएको पासलाई उहाँले सहजै गोल गर्न सफल हुनुभएको थियो । जारी लिगमा ओलावालेको यो दोस्रो हृयाट्रिक हो । यसअघि उहाँले एफसी खुमलटारमाथि सात–तीनको जित निकाल्नुभएको थियो ।

यस जितसँगै दोस्रो स्थानमा उक्लिएको मच्छिन्द्रले शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडसँगको अंक दूरी दुईमा छोट्याएको छ । मच्छिन्द्रको २३ खेलबाट ३९ अंक पुगेको छ । समान खेलबाटै चर्च ब्वाइजको ४१ अंक छ । पराजित सातदोबाटो २३ खेलबाट २९ अंक जोडेर सातौँ स्थानमा छ ।

यस्तै, अर्को खेलमा थ्रीस्टार र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । च्यासल मैदानमा बुधबार भएको खेलमा थ्रीस्टार र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसका कारण खेल गोलरहित बराबरीमा सकिएको हो ।

यस बराबरीसँगै थ्रीस्टारले २३ खेलमा २७ अंक जोडेको छ । थ्रीस्टार ११औँ स्थानमा रहेको छ । संकटाले २३ खेलमा २७ अंक जोडेको छ । संकटा १२औँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?