दोलखाका कृषकहरू किबी खेतीतर्फ आकर्षित

हिमालय टाइम्स
Read Time = 4 mins

शंकर खनाल/हिटा
दोलखा । दोलखाका कृषकहरूको किबी खेतीमा आकर्षण बढ्दै गएको छ । अन्य बालीभन्दा स्याहार सुसार कम गर्नुपर्ने र आम्दानी पनि बढी हुने भएपछि यहाँका कृषकहरूले किबी जोन क्षेत्र नै बनाउने भएका छन् । सधैँ कोदो, फापर, जौ र गहुँबालीले ढाक्ने मृगे र झुले गाउँका कृषकहरूको टारबारीमा आजकाल यसरी किबीखेती देख्न सकिन्छ ।

गहुँ, कोदो र जौको उत्पादन खासै नहुने तर, बाँझो राख्नुभन्दा लगाउनैपर्ने बाध्यतामा परेका यहाँका कृषकहरू अहिले लहलह किबीका बोट देख्दा दंग छन् । कृषकले लगाएका किबी यसरी ढकमक्क फूल्दा उनीहरूको मन पनि प्रफुल्लित देखिन्छ । कृषकले लगाएका किबीमा फल लाग्न थालेको छ । लटरम्म फल्ने र बजारको पनि कुनै समस्या नपर्ने भएपछि उनीहरू यो खेतीमा आकर्षित भएका हुन् ।

त्यसो त नेपाल ग्रामीण पुनर्निर्माण संस्था आरआरएनको सहयोग पाएपछि यहाँका किबी कृषकहरूको कर्म पनि बदलिएको छ । किबीको नामै नसुनेका दूरदराजका कृषकहरूलाई आरआरएनले घरलौरी विरुवा उपलब्ध गराएपछि यो क्षेत्रका कृषक अहिले किबी जोन क्षेत्र बनाउन लागिपरेको कृषक हिराबहादुर तामाङले बताउनुभयो । माटो परीक्षण गरेपछि यो क्षेत्र किबी खेतीका लागि उपयुक्त देखिएको छ ।

किसानहरूरुले थाक्रा लगाएर किबी खेती गर्न थालेका छन् । अत्यन्त दुर्गम क्षेत्र र तामाङ समुदायको बसोबास रहेको यो गाउँका कृषकहरूको आर्थिक अवस्थामा पनि किबी खेतीले परिवर्तन गरिदिएको छ । गाउँमा कुन खेती गर्ने र कसरी गर्ने उनीहरूको सामूहिक बैठकले निर्णय गर्छ । सबैखाले खेती गर्नुभन्दा एउटै खेती गरेर नगदै आम्दानी गर्ने कृषक किरण तामाङको भनाइ छ ।

उन्नत बिउबिजन र रैथाने बिउ बिजनको संरक्षण गर्न र बेर्ना उत्पादन गर्न पनि आरआरएनले सिकाएपछि गाउभरी अहिले किबीखेतीको बेर्नासमेत बिक्री गर्दै आएको छ । बाँझो खेत र जग्गा जमिनमा पनि अहिले कृषकहरूले धमाधम किबी खेती गर्न थालेका छन् । गाउँलाई सडक सञ्जालले जोडिएपछि यहाँ उत्पादन भएका किबीलाई सजिलैसँग बजारसम्म पु¥याउन सकिन्छ । खेती गर्न सजिलो र बिक्री गर्न पनि समस्या नहुँदा कृषकहरूको रोजाइमा यो खेती परेको हो । सरकारले पनि यहाँका कृषकहरूको किबी खेतीप्रतिको आकर्षणलाई बुझेर अनुदान उपलब्ध गराइदिने हो भने पक्कै पनि बाहिरबाट किबी फल आयात रोकिने मात्र हैन निर्यात नै गर्न सकिने थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?