कोरियाको जहाज र निर्माणमा पहिलोपटक ७२६ नेपाली कामदार पठाइने

हिमालय टाइम्स
Read Time = 5 mins

रमेश भारती/हिटा
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियाले आगामी महिनादेखि नेपालबाट पहिलोपटक पानीजहाज र निर्माण क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । कोरियाले उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रको रोजगारीमा मात्र नेपाली कामदार सन् २००८ देखि आपूर्ति गर्दै आएको थियो । कोरियाले जुन १९ अर्थात् असार पहिलो साताबाट जहाज र निर्माण क्षेत्रमा मात्र काम गर्ने गरी नेपाली लैजाने मिति तय गरेको इपिएसले जनाएको छ ।

पानीजहाज र निर्माण क्षेत्रको रोजगारीलाई लागि पहिलो चरणमा ७२६ जनाको नामावली कोरिया पठाइएको शाखाले जानकारी दिएको छ । कोरियाका विभिन्न रोजगारदाता कम्पनीहरूले नेपालबाट पानीजहाज र निर्माण क्षेत्रमा कामदार लैजाने चाहेको वैदेशिक रोजगार विभाग इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले बताउनुभयो । कोरियाले रोष्टरको नामावली पठाएपछि नेपालबाट पानीजहाज र निर्माण क्षेत्रमा पहिलोपटक नेपाली कामदारले पाइने उहाँले बताउनुभयो ।

‘कोरियाले जुन १९ अर्थात् असार पहिलो साताबाट नेपालसहित अन्य इपिएस सदस्य देशबाट यो क्षेत्रको रोजगारीमा कामदार पठाउन सुरु हुन्छ । नेपालबाट थोरै युवाले यो क्षेत्रमा पहिलोपटक रोजगगारीमा जाने अवसर पाउनेछन् ।’ उहाँले भन्नुभयो, ‘कोरिया निर्माण र पानीजहाजले पहिलो चरणमा नेपालसहित अन्य देशबाट दुई हजार श्रमिक लैजान लागेका छन् । जसमा नेपाल पनि परेको छ । यो पनि नयाँ रोजगारको अवसर हो ।’

कोरिया रोजगारीका लागि उत्पादनमूलक क्षेत्रको रोष्टरबाट छानिएका युवाको सूची तयार भइरहेको छ । उनीहरूसँगै जहाज र निर्माणमा क्षेत्रमा जाने कामदारको पनि सूची तयार भइरहेको उहाँको भनाइ छ । पानीजहाज र निर्माण क्षेत्रमा जाने कामदारको तलबसहित एक महिनाको तालिम लिएपछि मात्र रोजगारीमा जोडिन पाउने शाखाले जनाएको छ ।

२०२३ मा तीन हजार पठाउने तयारी
पहिलो चरणमा कम संख्यामा नेपाली जाने भए पनि यसपछि भने कोरियाले तीन हजार नेपाली कामदार लैजाने गरी छलफल भइरहेको शाखाले जनाएको छ । पानीजहाज र निर्माण क्षेत्रको रोजगारीमा तीन हजारमध्ये ७२६ युवाको रोष्टर बनाउने काम भइरहेको छ । बाँकी करिब दुई हजार तीन सय नेपाली युवा लैजाने गरी पुनः आवेदन माग गरिने शाखाको तथ्यांकमा छ । कोरियाले २०२३ मा जहाज निर्माणमा तीन हजार लैजाने शाखाले जनाएको छ । पानीजहाज र निर्माण क्षेत्रको रोष्टरको म्याद पनि उत्पादनमूलक क्षेत्रको जस्तै दुई वर्षको हुनेछ ।

कार्यस्थल परिवर्तन गर्न चाहेमा अर्को उस्तै कम्पनीमा मात्र कम्पनी परिवर्तन गर्न पाउनेछन् । नेपाली श्रमिकले श्रम करारबमोजिम काम गर्नु पर्नेछ । कम्पनीअनुसार पानीजहाज र निर्माण क्षेत्रका लागि तलबसहित एकमहिने तालिम अनिवार्य लिनुपर्ने हुन्छ ।

असारमा खुल्ने आवेदनमा इन्सुलेसन, स्काफोल्ड, ग्रेण्डर, वेल्डिङ, पाइप मेसिनरी र इलेक्ट्रिक क्याबलिङ गरी पाँच क्षेत्रको रोजगारीमा कामदार पठाइने शाखाले जनाएको छ । सन् २००८ मा नेपाल र कोरिया सरकारबीच दोहोरो श्रम सम्झौता भएको थियो । त्यसयता कोरिया सरकारले कोरियन भाषा परीक्षा प्रणालीमार्फत नेपाली कामदार कृषि र उत्पादनमूलक क्षेत्रमा बर्सेनि लैजाने गरेको छ । हाल कोरियामा ७० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?