विराटनगर । कोशी प्रदेशमा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको सरकार थियो । जसपाले सरकार छाडेपछि यो प्रदेशमा एमाले नेतृत्वको सरकार संकटमा पुगेको छ । कोशी प्रदेशका मुख्यमन्त्री तथा अर्थमन्त्री हिक्मतकुमार कार्कीलाई स्वास्थ्यमन्त्री निर्मला लिम्बूले राजीनामा दिएसँगै उहाँलाई सरकार जोगाउन कठिन हुने देखिएको छ ।
केन्द्रको सत्ता गठबन्धनविपरीत एमाले नेतृत्वको सरकारमा माओवादी र जसपा सहभागी थिए । जसपा सरकारबाट बाहिरिएसँगै सरकार छाड्न माओवादीलाई समेत दबाब बढेको छ ।
केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी सहितको गठबन्धनभित्र भए पनि कोशी प्रदेशमा माओवादीले एमाले नेतृत्वको सरकारलाई सहयोग गरेको भन्दै कांग्रेसले विरोध गदै आएको थियो ।
कोशीमा कांग्रेसले सरकार छाड्न माओवादीलाई पटक-पटक दबाब दिए पनि माओवादीले बेवास्ता गर्दै आएको थियो । जसपाले सरकार छाडेपछि माओवादीमाथि दबाब सिर्जना भएको छ ।
गत पुस २५ मा माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा एमालेका कार्की मुख्यमन्त्री बन्नुभएको थियो । तर, राष्ट्रपतिका विषयमा एमाले र माओवादीबीच समझदारी नभएपछि राष्ट्रपति निर्वाचनअघि केन्द्रमा कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार बनेको थियो ।
केन्द्रमा जस्तै, अन्य ६ प्रदेशमा सत्ता समीकरण फेरिए पनि कोशी प्रदेशमा सरकार परिवर्तन भएन । हाल, कोशी बाहेकका ६ प्रदेश र संघीय सरकारमा एमाले प्रतिपक्षमा छ ।
माओवादीका कारण कोशी प्रदेशमा एमाले नेतृत्वका सरकार सत्ता गठबन्धनको विपरीत रहेको नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले आरोप लगाउँदै आउनुभएको छ ।
कोशीमा एमाले नेतृत्वको सरकार छाड्न माओवादी र जसपालाई ५ जेठमा नेपाली कांग्रेसले लिखित रूपमा समर्थन फिर्ता लिन आग्रह गरे पनि माओवादीले बेवास्ता गरिरहेको उहाँको भनाइ छ ।
यस्तै, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएपछि प्रदेश सरकारको विषयमा छलफल गरेर निर्णय दिने माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष भारत भ्रमणबाट फर्किएपछि सरकारको विषयमा निर्णय गर्ने र सत्ता गठबन्धनसँग छलफल गर्ने उहाँको भनाइ छ । प्रदेश सरकारमा माओवादी केन्द्रबाट जीवन आचार्य वन पर्यटन तथा वातावरण मन्त्री र दुर्गा प्रसाद चापागाईं भौतिक पूर्वाधार मन्त्री हुनुहुन्छ । उहाँहरू पनि पार्टीको निर्णय कुरेर बसेको बताउँदै आउनुभएको छ ।
एमाले-कांग्रेसलाई सरकार बनाउन राप्रपाको सहयोग
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशी प्रदेशमा एमालेको ४० सिट र राप्रपाको ६ सिट छ । अहिले जसपा सरकारबाट बाहिरिए पनि एमाले, माओवादी र राप्रपा सरकारको सरकार छ । केन्द्रको सत्ता गठबन्धनमा रहेका दल कांग्रेसको २९, माओवादी केन्द्रको ११, नेकपा एकीकृत समाजवादीका चार र जसपाको एकजना गरी ४६ सांसद मात्र छन् । माओवादी केन्द्रबाट निर्वाचित भएका बाबुराम गौतम सभामुख हुनुहुन्छ । जसका कारण अहिलेको कोशी प्रदेशमा सरकार बनाउन राप्रपाको भूमिका महत्वपूर्ण देखिन्छ ।
राप्रपाले वातावरण बनेको खण्डमा नयाँ गठबन्धनका लागि सहयोग गर्ने बताउँदै आएको कांग्रेसका नेताहरूले दाबी गरको छन् । सभामुखले मत दिएमा बहुमत जुटाउन सक्ने आशामा रहेको कांग्रेस-माओवादीसहित सत्ता गठबन्धनका दलहरू विश्वासको मत लिन राप्रपाको सहयोगको अपेक्षामा छ । एमाले, कांग्रेस र माओवादी राप्रपालाई पनि आफूतर्फ तानेर सरकार बनाउने प्रयासमा छन् । भने, राप्रपा केन्द्रको निर्णय कुरेर बसेको छ ।
कोशीमा दुवै गठनबन्धनलाई बहुमत जुटाउन सजिलो भने देखिँदैन । कुनै पार्टीसँग बहुमत नभएका कारण नयाँ गठबन्धन बने पनि कोशी प्रदेशमा एमाले ठूलो दल भएका कारण सरकारको नेतृत्व गर्ने मुख्यमन्त्री कार्कीले दाबी गर्नुहुन्छ । राप्रपा र माओवादीले सहयोग गर्ने बताउँदै उहाँले केन्द्रीय गठबन्धनले कोशी प्रदेश सरकारमा असर नपर्ने बताउनुभयो । माओवादी र राप्रपा अहिलेकै सरकारलाई निरन्तरता दिने पक्षमा रहेको उहाँले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच