पार्टी रूपान्तरण प्रयासमा नयाँ पुस्ता

हिमालय टाइम्स
Read Time = 7 mins

पार्टी राजनीति नेपालमा सबै कालखण्डमा एकै नास सञ्चालन भएको पाइँदैन । समय र त्यसको प्रभावका आधारमा भिन्न-भिन्न कालखण्डमा फरक ढंगले सञ्चालन हुँदै आएको छ । वर्तमान अवस्था पनि फरक छ, पहिले जस्तो छैन । पार्टीभित्रै अन्तरपार्टी संघर्ष गर्नुपर्ने अवस्था छ र प्रायः सबै पार्टीमा यस्तो प्रयास भएको छ । नेपाली कांग्रेस पार्टीमा पनि यस्तो प्रयास भएको छ । वादविवाद, पक्ष-विपक्ष यसको स्थापना कालमा पनि थियो तर पार्टीको पहिलो लक्ष्य भनेको निरंकुशताको रूपमा रहेको राणा शासनका विरुद्ध क्रान्ति गरी उक्त शासन हटाउने एउटैमात्र लक्ष्य पार्टीको थियो । यस अर्थमा पार्टीहरू एउटा अभियानका साथ सञ्चालन हुने गरेका थिए भन्दा अन्यथा हुँदैन ।

हालको अवस्था त्यस्तो छैन । सरकारको विरोध गरेको अभियोगमा जेल बस्नु पर्दैन÷मारिनु पर्दैन । वर्तमान पुस्ताको राजनीतिप्रतिको त्याग र योगदान हाल कम हुँदै गएको छ । तत्कालीन आवश्यकता र वर्तमान आवश्यकता फरक छ । पार्टीहरू टुट्ने-फुट्ने र जोडिने कार्य भइरहेकै देखिन्छ । पञ्चायत कालमा पनि प्रतिबन्धित राजनीति अभियानकै रूपमा अगाडि बढेको थियो । पञ्चायत व्यवस्था हटाउने अभियान तत्कालीन प्रतिबन्धित राजनीतिको अभिष्ट हुनेगरेको थियो । प्राप्तिका लागि सबै मिलेर राजनीति गर्ने अनि प्राप्तिपछि त्यो फल खाने विषयमा झगडा गरेर पार्टी नै तहसनहस पार्ने काम सबै पार्टीमा भइरहेकै छ ।

मधेसवादी पार्टी हेरौं त्यस्तै छ, कम्युनिष्ट पार्टीहरूमा पनि त्यस्तै छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको हालत उस्तै छ । सबै फुटेका छन्, जुटेका छन् र फेरि फुटेका छन् । यसलाई विडम्बना नै मान्नुपर्छ । प्रजातान्त्रिक पार्टीका रूपमा लामो समयसम्म अरू पार्टीहरूलाई समेत नेतृत्व दिन सकेको पार्टी नेपाली कांग्रेसको पनि अवस्था त्यस्तै हो । फुट र जुटको राजनीति यस पार्टीले पनि भोगेको छ र एकता भएर अगाडि बढेको जस्तो देखिएका बेलामा पार्टीभित्र अनेकौं खालका मतभेद सिर्जना भइरहेका हुन्छन् । गुट-उपगुटहरू पार्टीभित्र रहने गरेका छन् । कोही नेताहरूले पार्टीभित्रका यस्ता धाँजालाई टाल्नुपर्छ भन्ने आवाज उठाउने गरेका छन्, आफू पनि त्यस्तो प्रयासमा लाग्छन् तर अधिकांश नेता भने त्यस्ता विभाजनका बिरुवालाई हुर्काउन मलजल दिने काम गर्छन् ।

नेपाली कांग्रेस पार्टीभित्र यस्तो अवस्था इतिहासदेखि नै विकसित बन्दै आएको छ र अहिलेसम्म त्यो रहिरहेकै छ । विश्वेश्वरप्रसाद कोइराला पार्टीका संस्थापकमध्ये एक हुन् र उनकै आदर्शमा पार्टी हालसम्म बाँचेको छ । राष्ट्रियता, समाजवाद र लोकतन्त्र (प्रजातन्त्र)जस्ता यसका आदर्श थिए । राजतन्त्रबारे पनि बीपीको स्पष्ट धारणा थियो तर हाल पार्टी यस्ता अदर्शको बाटो हिँड्न छोडेको हो कि भन्ने जस्तो अवस्था सिर्जना भएको छ । राजतन्त्रको बाटो छोडेर गणतन्त्रको बाटोबाट हिँडेको डेढ दशक भइसकेको छ । पार्टीका सदस्यहरू भ्रष्टाचारमा निर्लिप्त रहेको सार्वजनिक रूपमै देखिँदै आएको छ । पार्टी परम्परागत शैलीमा चलिरहेको छ ।

यसको रूपान्तरण आवश्यक छ भन्ने दृष्टिकोणका साथ यस पार्टीका केही नेताहरू रूपान्तरण अभियानमा लाग्नुभएको छ । पार्टी सभापतिले एकलौटी रूपमा पार्टी चलाएको आरोप उहाँहरूको छ । वर्तमान सभापतिले अरूका कुरा नसुनेको र आफू खुशी मानोमानी ढंगले पार्टी चलाएको उहाँहरूको भनाइ छ । पार्टीमा धेरै संख्यामा युवा नेताहरू हुनुहुन्छ तर पुरानो पुस्ताले युवा पुस्ताका भनाइ नसुनेका कारण पार्टीको लोकप्रियतामा ह्रास आएको भनेर युवानेताहरूले रूपान्तरण अभियान सुरु गर्नुभएको हो । सभापतिले लामो समयदेखि पार्टीको केन्द्रीय समितिको बैठक बोलाउनु भएको छैन । आफ्नो आग्रहलाई नस्वीकार्ने र केन्द्रीय समितिको बैठक नबोलाउने हो भने विशेष महाधिवेशन बोलाउने भनेर तेस्रो पुस्ताका नेताहरूले चेतावनी नै दिइसक्नु भएको छ ।

उहाँहरूको सो चेतावनी पार्टीको शुद्धीकरण र रूपान्तरणकै लागि हो भन्ने ठान्नुपर्ने हुन्छ । पार्टी यतिविधि अलोकप्रिय हुनेगरी सञ्चालन भइरहने हो भने धेरै अगाडि जान सक्ने सम्भावना नरहन सक्छ । यो नेपाली कांग्रेस पार्टीका हकमा मात्रै होइन सबै पार्टीको अवस्था यस्तै छ । त्यस कारण पार्टीहरू देश र जनताको विश्वास जितेर यिनको हितमा लागी समर्पित बन्न सक्नुपर्छ नत्र राजनीति, पार्टी र नेताहरूप्रतिको जनताको भावना सकारात्मक बन्न सक्दैन र जननिराशा चुलिँदै गएर प्रणालीप्रतिकै उनीहरूको धारणा फेरिन सक्छ । यसै त प्रदेशहरूको औचित्य र आवश्यकता छैन भन्ने माग उठिरहेको छ, पार्टीहरू नसुध्रिने हो भने यस्ता विभिन्न माग पनि अगाडि आउन नसक्लान् भन्ने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?