दुध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बन्दै म्याग्दी

Read Time = 10 mins

म्याग्दी । आज विश्व दुध दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । राष्ट्रिय दुग्ध विकास बोर्डले आज सरोकारवाला निकायहरुको उपस्थितिमा विश्व दुध दिवसको अवसरमा कार्यक्रम गर्दैछ ।

विश्वमा दुध दिवस २००१ बाट मनाउन थालिए पनि नेपालमा भने सन् २०११ बाट यो दिवस मनाउने गरिएको छ । हिमाली जिल्ला म्याग्दीमा पनि पछिल्लो समय व्यवसायिक पशुपालन र दुग्ध व्यवसायप्रतिको आकर्षण बढ्दै गएको छ । विदेशबाट फर्केका युवाहरु धेरैजसो व्यवसायिक पशुपालनमा लागेका छन् । म्याग्दी जिल्ला दुध र दुग्धजन्य पदार्थले आत्मनिर्भर बन्दै गएको भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ ।

१० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किनुभएका म्याग्दीको बेनी नगरपालिका ७ कुरिलाखर्कका ३९ वर्षिय युवा सुरेश ढुंगानाले पेशा, परिश्रम र पैसालाई जीवनसंग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्नुका साथै परिश्रम गर्ने हो भने विदेशको भन्दा बढी आफ्नौ गाउँघरमा नै कमाउन सकिन्छ भन्ने गतिलो सन्देश दिन पनि सफल हुनुभएको छ ।

त्यसैगरी मालिका गाउँपालिका ६ उपल्लो दरवाङका शिव पौडेलले पाँच वर्ष कतार वसेर फर्केपछि गाउँमा नै गरेको भौंसी पालनबाट मासिक एक लाख २० हजार रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । ढुंगाना र पौडेल त केवल प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँहरु जस्तै २ सय बढी युवाहरु विदेशबाट फर्केर गाउँमा नै व्यवसायिक कृषि र पशुपालनमा लागेका स्थानीय तहहरुको कृषि शाखाका तथ्याङ्कहरुमा उल्लेख छ ।
“प्रायः नेपाली युवाहरु विदेश जानका लागि मरिहत्ते गर्छन् । विदेश जानका लागि भएको घरजग्गा धितो राखेर ऋण लिन्छन् । गाउँमै रहेका आय आर्जनका सम्भावनाहरुलाई लत्याएर विदेशको रिमझिममा रमाएको कल्पना गरी ‘मनको लड्डु घिउसंग खाएको’ भ्रममा आफ्नो जिन्दगीका उर्वर दिनहरु खेर फालिरहेका हुन्छन्”ढुंगानाले भन्नुभयो “तर,परिश्रम गर्ने हो भने विदेशको भन्दा बढी आफ्नै गाउँघरमा नै कमाउन सकिने प्रशस्तै संभावनाहरु हामीसंग छन्, हामी त्यो कुरा बुझ्दैनौं ।”

स्वदेशमै संभावना देखेर गाउँ फकिएका ढुंगानालाई गाउँ आएपछि साथीहरुले अमेरिका जान उचाले । तर,उहाँले अमेरिका जाने होइन गाउँमै अमेरिकामा भन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाउनुभयो ।

आजभन्दा ९ वर्ष पहिले २०७० सालमा ढुङ्गाना कृषि तथा पशुपंक्षि फर्म स्थापना गरेर व्यवसाय सुरु गर्नुभएका ढुंगानाको फर्ममा अहिले २२ वटा मुर्रा जातका भैंँसी र दुईवटा जर्सी गाई दुहुना छन् ।

ती भैंसी र गाईबाट दैनिक १५० लिटर दुध सदरमुकाम बेनीबजारमा विक्री गर्नेगरेको ढुंगाना बताउनुहुन्छ । दुई वटा भैसींबाट सुरु गरेको व्यवसायबाट अहिले ढुंगानालाई मासिक ४ लाख रुपैयाँ आम्दानी हुने गरेको छ । सवै खर्च कटाएर मासिक करिब दुईलाखको हाराहारीमा वचत हुने उहाँको भनाइरहेको छ । फर्ममा अहिले पचास लाख रुपियाँ जति लगानी भइसकेको उहाँले बताउनुभयो । भैंसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिनुभएको छ ।

“विहान उठेदेखि राती नसुतुन्जेलसम्म भैंँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दुध पु-याउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरि डेरी उद्योगमा दैनिक १५० लिटर दुध पु-याए पछि बल्ल शरीरमा फुर्ति आउँछ” ढुंगानाले भन्नुभयो ।

प्रतिलिटर ९० रुपियाँमा दुध विक्री हुने गरेको उहाँले बताउनुभयो । ढुंगानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दुध पु-याउनुहुन्छ । “बजारको अभाव छैन,जति पनि विक्री हुन्छ तर,गुणस्तरलाई खस्कन दिनुहुँदैन” ढुंगानाले भन्नुभयो ।

पशुपालन व्यवसायमा परिश्रम गर्न सके विदेशमा भन्दा राम्रो कमाइ गर्न सकिने अनुभव ढुङ्गानाले सुनाउनुभयो । उहाँले पाँचरोपनी जग्गामा फर्म बनाउनुभएको छ भने फर्ममा दुईजनालाई रोजगारी समेत दिनुभएको छ ।

भैंसीको स्याहार सुसारदेखि दुध दुहुने काममा आफै खटिने ढुंगानले बिदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकुल व्यवसाय गर्ने हो भने मनग्गे कमाइ गर्नसकिने बताउनुहुन्छ ।

ढुंगानाको सफलताको कथा यत्तिकैमा सकिदैन । फापेको भैंसी पालनसंगै उहाँले कुखुरा पालन पनि शुरु गर्नुभएको छ । अहिले ढुंगानाको फर्ममा २ हजार ३ सय ब्रोइलर कुखुरा विक्रीका लागि तयारी अवस्थामा छन् । दुध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने मासिक रु ८ लाख पुग्छ । गाई,भैंसीलाई घाँस र कुखुरालाई दाना तथा अन्य सबै खर्च कटाएर उहाँको मासिक कमाइ एउटा सामान्य नेपाली कामदारले अमेरिकामा गर्नेे कमाई भन्दा बढी हुन्छ ।

म्याग्दीमा बढ्यो दूधको मूल्य

यसैबीच म्याग्दीमा दुधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै आइरहेको बेला दूधको मूल्य बढेपछि पशुपालक कृषकहरु खुसी भएका छन् ।

मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर रू ११० र ब्यापारीले अधिकतम रू १३२ सम्म बिक्री गर्ने गरी मूल्य निर्धारण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीले जनाएको छ । यसअघि कृषकले दुधको मूल्य रु ९० प्रतिलिटर र डेरीले उपभोक्तालाई रू १२० मा बिक्री गर्ने गरेका थिए । त्यस्तै गाईको प्रतिलिटर रू ८० कायम गरिएको छ ।

मूल्यवृद्धि भएसँगै प्रतिलिटरमा कृषकलाई प्रतिलिटर रु २० र डेरी ब्यवसायीले १२ रुपैयाँ बढी पाएका छन् । केन्द्रका प्रमुख जीवन आचार्यका अनुसार डेरी ब्यवसायीले किसानबाट खरिद गरेकोभन्दा २० प्रतिशत बढी लिन नपाउने बताउनुभयो ।

दुधको मूल्य समायोजनले कृषकलाई राहत मिलेको बेनपा–६, बास्बोटका दुर्गाप्रसाद पौडेलले बताउनुभयो । “हरेक बर्ष मूल्यबृद्धि अनुसार समायोजन हुनुपर्छ,कृषकको माग सम्बोधन भएको छ” पौडेलले भन्नुभयो । यता उपभोक्ताले दूध आम उपभोक्तासामु पु¥याउन गुणस्तरमा ध्यान दिँदै मूल्य स्थिर बनाउनुपर्नेमा जोड दिएका छन् ।

उपभोक्ताले तिर्ने मूल्य अनुसारको गुणस्तरमा सरकारी निकायबाट नियमित अनगुमन हुन नसकेको उपभोक्ताको गुनासो छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा सहित सरोकारवाला निकायले दूध संकलन खर्च, ढुवानी खर्च, प्रशोधन, प्योकजिङ, बजारसम्म ढुवानी, विक्रेता कमिसनसम्म ध्यान दिदाँ दुधमा मिसावटको अवस्थाका बारेमा समेत डेरीवालालाई सचेत बनाउनुपर्नेमा उपभोक्ताको माग छ । जिल्ला दुध र दुग्धजन्य वस्तुमा आत्म निर्भर बन्दै गएको भेटेरीनरी अस्पताल तथा पशु सेवा म्याग्दीका प्रमुख जीवन आचार्यले बताउनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?