विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षा याममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

बिहीवार कुरिनटार चितवनस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । उहाँले वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरु आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने बताउनु भयो ।

उहाँले सशस्त्र प्रहरी बललाई विपद् व्यवथापनका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । उहाँले विपद् व्यवस्थापनका लागि सर्वप्रथम मनको तयारी र संकल्पको आवश्यकता रहेको बताउनु भयो । गृहमन्त्री श्रेष्ठले संगठनले दिएको जिम्मेवारी पूरा गर्दै सशस्त्रले विपद्को बेलामा जनताको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘वर्षाको सिजन सुरु हुन लागेको छ । बाढी, पहिरो, डुबानका समस्याहरु देखापर्न सक्छन् । सडकहरुमा पहिरो जाने, बाटो अवरुद्ध हुने, दुर्घटना हुने खतरा बढ्नसक्छ । त्यस्तो स्थितिमा भर्खरै मात्र पनि हामीले केन्द्रिय विपद् समितिको बैठक बसेर आवश्यक तयारीका काम अगाडी बढाएका छौँ । त्यसको निम्ति दोस्रो बैठक तत्काल बसेर केही योजनाहरुलाई व्यवस्थित ढंगले तयारी गर्ने निर्णय पनि लिएका छौँ । त्यसैगरी यस अवस्थामा आफूहरुलाई पनि तयार गर्न सुरक्षा निकायका ति सबै अफिसर र जवानहरु जसले हरेक आपत् विपद् पर्दाखेरी जनतालाई सेवा गर्दै आइराखेको छ, उनीहरुले पनि आफूलाई त्यही ढंगले तयारी गर्नुपर्ने आवश्यकता छ । पहिला तपाईहरुको सीप भन्दा मनको तयारी आवश्यकता छ । तपाईहरुले आफूलाई संकल्प गर्नुपर्ने आवश्यकता छ । हामीलाई हाम्रो संगठनले विशेष जिम्मेवारी दिएको छ । विशेष जिम्मेवारी विपद् पर्दाखेरी जनतालाई राहत पु¥याउने विशेष जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीबोध गर्दै आफ्नो सीपको अधिकतम प्रयोग गरेर तपाईहरुले जनतालाई विपद् पर्दाखेरी सेवा गर्नुहुनेछ । त्यसको निम्ति आफूलाई तयार पार्ने संकल्पका साथ तपाइहरु प्रश्तुत हुनुभएको छ । त्यो निश्चय नै सराहनीय छ ।’

उहाँले सशस्त्र प्रहरीले विगतमा विपद्को समयमा गरेको राहत र उद्दारको काम उदाहरणीय र प्रशंसनीय रहेको पनि बताउनु भयो । उहाँले समयमै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गरेमा विपद्को जोखिम कम हुने भन्दै तयारीमा रहन आग्रह गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?