तेस्रो खेलमा नेपालको सहज जित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मलेसियाविरुद्ध जारी टी-२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले सहज जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले मलेसियामाथि २७ रनको जित हात पारेको हो । योसँगै पाँच खेलको क्रिकेट सिरिजमा नेपालले दुई-एकको अग्रता लिएको छ ।

जितका लागि १११ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ८३ रनमा रोकियो । मलेसियाका लागि महिराह इजाती इस्मालीले ५४ बलमा छ चौकासहित ४४ रन बनाउनुभयो । यस्तै, ओपनर विनीफ्रेड आनी दुराईसिंघमले ३८ बलमा एक चौकासहित २० रन बनाउनुभयो ।

त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन । नेपालकी इन्दु बर्माले तीन ओभरमा सात रन खर्चेर एक विकेट लिनुभयो । यस्तै, सीता रानामगरले दुई ओभरमा १३ रन खर्चेर एक तथा कविता कुँवरले चार ओभरमा १० रन खर्चेर एक विकेट हात पार्नुभयो ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ११० रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्री बेलबासेले १५ बलमा तीन चौका र एक छक्कासहित २७ रनको आक्रामक इनिङ खेल्नुभयो ।

नेपालले दोस्रो ओभरको अन्तिम बलमै ओपनर कविता कुँवरलाई दुई रनमै गुमाएको थियो । दोस्रो विकेटका लागि सीता राना मगर र ज्योति पाण्डेले ३५ रनको साझेदारी गर्दै नेपाली पारी उकास्नुभएको थियो । ज्योतिले २४ बलमा तीन चौकासहित २३ रन बनाउनुभयो । सीताले ३५ बलमा २१ रन बनाउनुभयो ।

इन्दु बर्माले ३० बलमा २० रन बनाउनुभयो । त्यसबाहेक विन्दु रावल तीन र कविता जोशी एक रनमा नटआउट रहनुभयो । मलेसियाकी निकनुर डीनले चार ओभरमा २३ रन खर्चेर दुई विकेट लिनुभयो । यस्तै, एलिसा फिर्दुजले दुई ओभरमा १७ रन खर्चेर एक र विनफ्रिद आनीले चार ओभरमा २४ रन खर्चेर एक विकेट लिनुभयो ।

यसअघि भएको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पुनरागमन गर्दै नेपालले सात विकेटको सानदार जित हात पारेको थियो । अब नेपालले चौथो खेल शनिबार र पाँचौँ खेल आइतबार खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?