भौतिक पूर्वाधारसँग जोडिँदै एसियाकै अग्लो पचालझरना

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । कालीकोटको उत्तरपूर्वी क्षेत्रमा पर्ने एसियाकै अग्लो पचालझरना भौतिक पूर्वाधारसँग जोडिने भएकोे छ । नेपालकै अग्लो दाबी गरिएको पचालझरना भौतिक पूर्वाधार सडक सञ्जालसँग जोडिएपछि अब सजिलै झरनाको अवलोकन गर्न सकिने भएको छ । भौतिक पूर्वाधारको अवभावले ओझेलमा परेको झरना क्षेत्रमा कर्णाली करिडोरदेखि झरनासम्मै सडक निर्माण भएपछि अब आन्तरिक तथा बाह्य पर्यटकहरूले झरनाको सहजै रूपमा अवलोकन गर्न पाउने भएका हुन् ।

पचालझरनाको फेदमा पैदलमार्ग निर्माण भइसकेको छ भने कर्णाली करिडोरदेखि खार्दुसम्मै सडक निर्माण गरी गाडीको उद्घाटन गरेपछि अब पचालझरना अवलोकन र भ्रमण गर्न आउने पर्यटकका लागि सजिलो हुने भएको छ । कालीकोटको मुख्य पर्यटकीय गन्तव्यका रूपमा लिएको पचालझरना ४१५ मिटर अग्लो छ । पचालझरना गाउँपालिकाका सरकारी तथा गैरसरकारी निकायले त्यसको लम्बाइ नापेर सार्वजनिक गरिसकेका छन् । यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुम जिल्लामा रहेको ह्यागतुङ झरना ३६५ मिटर उचाइको छ । उक्त ह्यागतुङ झरनाभन्दा कालीकोटको पचालझरना थप ५० मिटर अग्लो छ । तर, पर्यटन बोर्डले यस झरनालाई नेपालकै अग्लो झरना भनेर अभिलेख अहिलेसम्म गरेको छैन ।

कालीकोटको उत्तरपूर्वी क्षेत्रमा पर्ने पचालझरना गाउँपालिका-३ खार्दुमा रहेको छ । सदरमुकाम मान्माबाट करिब तीन घण्टा गाडी र एकदिन पैदलयात्रा गरेपछि त्यहाँ पुग्न सकिन्छ । बाह्रै महिना निरन्तर पानी बगिरहने उक्त झरना अवलोकन गर्नका लागि सडक र पदमार्ग निर्माण पनि भइरहेको छ । तर झरनाको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीय ज्योति कठायतले बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने यस झरना अग्लाअग्ला पहाडी हिम शृंखलाहरूको फेदमा भएकाले थप आकर्षक देखिन्छ । दुई वर्ष अगाडि गाउँपालिकाले आधिकारिक रूपमा गरेको सर्वेक्षणमा पचालझरना खसेको ठाउँदेखि सिधै तल ठोक्किएको ठाउँसम्म ३८१ मिटर उचाइ र ठोक्किएको ठाउँबाट तल झरेको ठाउँको समेत दूरी लिँदा ४१५ मिटर अग्लो रहेको प्रमाणित गरिएको छ । स्थानीय शिवराज सेजुवालले पटकपटक नापजाँच गरेर नेपालकै अग्लो दाबी गरिएको झरनाको पर्यटन बोर्डमा अभिलेखसमेत नहुनु दुःखद भएको बताउनुभयो । यो ऐतिहासिक झरनाको संरक्षण, विकास र प्रर्बद्धन गर्न सकिए कर्णालीको आकर्षक गन्तव्य बन्ने निश्चित रहेको उहाँको भनाइ छ ।

पचालझरनाबाट खसेको पानी करिब १० किलोमिटर ओरालो बगेर कर्णाली नदीमा मिसिएको छ । स्थानीका अनुसार यो झरनाको बीचमा ठूलाठूला गुफाहरू पनि छन् । यहाँका विद्यालयहरूले शैक्षिक भ्रमणमा यही झरनाको अवलोकनसमेत गराउने गरेका छन् ।

सरकारको सय गन्तव्यभित्र परेको झरना यस अघि मुलुकका नयाँ सय गन्तव्यहरू भनेर सार्वजनिक गरेका गन्तव्यहरूको सूचीमा यस झरनालाई पनि समावेश गरेको थियो । त्यसपछि यहाँका नागरिकमा उत्साह छाएको थियो । गाउँपालिकाका निवर्तमान अध्यक्ष खड्गराज सेजुवालले गाउँपालिकाले प्राविधिकसहितको टोली खटाएर झरनाको नापनक्सा गरी नेपालकै अग्लो झरना भएको दाबीसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन बोर्डमा अभिलेख गरी वैधानिकता दिन पहल गर्नुभएको थियो ।

गाउँपालिकाले पचाल झरनासम्म पुग्नको लागि निर्माण गरिएको पैदलमार्ग, होमस्टे र सूचना केन्द्रको लागि संघ, प्रदेश र स्थानीय तहले हालसम्म ९० लाख खर्च गरिसकेको पचालझरना गाउँपालिकाका सूचना अधिकृत प्रकाश कठायतले बताउनुभएको छ । ‘उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०७८÷७९ मा तीन करोड ३२ लाखमा थप काम सुरु भइसकेको छ ।’

स्थानीय सरकार र प्रदेश सरकारले प्राथमिकता दिएको भए पनि नेपाल पर्यटन बोर्डमा अभिलेख नराखिँदा ओझेलमा परेको गाउँपालिका अध्यक्ष देवराज शाहीले बताउनुभएको छ । उहाँले मन्त्रालयमा पटकपटक मन्त्री फेरिँदा पर्यटन बोर्डमा अभिलेख हुन नसकेको दाबी गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?