नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर

हवाई रुटमा सम्झौता भएन, पञ्चेश्वरमा पुरानै रटान

अनिल क्षेत्री
Read Time = 22 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चारदिने औपचारिक भ्रमणका क्रममा बहुप्रतिक्षित रहेको हवाई रुट विस्तार र पञ्चेश्वर बहुद्देश्यीय परियोजनामा महाकालीको पानी बाँडफाँटको ठोस सहमति हुन सकेन । नेपालको मुख्य एजेण्डामा रहेका यी दुई विषयमा भारत सहमतिमा आउन नसकेपछि भ्रमणको क्रममा अन्य सातवटा विषयमा मात्र सम्झौता भएको छ । नेपालले महेन्द्रनगरबाट हवाई रुट मागेको थियो । तर, यसमा ठोस सहमति भएन । त्यस्तै, पञ्चेश्वर परियोजनाको पनि टुंगो लगाउनुपर्ने माग थियो । प्रधानमन्त्री ‘प्रचण्ड’ले संयुक्त पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्ने क्रममा यी विषयमा भारत सकारात्मक रहेको जानकारी दिँदै भन्नुभयो, ‘नेपालले थप एयर रुटका लागि पनि आग्रह गरेको थियो । एटिआर विमानका लागि द्विपक्षीय फ्लाइटका लागि भारतले दिएको सकारात्मक संकेतलाई नेपालले स्वागत गरेको छ ।

नेपाल र भारतबीच सातवटा मुख्य सम्झौता भएका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार द्विपक्षीय सम्झौता भएको हो । बिहीबार भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि पत्रकार सम्मेलनमार्फत सहमति सार्वजनिक भएको हो । नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेर सहमतिबारे जानकारी दिनुभएको छ । नेपाल-भारत पारवहन सम्झौता नवीकरण, सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्‍याउने सहमति भएको छ । त्यस्तै, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पिडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ । ६६९ मेगावाट क्षमताको तल्लो अरुणबाट नेपालले १४०.४९ बिजुली पाउने गरी भारतीय कम्पनीसँग परियोजना विकास सम्झौता (पिडिए) भएको हो । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन)ले २१ प्रतिशत बिजुली पाउने गरी सम्झौता भएको छ । त्यस्तै, डिजिटल पेमेन्ट सम्झौता पनि भएको छ ।

यी हुन् सम्झौता, शिलान्याय र उद्घाटन भएका विषय

  • सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोष्टको शिलान्यास ।
  • नेपालगञ्ज रुपैडिया इन्टिग्रेटेड चेकपोष्टको उद्घाटन ।
  • अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइनको शिलान्यास ।
  • सिलीगुढी-झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारी ।
  • दोधारा चाँदनी इन्टिग्रेटेड चेकपोष्ट निर्माणको समझदारी ।
  • फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्टमा सम्झौता ।
  • क्रस बोर्डर पेमेन्टबारे समझदारी ।
  • बथनाहा विराटनगर कार्गो रेलको उद्घाटन ।
  • गोरखपुर-न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाइन निर्माणको शिलान्यास ।

पञ्चेश्वरको विवाद तीन महिनाभित्र टुंग्याउने सहमति
नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तीन महिनाभित्रै टुंगो लगाउने सहमति भएको छ । भारत भ्रमणका क्रममा हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत तीन महिनाभित्र पञ्चेश्वरको डिपिआरको टुंगो लगाएर एक वर्षभित्र लगानीको प्रारूप टुंग्याउने सहमति भएको जानकारी दिनुभएको हो । पानीको लाभको बाँडफाँटका आधारमा दुई देशले गर्ने लगानीको परिमाण टुंगो लगाउन दुवै देश सहमत भएको जानकारी दिँदै वार्तामा सहभागी एक अधिकारीले भन्नुभयो, ‘तीन महिनाभित्र नै पञ्चेश्वरमा रहेका सबै विवाद टुंग्याएर अघि बढ्न दुवै पक्ष सहमत भएका छन् । पानी बाँडफाँटको लाभ कसले कति लिने भन्ने टुंग्याएर त्यसको आधारमा नै लागत तय गर्न भारत सहमत भएको छ ।’ महाकाली सन्धि भएको २७ वर्षसम्म पनि पञ्चेश्वरको निर्माण सुरु हुन सकेको छैन । २९ माघ २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी पिभी नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गर्नुभएको थियो ।

सीमासहित सबै मुद्दाको समाधान गर्छौं : मोदी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्ने बताउनुभएको छ । उहाँले दुई मुलुक मिलेर सीमासहित सबै मुद्दाको समाधान गर्ने बताउनुभएको हो । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय भेटवार्ता गरेपछि बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘हामी आफ्नो सम्बन्धको हिमालय जत्तिकै उचाइ दिनको लागि काम गरिरहन्छौँ । यो यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको हो या कुनै अरू विषय सबैको समाधान गर्छौं ।’ मोदीले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको उल्लेख भन्नुभयो, ‘यो सुन्दर क्षणको अझ बढी महत्व दिनका लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनामा तीव्रता ल्याउनुपर्छ ।’

संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री प्रचण्डले पनि सीमा समस्या समाधानबारे भन्नुभयो, ‘प्रधानमन्त्री मोदीजी र मैले सीमा मामिलाको बारेमा पनि छलफल गर्‍यौँ । मैले मोदीजीलाई सीमा समस्या स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेँ ।’

नेपाल-भारत पार्टनसीप सुपरहिट बनाउने दाबी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच पछिल्ला नौ वर्षमा धेरै प्रगति भएको उल्लेख गर्दै रेलवे सुरुवात, पेट्रोलियम पाइपलाइनलगायत थुप्रै काम गरेको बताउनुभएको छ । भविष्यमा आफ्नो पार्टनसीपलाई सुपरहिट बनाउन महत्वपूर्ण निर्णय भएको जानकारी दिँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘नौ वर्षमा हाम्रो पार्टनरसिप साँच्चै हिट भयो । वर्षको उपलब्धी बयान गर्न खोजे दिन बित्छ, भविष्यमा सुपरहिट बनाउनेगरी महत्वपूर्ण निर्णय गरेका छौँ ।’

‘नेपाल र भारतबीच लङटर्म पावर ट्रेड एग्रिमेन्ट’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताउनुभएको छ । भारत भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र आफूले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महŒवपूर्ण निर्णय लिएको जानकारी दिँदै भन्नुभयो, ‘आज मैले र प्रधानमन्त्री प्रचण्डले भविष्यमा आफ्नो समझदारी सुपरहिट बनाउन महŒवपूर्ण निर्णय लिएका छौँ । नेपाल र भारतबीच ट्रान्जिट एग्रिमेन्ट भएको छ ।’

नेपालबाट वार्षिक १० हजार मेगावाट बिजुली किन्ने घोषणा
भारतले नेपालबाट वार्षिक १० हजार मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, ‘आगामी १० वर्षमा नेपालबाट १० हजार बिजुली आयात गर्ने लक्ष्य लिएका छौँ । खुर्कोट-कर्णाली र तल्लो अरुण जलविद्युत् परियोजनामा भएको सम्झौताले हाम्रो ऊर्जा सम्बन्धलाई थप मजबुत बनाउनेछन् । एक मल कारखाना सञ्चालनका लागि भारतले सहयोग गर्नेछ ।’

नेपाल र भारतबीच दुईवटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना बनाउन समझदारी भएको छ । समझदारीअनुसार भारतको सिलिगुढीदेखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै, अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि दुई देशबीच समझदारी भएको छ । भारतले झापाको चारआलीमा पेट्रोलियम भण्डारण डिपो पनि बनाउनेछ ।

मोदीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मात्रै नभएर सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले चाँडै भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणमा स्वागत गर्ने बताउनुभयो । दिल्लीस्थित हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीले छिमेकीलाई प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गर्नुभएको छ । संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मोदीजीले छिमेकीलाई पहिलो प्राथमिकतामा राखेकामा खुसी छु । नेपालसँग हाइड्रोपावर डेभलपमेन्ट, पावर ट्रेड र क्रस बोर्डर ट्रान्समिसन लाइन आदिमा लङट्रम ट्रेड भएको छ । नेपालको विद्युत् बंगलादेश निर्यातका लागि भारतले सुविधा दिन इच्छुक देखिएकोमा म प्रशंसा गर्दछु । यो महत्वपूर्ण विकास हो । दुई देशबीच यो महत्वपूर्ण सम्झौता हो ।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको उल्लेख गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा प्रचण्डले भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति दिएको जानकारी दिनुभएको हो ।

विराटनगर रेलको उद्घाटन
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गर्नुभएको छ । बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर रेलवे र कार्गो रेल उद्घाटन गर्नुभएको हो । उद्घाटनलगत्तै भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको छ । विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुगेको सो मालवाहक रेलमा केही उद्योगका लागि कच्चा पदार्थ ढुवानी गरिएको छ ।

यस्तै, बाँकेमा नेपालगञ्जमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ ।

नेपालको भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास भएको छ । भारतको सहयोगमा उक्त परियोजना निर्माण सम्पन्न हुनेछ ।

अग्निपथ र इपिजीबारे छलफल भएन : क्वात्रा
भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाल-भारत प्रबुद्ध समूह (इपिजी)को प्रतिवेदन लगायतका विषयमा चर्चा नभएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव क्वात्राले व्यक्तिगत स्तरमा र त्यसपछि द्विपक्षीय प्रतिनिधिमण्डलबीच भएको बैठकमा ती विषयहरू नउठेको बताउनुभएको हो । संयुक्त पत्रकार सम्मेलनपछि विदेश सचिव क्वात्राले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘मेरो जानकारीमा भएअनुसार अग्निपथमा गोर्खा भर्ती, इपिजी र शान्ति तथा मैत्री सन्धिको विषयमा दुई प्रधानमन्त्रीहरूबीच द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय बैठकमा कुरा भएन । यस्तै, भारतले संसद्मा भर्खरै राखेको ‘अखण्ड भारत’को मुरलको बारेमा पनि दुई प्रधानमन्त्रीबीचमा छलफल भएन ।’

नयाँ नक्साबारे भारतको प्रतिक्रिया
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नवनिर्मित संसद् भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साबारे चासो राख्नुभएको छ । भ्रमणको पहिलो दिन बुधबार आफूलाई भेट्न आउनुभएका भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग प्रधानमन्त्री प्रचण्डले नक्सामा नेपाली भूमि समेटिएकोबारे चासो राख्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले नक्साबारे चासो व्यक्त गर्दा भारतीय पक्षले नक्सालाई राजनीतिक रूपमा नभई सांस्कृतिक रूपमा मात्रै बुझ्न आग्रह गरेको प्रधानमन्त्रीको भ्रमण टोलीमा रहनुभएका एक सदस्यले जानकारी दिनुभएको छ ।

गार्ड अफ अनर किन दिइएन ?
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्मान ‘गार्ड अफ अनर’ पाउनुभएन । प्रधानमन्त्री प्रचण्डको भ्रमण ‘राजकीय’ नभएका कारण भारतले ‘गार्ड अफ अनर’ प्रदान नगरेको भारतीय पक्षले जनाएको छ । राजकीय भ्रमणमा विदेशी सरकार प्रमुख तथा राष्ट्र प्रमुखको भ्रमणका क्रममा ‘गार्ड अफ अनर’ दिने प्रचलन छ । प्रचण्डको भ्रमण ‘अफिसियल’ मात्र रहेका कारण भारतले ‘गार्ड अफ अनर’ नदिएको स्रोतको भनाइ छ ।

महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण
चारदिने भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार भारतको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नुभएको थियो । सो अवसरमा प्रचण्डले महात्मा गान्धीको सम्मान र स्मरणमा एकमिनेट मौनधारण गर्नुभएको थियो । प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गर्नुभयो । गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेपछि प्रधानमन्त्री प्रचण्डले हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । भेटवार्तालगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो ।

द्विपक्षीय छलफल र भेटवार्तालगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । लगत्तै आफ्नो सम्मानमा भारतीय समकक्षी मोदीले आयोजना दिवाभोजमा सहभागी हुनुभएको थियो । बिहीबार नै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । दुवै भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो । बिहीबार साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गरेको कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुभएको छ ।

तेस्रोपटक मुलुकको प्रधानमन्त्री बन्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को यो चौथो भारत भ्रमण हो । गत पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि भने प्रचण्डको यो पहिलो भारत भ्रमण हो । यसअघि पहिलोपटक २००८ को सेप्टेम्बरमा, दोस्रोपटक २०१६ को सेप्टेम्बरमा र तेस्रोपटक सन् २०१६ कै अक्टोबरमा प्रचण्ड भारत भ्रमणमा जानुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?