कथा : कालो धरती

हिमालय टाइम्स
Read Time = 20 mins

✍️ अनिल नेपाली

पण्डित अगस्तिको बिदाइ भयो । एउटा भरिया उनको पछिपछि पूर्वतिर हानियो । टाढाका अतिथिहरू रुँदै फर्किए । छिमेकीले दिनभरी आँखा रसाए । किनकि, आज मनमतीको तेह्रौं दिनको पुण्यतिथि थियो ।

मर्ने बेलामा मनमतीले छोराहरूलाई भनेकी थिइन्, अम्बालाई राम्ररी पाल्नु, उमेर पुगेपछि असल कुमार खोजेर दिनु..। तर त्यही बेलुका अम्बालाई अब कस्ले पाल्ले भन्ने विषयमा जेठो र कान्छो दाजुबीच कुरा मिलेन, झगडा सुरु भयो । दुवै आँगनमा साँढे झै मडारीन थाले । अम्बा रुँदै गाउँ पसी ।

अम्बा अर्थात १० वर्षकी अबोध बालिका । जसलाई खान र लाउनबाहेक सांसारीक सुख भोगको आकर्षण छैन । तर बाबुआमाको मृत्युपछि आफ्नै घरमा ऊ फोहोरको पोको जस्तै हुन थाली । अम्बा प्रायः छिमेकी सिते बज्यैकहाँ जान्थी र धेरैजसो उतै बस्ती । सिते बज्यै र मनमती साह्रै मिल्ने छिमेकी थिए । दुईबीच सुखदुःखको ऐचोपैचो चल्थ्यो । कुनै दिन मनमतीले सिते बज्यैलाई भनेकी थिइन्-दिदी तपाइलाई पतिको शोक छैन । सन्तानले शान्ति दिएका छन् । त्यसैले पक्कै म तपाईभन्दा पहिल्यै मर्नेछु । मेरा छोराहरूको भर छैन । म छिट्टै मरेभने अम्बालाई असल कुमार खोजेर पठाइदिनु । तपाईको गुण म स्वर्गमा तिर्नेछु ।

हेमन्त ऋतुको एक दिन घाम अस्ताउन सूर्य पश्चिमतिर भासिँदै थियो । एकजना अर्धबैंसे पुरुष सिते बज्यैको आँगनमा लखतरन भएर उभियो र बुढीलाई चिने झै वाल्ल परेर हेरिरह्यो । कुखुरा थुन्दै गरेकी बुढीले पनि चिने झै चशमामाथिबाट आँखा तन्काउँदै हेरिरहिन तर दुवै बोलेनन् । एकछिन् शून्यता छायो । बुढी अचानक बोलिन् । त पुसमान होइनस् ? खुशी हुँदै पुरुषले बोल्यो हो दिदी हो म पुसमान भोटे कुसुमपुरबाट आएको । बीस वर्षअघिको धमिलो स्मृतिलाई बुढीले चस्मा मिलाउँदै सम्झिइन् । सानो छँदा बुढीकी आमासँग ऊ पछिपछि लागेर आइरहन्थ्यो ।

तर, पन्ध्र वर्षअघि सानो भेरीमा आएको बाढीले उसको श्रीसम्पत्ति बगाएपछि कहिल्यै आएको थिएन । यतिका वर्षपछि आईतीलाई भेट्न पाउँदा बुढी खुशीले गद्गद् भइन् । साँझ परिहाल्यो । बुढीले कुखुरो छिनाइन् । भान्सामा अम्बाले सहयोग गरी । खानाका परिकार तयार भए । सुरुमा पुसमानलाई खाना दिइयो । त्यसपछि अम्बा र बुढीले खान सुरु गरे । पुसमानले भोको गोरुले कुँडो चपाए झै निमेसभरमा थालको भात सक्यो । तर लाजले थपेन । उसले कसैलाई पर्खेन ।

पुसमानकी श्रीमतीको नाम राम्री थियो । ऊ रुपको निक्कै चिन्ता गर्थी र दिनभरि आफूलाई सिँगारेर कौसीमा उतरका हिमाल हेरेर बस्थी । लोग्नेले गुलाबकी फूलजस्ती अम्बालाई घरमा ल्याएको देखेर राम्री खुसीले गद्गद् भई । पुसमान दम्पत्तिले अम्बालाई छोरी बनाएर पाल्न थाले ।

हात धोएर चिसै हात गलैचामा पल्टियो । बुढी र अम्बाले पनि थाल चाटीचाटी मिठो मानेर खाए । सबैले खाना खाईसकेपछि पुसमानले मन खोलेर बुढीसँग बात मार्‍यो । भन्यो- दिदी बाढीले श्रीसम्पत्ति बगाएपछि म गर्मीको चराझै बिरक्तिएर कालापहाडतिर हानीए । त्यहाँ धेरै दुःख गरेँ । आज मसँग प्रशस्त जमिन छ, कामदार छन् । सम्पत्ति छ तर सन्तान छैनन् । यति भनेर ऊ केटाकेटी झै धुरुधुरु रुन थाल्यो । जन्मिदै चर्केको भाग्य लिएर जन्मेछु उसले रुँदै भन्यो-कसैले पाल्नको निम्ति सन्तान देलान कि भनेर खोज्न आएको ।

यति भनेर ऊ झन्झन् रुन थाल्यो । चुल्होको कुनाबाट अम्बाले पुसमान रोएको वाल्ल परेर हेरिरही । पुसमानले आँसु बग्दै गरेको आँखालाई टम्म कस्यो र हत्केलामा टाउको राखेर चुपचाप बस्यो अनि निमेसभरमा गलैचामा ढलेर भुसुक्क निदायो ।

राति बुढीको मनमनै पुसमानको साथमा अम्बालाई कुसुमपुर पठाइदिने विचार गरी । बुढीले तुरुन्त अम्बालाई निन्द्राबाट ब्युँझाएर भनी- तँ त्यो मान्छेसँग कुसुमपुर जान्छेस् ? तर अम्बालाई सपनामा डरलाग्दो यमराज आएर त मसँग जान्छेस् भनेजस्तो भयो । अम्बा जान्न भन्दै चिच्याउन थाली । होइन–होइन जानु पर्दैन । बुढीले अम्बालाई फकाइन् । अम्बा डराउँदै फेरि निदाई । बुढी पनि छेवैमा खोक्दै सुतिन् ।

भोलिपल्ट बिहान अम्बा र पुसमानलाई लिएर बुढी अम्बाको घरमा गइन् । अम्बाको जेठो दाजु गाउँबाट हराइसकेको थियो । अब सोध्नुपर्ने कान्छोलाई थियो । उनले सबैकुरा भनिन् । कान्छो दाइले अनुमति दियो र उसका पुराना कपडाको पोको घरबाट निकालिदियो । त्यसपछि ढोकामा चुकुल ठोकेर ऊ अलप भयो । अब अम्बा पुसमानसँग कुसुमपुर जानैपर्ने भयो । अम्बाले बुढीको फरिया समातेर ठूलोठूलो स्वरमा रुँदै भनि-मेरी बज्यै म जान्न । बुढी पनि अम्बालाई छातीमा टाँसेर रोइन् । त्यहाँ केही बज्रपात परेजसरी रुवाबासी चल्यो । अम्बा र बुढी अंगालो हालेर धेरै बेर रोए । अम्बाले घरको ढोका हेरी । दाजुले चुकुल ठोकेको थियो । त्यसपछि अम्बा रुँदै पुसमानको पछिपछि कुसुमपुर गई ।

पुसमानकी श्रीमतीको नाम राम्री थियो । ऊ रूपको निक्कै चिन्ता गर्थी र दिनभरि आफूलाई सिँगारेर कौसीमा उतरका हिमाल हेरेर बस्थी । लोग्नेले गुलाबकी फूलजस्ती अम्बालाई घरमा ल्याएको देखेर राम्री खुशीले गद्गद् भई । पुसमान दम्पत्तिले अम्बालाई छोरी बनाएर पाल्न थाले । छ महिना बित्यो । राम्री गर्भवती भई । घरमा सुख, शान्ति, सम्पत्ति बढ्दै गयो । राम्रीले छोरो पाई । उसको नाम प्रभास राखियो । प्रशस्त भेडा काटिए । तीन दिनसम्म गाउँलेलाई भोज खुवाउँदै खुशीयाली मनाइयो । प्रभास बढ्दै गयो ।

त्यस घरमा अम्बालाई गर्ने सबै माया प्रभासतिर पोखियो । राम्रीले ससाना कुरामा अम्बालाई गाली गर्न थाली । पुसमान सम्पूर्ण रूपमा जोइटिङ्ग्रे भइसकेकाले स्वास्नीका कुरा सुनेर अम्बालाई देखिनसक्ने भयो । प्रभास तीन वर्षको भयो । अब अम्बा त्यस घरमा नअट्ने भई । अम्बाले आफ्नो जन्मघर फर्किने इच्छा गरी, पुसमानले फर्काइदियो ।

गाउँमा सिते बज्यै मरिसकेकी थिई । अम्बाको कान्छो दाजुले बिहे गरिसकेछ । उसकी स्वास्नीको नाम मुहान थियो । ऊ छुच्ची थिई । दाजु सधैँ रक्सी खाएर घरमा झगडा मच्याउँथ्यो ।

पल्लो गाउँको बद्री अम्बाको घरमा आइरहन्थ्यो । कारण मुहान थिइ । ऊ उमेरले ४५ वर्षको थियो र उसकी श्रीमती मरिसकेकी थिई । अब त्यस घरमा अम्बा पनि थिइ । फुलेको गुलाबजस्ती चौध वर्षकी सुन्दरी अम्बा । यो उमेरमा मानवजाती सबैभन्दा राम्रा कहलिन्छन् । तर अम्बा विशेष थिई । बद्रीले अम्बालाई खुबै मन परायो । त्यस घरमा झन् ऊ दिन दिन आउन थाल्यो । अम्बाको कान्छो दाजुसँग झन् नजिकियो । साँझ पर्न साथ रक्सी र कुखुरा ल्याएर रात बिताउन थाल्यो । एक दिन बद्रीले आफ्नी आमाको तिलहरी सुटुक्क चोरेर मुहानको हातमा राखिदियो । मुहान खुशीले गद्गद् भई ।

उसले चेप्रो घस्दै भनी-बद्री दाइ भन्नुस् तपाईंको म के सेवा गरू ? बद्रीले भन्यो–तिम्रो घरमा फूलेको गुलावको फूल मलाई देऊ अरू सुनका गहना तिम्रा हातमा राखिदिउँला..। मुहानले हतारिँदै सोधी-त्यो गुलाबको फूल ? अर्थात् मेरी नन्दा ? अरू सुनका गहना.? हुन्छ हुन्छ । त्यो गुलाब अब तपाईंकै भयो । यो मेरो देब्रे हातको खेल छिट्टै पूरा हुन्छ ।

राती बिस्तारामा मुहानले लोग्नेलाई सबै कुरा भनी । बद्रीले दिएको तिलहरी देखाई । अरू पनि गहना पाइने भएपछि लोग्ने खुशी भयो । उसले एउटा हातमा गहना लिने र अर्को हातले अम्बालाई टीका लाइदिएर बद्रीको साथमा पठाउने चाँजोपाँजो तुरुन्त मिलाउन स्वास्नीलाई आदेश दियो ।

बद्रीसँग बिहे गर्न मुहानले भोलिपल्ट अम्बालाई सक्दो फकाई । दाजुले हकार्न थाल्यो । यता सेती बुढी मरिसकेकी थिई । मावली बसाइँ सरेर हिँडिसकेका थिए । अम्बाको जाने ठाउँ कतै थिएन । घरमा बस्ने अवस्था रहेन । अन्ततः बद्रीले अम्बालाई लगिछाड्यो ।

बद्रीको घरमा ऊ र बुढी आमाबाहेक कोही थिएनन् । त्यो पैतालीस वर्षे पुरुषलाई देख्दा अम्बा निक्कै डराउँथी । बेलुका बद्रीकी आमासँग सुत्न जान्थी । तर, बुढीले अम्बालाई बद्री सुतेको कोठामा तानेर भित्र हुत्याइदिन्थी र बाहिरबाट चुकुल लगाइदिन्थी । बद्रीले अम्बाको मुख कपडाले थुनिदिन्थ्यो र चौध वर्षको कलिलो यौवनलाई सक्दो गिजोलेर थाकेपछि भुसुक्क निदाउँथ्यो । बद्री निदाएपछि अम्बा होसमा आउँथी र झ्यालबाट भागेर डराउँदै बुढीको छेउमा गएर सुत्थी ।

बद्रीले उसलाई निक्कै माया गथ्र्यो तर अम्बा बुझ्दिनथी । अम्बाको नजरमा बद्री लोग्ने नभई कपडाले मुख थुनेर बलिया हातले कलिला नाडीलाई पक्रेर निर्दयी रूपमा कलिलो यौवन गिजोल्ने डरलाग्दो पुरुषमात्र थियो । दिनहरू बित्दै गए । अम्बा पन्ध्र वर्षकी हुनसाथ ऊ गर्भवती भई । अम्बाको पेट बढ्दै गयो । उ पेटमा काउकुती लागेको अनुभुति बारम्बार गर्थी तर कसैलाई भन्दिनथी । पेटमा बच्चा खेल्दा काउकुती लाग्छ तर आफू गर्भवती भएको उसलाई थाहा थिएन । महिना पुग्यो । छोरो जन्मियो । उसको नाम देउता राखियो । बद्रीको परिवारमा खुसीको सिमा रहेन । टाढाटाढाका आफन्तहरू भेट्न आए । बजारबाट महँगो चामल ल्याइयो । गाउँमा दुई दिनसम्म ठूलो भोज भयो ।

देउता जन्मेको पच्चिस दिनपछि बद्रीलाई सञ्चो भएन । आफुलाई निक्कै गाह्रो भएको कुरा उसले आमालाई बतायो । त्यसपछि अम्बालाई पनि भन्यो । तर, अम्बा ऊदेखि सधैँ डराउँथी । भोज उतार्न सबै पेसा सकिएपछि आफ्नो उपचार गर्न बद्रीले अम्बासँग कानका मुन्द्रा माग्यो । अम्बाले तुरुन्त खोलेर बद्रीको हातमा राखिदिई । उसलाई छिमेकीले बोकेर सहर लगे ।

बुढीले छोराको पिर मानिरही तर अम्बाले लोग्नेको पिर गरिन । किनकि, ऊ लोग्नेसँग डराउँथी मात्र । असारको महिना, भोलिपल्ट बेलुकासम्म पानी परिरहृयो । बिहानै ढोकाअगाडि काग आएर करायो । बुढी शुभ बोल भनेर रुन थाली । बेलुका साँझको सिमसिमे झरीमा छिमेकीले बद्रीको शव आँगनमा राखे । छोराको शव देखेपछि बुढी बेहोस् भई । अम्बा हुरीले उडाएको कागजको टुक्राजस्तै भित्रबाट उछिट्टिएर लोग्नेको शवमाथि घोप्टो परेर मेरो कृष्ण, मेरो प्राण भन्दै रुन थाली ।

सिंगो गाउँलेको त्यहाँ रुवाबासी चल्यो । जिउँदो लोग्नेसँग सधैं डराउने त्यो बालिका मरेको बुढो लोग्नेलाई अँगालो हालेर सबैभन्दा धेरै चिच्याएर रोई । सबैले सम्झाउँदा पनि नसम्हालिने भएर रोई । सायद बल्ल उसले आफ्नो लोग्नेको माया र अभाव महसुस गरी र आफ्नो सारा जिन्दगीमाथि प्रलयको बज्रपातले केटाकेटी झैँ रोइरही ।

बेलुका छिमेकीबाट अम्बाको निम्ति पोसिलो खाना आयो । त्यस साँझ केटालाई दूध चुसाउँदै गर्दा ऊ भुसुक्क निदाई । त्यो खाना कुकुरले खायो । केही समयपछि कुकुर मुखभरि सेतो फिँज निकालेर मर्‍यो । भोलिपल्टदेखि सासु र छिमेकीसँग अम्बा डरले थरथर काप्न थाली ।

भोलिपल्ट बद्रीको अन्त्येष्टि गरियो । अम्बाले विधिपूर्वक लोग्नेको काम सकी । अब गाउँमा देउता अलच्छिना हो भन्ने हल्ला चल्यो । बुढीले छिमेकीका कुरा सुनेर अम्बा र उसको छोरालाई घरभित्र नराख्ने भई । अम्बा र उसको छोरालाई घरबाहिर राख्ने व्यवस्था गरियो । ऊ रोएर दिन बिताउँथी । राती सपनामा बारम्बार मरेका बाबुआमा र लोग्ने आएर भन्थे-‘तिमीलाई यहाँ पिर व्यथा र दुःख भयो । हिँड हामीसँगै जाऊँ’ तर ऊ भुस्याहा कुकुरको भुकाइले छिनछिनमा निन्द्राबाट ब्युँझिरहन्थी ।

एकदिन बुढीले नातिलाई नुहाउनेभन्दै उम्लिन लागेको पानीमा डुबाई । केटो मुर्छा पर्‍यो । अम्बाको मुटु चुडियो । उसले छोरालाई तानेर चिच्याउँदै छातीमा टाँसी । अम्बाले रुँदै भनी-मेरो छोरा अलाच्छिना होइन ।

बेलुका छिमेकीबाट अम्बाको निम्ति पोसिलो खाना आयो । त्यस साँझ केटालाई दूध चुसाउँदै गर्दा ऊ भुसुक्क निदाई । त्यो खाना कुकुरले खायो । केही समयपछि कुकुर मुखभरि सेतो फिँज निकालेर मर्‍यो । भोलिपल्टदेखि सासु र छिमेकीसँग अम्बा डरले थरथर काप्न थाली ।

कोही भन्थे, यो अलाच्छिना केटालाई मारिदिनुपर्छ । कोही भन्थे अम्बाका आमाछोरालाई गाउँबाट निकाल्नुपर्छ । तर, समाजका यी विषमय वचनको प्रतिवादमा अम्बा बारम्बार रँदै भन्थी जे गर्नु छ मलाई गर्नुस्, बिन्ती छ तर मेरा छोरालाई केही नगर्नुस्, केही नभन्नुस् । मेरो छोरो अलाच्छिना होइन ।

यसै पनि लोग्ने मरेको घरमा बस्दा आइमाईलाई विरक्त र उदासबाहेक केही हुँदैन । अम्बा अब त्यो घरमा बस्न नसक्ने भई । छोराको मायाले भोलि सबेरै उसले गाउँ छोड्ने निधो गरी ।

मध्यरातिसम्म अम्बा निदाइन । सुख र दुःख, हाँसो र आँसु, भाग्य र भविष्यबारे उसको मनमा लाखौं कुराहरू खेलिरहे । मरेर गएका बाबुआमा र लोग्ने सम्झनामा रातभरि आए । आँसुले सिरानी भिजाइसक्दा ऊ एक निन्द्रा सुतेर ब्युँझिई । उसको धोतीको आधा भाग शीतले भिजेको थियो । आकाशतिर हेरी । हेमन्त ऋतु सुरु भइसकेकाले पश्चिमको आकाशबाट उज्याला चन्द्रमाले धरतीलाई ढकमक्क पारेका थिए । ताराहरू रूख र पहाडमाथि आकाशभरि चम्किरहेका थिए । वल्लोगाउँ, पल्लोगाउँमा भाले बास्न थाले । उसले निदाएको छोरालाई पिठ्युँमा राखेर पटुकीले बलियोसँग कसी । बच्चाका थाङ्ना र आफ्ना एक सरो कपडाको पोकोलाई हातमा झुण्ड्याई । चन्द्रमाको छायाँमा एकछिन आँगनमा ठिङ्ग उभिई र आकाशतिर हेरेर लामो स्वास फेरी । अनि भालेको तेस्रो प्रहरमा अम्बा गाउँबाट सधैंका लागि अलप भई । समाप्त ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?