वर्तमान राजनीतिक अवस्थाबाट लाभान्वित हुने पक्ष

Read Time = 14 mins

देश अहिले राजनीतिक र आर्थिक दुवै दृष्टिकोणले गम्भीर संकटबाट गुज्रिराखेको छ । त्यसका अतिरिक्त राज्यसत्ताको चरम दुरुपयोग गर्दै भ्रष्टाचारका अनेक रूपहरू पनि देखिँदै छ देखिँदै आएका छन् । पक्कै पनि नेपालीहरूले देखेको सपना त्यो थिएन । पञ्चायती तानाशाहदेखि २४० वर्षभन्दा लामो पारिवारिक बिरासतको अन्त्यका लागि नेपाली नागरिकले गरेको योगदान, सहयोग र साथ अनि अहिले देखिइरहेको र भोगिइरहेको विकृति र विसंगतिको निम्ति थिएन, थियो त सुशासन र जनउत्तरदायी शासन प्रणाली तर विभिन्न कालखण्डमा जनताका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका मूलधारका पार्टीहरू र तीनका नेताहरू यति साह्रो गतिछाडा होलान् भन्ने सायदै सोचेका थिएन होला नेपालीहरूले ।

आज परिस्थिति ठीक उल्टो हुँदै गयो । भ्रष्टाचारले यसरी सीमा नाग्यो कि पूरै देश भ्रष्टाचारको दुर्गन्धले नाकै थुनेर हिँड्नुपर्ने बाध्यतामात्रै गराएन कि विगतमा भएका सकारात्मक उपलब्धिसमेतको अबमूल्यन गर्न थालियो । मानौं पहिलो जनआन्दोलनपछि देश लुट्नेबाहेक केही काम भएन कि भने झैँ गरी यस्तो भ्रम नेपालीहरूको मनमा मेट्नै नसकिने गरी छाप परिसकेको छ । जसले गर्दा आज जनआन्दोलनबाट हुत्याइएका शक्ति र संस्थाहरूले मुन्टो उठाएका छन् । तसर्थ अहिलेको राजनीतिक अवस्थाबाट लाभान्वित हुन विभिन्न र हालका मूलधार मानिएका राजनीतिक दलहरूलाई किनारमा पार्ने अवस्था प्रष्ट रूपमा देखिँदै गरेको छ । यो यथार्थलाई जुनसुकै शब्दजालले ओझेलमा पार्न खोजे पनि कुनै तागतले ढाक्न सक्छ भन्ने लाग्दैन ।

राजतन्त्र र गद्दिच्युत राजा ज्ञानेन्द्र आफू असल भएर होइन दलहरू असफल भएर राजतन्त्र पुनस्र्थापित हुने सम्भावना भने प्रबल छ । जे भए पनि यतिबेला देशको राजनीतिले नागरिकहरूमा उत्साह ल्याउन सकेको छैन । निरास नागरिक जताबाट ढाड्स पाउँछन् त्यतैतिर नलहसिएलान् भन्न सकिँदैन ।

अग्रगामी राजनीतिलाई पछाडि पार्दै पुनः विभिन्न समयमा भएका जनआन्दोलनले बढारेर फालेका कुडाकर्कट उच्च-मनोबलका साथ देश व्यापक रूपमा बाक्लो उपस्थिति देखाइरहेका छन् । यसको पछाडिको कारण खोज्न कहीँ जानुपर्दैन कथित प्रमुख भनिएका दलहरूले खोजेमा आफैंभित्र भेट्टाउने छन् । आज यो अवस्था आउनुमा नेपाली कांग्र्रेस नै मुख्य दोषी छ । त्यसमा पनि नामै लिनु पर्दा गिरिजाप्रसाद कोइराला यसका प्रमुख व्यक्ति हुन् । यो तथ्य कुनै आग्रह/पूर्वाग्रह नभई यथार्थ हो कुनै पनि नेपालीको नजरबाट छिपेको छैन । पार्टीभित्रको आन्तरिक विवाद र असहमतिलाई आफैंभित्र समाधानका विकल्प नखोजी एकाएक सुविधाजनक बहुमतको संसद भंग गरेर जनता र आफ्नो पार्टीका कार्यकर्तालाई समेत निरास र हतास बनाए ।

अझै त्यसभन्दा अगाडि बढेर भन्ने हो भने सन्त नेता किसुनजीलाई पहिलो आमनिर्वाचन २०४८ मा अन्तरघात अर्को कारण थियो । यिनै र यस्तै कुकृत्यले क्रमशः सबैमा सल्कँदै गयो र आजको यो अवस्था पनि त्यसैको परिणाम हो भन्दा कसैका प्रति अन्याय होला भन्ने लाग्दैन । अहिले यस्तो पनि लाग्न थाल्यो कि संसदीय व्यवस्था असफल हुनाका कारणमध्य एउटा कारण भनिन्थ्यो दलीय स्वार्थ । कता/कता पञ्चायतले लगाएको त्यो आरोप ठीक पो रहेछ कि भन्ने लाग्न थालिसकेको छ । वर्तमानका प्रमुख राजनीतिक दलहरूमा देखिएको परिदृष्यले त्यो माथिको तर्कलाई पुष्टि गरिरहेको भान हुन्छ ।

यहाँमाथि गरिएको संक्षिप्त घटनाक्रमको विश्लेषणको आधारमा अहिले आएर यो तरल राजनीतिबाट गुमेको राजसत्ता पुनः हत्याउन सकिन्छ कि भन्ने झिनो आशा बोकेर गद्दिच्युत राजा ज्ञानेन्द्र शाह देश/विदेश दौडाहामा छन् । हुन पनि वर्तमानका घिन लाग्दा भ्रष्टाचारका काण्डै काण्डले मानिसहरूको मन दलहरूप्रति आकर्षण होइन विकर्षण तीव्रगतिमा बढिराखेको अवस्था छ । राजतन्त्रको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिए पनि त्यो पार्टीबाट राजतन्त्र पुनस्र्थापित हुनसक्ने कुनै लक्षण देखा परेको थिएन र उक्त राप्रपाले आफ्नै पहलमा ज्ञानेन्द्र शाहलाई मैदानमा उतार्न सकिरहेको पनि थिएन ।

तर, एउटा मेडिकल व्यवसायी दुर्गा प्रसाईले सत्ताच्युत राजा ज्ञानेन्द्र शाहलाइ पूर्र्वबाट घाम उदाउँछ भने झैँ झुल्कने वातावरण बनाए । दुर्गा प्रसाईको त्यो कदम जसले ज्ञानेन्द्र शाहका निम्ति निकै उपलब्धिपूर्ण हुने अनुमान गरिँदैछ । आजकल राजतन्त्रको औचित्य बारे अनौपचारिक रूपमा बहस र छलफलहरू सार्थक हुँदै गएको अनुभूति गरिँदै छ । यद्यपि राजतन्त्र यत्ति प्रयत्नले मात्रै पुनस्र्थापना हुने सम्भावना देखिँदैन । राजतन्त्र पुनस्र्थापित गर्न यी कथित ठूला दलहरू कांग्रेस-कम्युनिष्टहरू अझै यसरी नै बेलगाम भ्रष्टाचारको दलदलमा फसून् ताकि जहाँबाट उनीहरू उठ्नै नसकून् ।

राजतन्त्र र गद्दिच्युत राजा ज्ञानेन्द्र आफू असल भएर होइन दलहरू असफल भएर राजतन्त्र पुनस्र्थापित हुने सम्भावना भने प्रबल छ । जे भए पनि यतिबेला देशको राजनीतिले नागरिकहरूमा उत्साह ल्याउन सकेको छैन । निराश र हतास नागरिक जताबाट ढाड्स पाउँछन् त्यतैतिर नलहसिएलान् भन्न सकिँदैन । धेरै नेपालीहरू पुराना दलहरू विशेष गरेरकांग्रेस-कम्युनिष्टबाट क्रमशः टाढिँदै गएका छन् । यसरी टाढिएका मनहरू कसले क्यास गर्न सक्छ त्यसैले देशको बागडोर सम्हाल्ने अवसर पाउने निश्चित छ ।

या त यिनै मौजुदा दलहरू अझै आफैंभित्रको भ्रष्टाचार र कुशासन रूपी भाइरसलाई मेजर अपरेसन गर्न सकेको अवस्थामा मात्रै उनीहरूको उपस्थिति अझै रहन सक्छ अन्यथा नयाँ विकल्प खडा हुने कुरा अवश्यमभावी छ । यसर्थ दलहरूको अकर्मण्यता, असक्षमता र भ्रष्टाचारका कारण कुन राजनीतिक शक्ति वा संस्था राजनीतिक रूपले लाभान्वित हुने हुन् यहाँ त्यसैका बारेमा सूक्ष्म चर्चा गरिएको हो ।

अहिलेको विकसित ताजा राजनीतिक घटनाक्रमले मूलधारका राजनीतिक शक्ति कांग्र्रेस, एमाले र माओवादीहरू पाखा पर्ने निश्चित जस्तै देखिएको छ । उनीहरूले आमनेपाली नागरिकको विश्वास गुमाइसकेको स्थितिबाट अब कसले राजनीतिक लाभ लिने हुन् यसै भन्न नसकिए पनि अनुमान गर्न सकिने यथेष्ट आधार देखिएका छन् । गत २०७९ साल मंसिर ४ गते सम्पन्न आमनिर्वाचन र उपनिर्वाचनबाट पनि अप्रत्याशित रूपमा उदाएको पार्टी रास्वपाले वर्तमान राजनीतिक घटनाक्रमबाट राजनीतिक लाभ उठाउन सक्ने अनुमान गर्नेहरू पनि धेरै छन् । अर्को गद्दिच्युत राजा ज्ञानेन्दको पुनः गद्दी आरोहण हुनसक्ने लख काट्नेहरू पनि कम छैनन् । तेस्रो राप्रपा पनि यो दौडमा त्यत्तिकै लागिरहेकोे छ ।

कम्युनिष्टहरू भारतमा जस्तै लोप हुने हुन् कि भन्ने देखिन्छ । देशको सबैभन्दा जेठो राजनीतिक दल नेपाली कांग्रेसमा उत्पन्न किचलो र बालकृष्ण खाँण जस्तो शेरबहादुर देउवाको दाहिने हात भ्रष्टाचारमा परेपछि त्यसको लाभ लिन डा.शेखर कोइराला र गगन समूह पनि त्यत्तिकै आतुर देखिन्छ ।

कम्युनिष्टहरू त यो अवस्थालाई हेर्दा भारतमा जस्तै लोप हुने हुन् कि भन्ने देखिन्छ । उता देशको सबैभन्दा जेठो राजनीतिक दल नेपाली कांग्रेसमा उत्पन्न किचलो र बालकृष्ण खाँण जस्तो शेरबहादुर देउवाका दाहिने हात भनेर परिचित नेता भ्रष्टाचार केसमा परेपछि त्यसको लाभ लिन डा.शेखर कोइराला र गगन समूह त्यत्तिकै आतुर देखिन्छन् लाभान्वित हुन अहिले फलाम तातेको छ, बेला यही हो राजनीतिलाई आफ्नो अनुकूल बनाउन भन्ने विश्लेषण गर्दै राजनीतिमा धेरै पार्टी संगठनहरूले सक्रियता बढाएका छन् । यो दौडमा कसले बाजी मार्ने हो या पुरानै पार्टीहरू आफ्नो वर्चश्व धान्ने हुन् यसै भन्न नसकिए पनि नयाँहरूको भविष्य उज्यालो देख्नेहरू धेरै छन् ।

यसरी हेर्दा र विश्लेषण गर्दा जनमत कि त राजतन्त्रको पुनस्र्थापनाको पक्षमा छ कि रास्वपा भन्नेहरू पनि कमी छन् । साथ साथै राप्रपा पनि आफ्नो संगठन सुदृढ गर्दै ज्ञानेन्द्र शाहको आडमा पहिलो पार्टी बन्ने इराधा राखेको पाइन्छ । तर, उनीहरू आफैंमा त्यति सक्षम देखिँदैनन् । तुलनात्मक रूपले विश्लेषण गर्दा राप्रपाभन्दा रास्वपाले बढी नै राजनीतिक लाभ लिनसक्ने देखिन्छ । यद्यपि त्यो पार्टीमा सभापति रवि लामिछाने पटक–पटक विवादमा तानिइरहँदा धक्का लाग्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । उनीको विकल्प त्यहाँ नदेखिँदा त्यो पार्टी रास्वपा पनि भन्ने गरिए झैँ साउने भेल पो सावित हुने हो कि भन्नेहरूको कमी छैन ।

साथै राजनीतिमा कुन विचार र सिद्धान्तले निर्देशित गरेको हुन्छ त्यस कुराको स्पष्टता चाहिन्छ तर त्यहाँ त्यो छैन भन्ने कुरा पनि सर्वत्रै चर्चा छ । त्यसैले त्यस्ता विषयमा पनि रास्वपा गम्भीर हुनुपर्ने देखिन्छ ता कि अहिलेको राजनीतिक परिस्थितिमा भरपूर लाभान्वित हुन सकियोस् । आजसम्मको अवस्थालाई विश्लेषण गर्दा अरूको असफलतामा तत्काल असन्तुष्ट भिडबाट राजनीतिक लाभ लिएका राप्रपा र रास्वपा अब स्पष्ट वैचारिक र सैद्धान्तिक पक्षलाई प्रष्ट गर्दै जानुपर्ने देखिन्छ ।

यता संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्र्रेसभित्रको संस्थापन इतर पक्ष डा.शेखर र गगन समूह पनि यो समय अनुकुल ठहर गर्दै पार्टीमा आफ्नो वर्चस्व कायम गर्न लागिपरेको अवस्था छ । त्यहीँ भएर अहिले पार्टीमा रूपान्तरणको अभियान चलाइरहेका छन्, जुन स्वभाबिक पनि हो । यसरी हेर्दा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबाट माथि उल्लेखितमध्ये कुन चाहिँ शक्ति भविष्यमा राज्यको मूलधार भएर निस्कने हो ट्याक्कै भन्न नसकिए पनि पक्कै यथास्थितिबाट केही परिवर्तन हुनसक्ने सम्भावनालाई नकार्न सकिने अवस्था छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?